नौ महिनामा २१ वाणिज्य बैंकले कमाए ४८ अर्ब बढी नाफा, कसको कति ?

0
Shares

चालु आर्थिक वर्षको नौ महिनाको अवधि अर्थात चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत आवको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ११.६७ प्रतिशतले बढेको हो। गत आवको यसै अवधिमा बैंकहरुले ४३ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेका थिए । अधिकांस बैंकहरुको खराब कर्जा बढ्दा नाफाको बढोत्तरी सुस्त भएको हो ।

वाणिज्य बैंकहरुको खराब कर्जा औषतमा ३ प्रतिशत हाराहारी पुगेको छ । खराब कर्जा बढ्दा बैंकहरुले झण्डै ३१ अर्ब रुपैयाँ नोक्सानी व्यवस्थापनमा छुट्याएका छन् । कर्जा असुलीमा समस्या हुँदा कर्जा नोक्सानी व्यवस्थापनको रकम बढ्दै गएको छ । जसले गर्दा बैंकहरुको नाफा बढोत्तरीमा कमी आएको हो ।

नौ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । जसको खुद नाफा ५ अर्ब ११ करोड रुपैयाँ छ । बैंकको नाफा ५२.६३ प्रतिशत बढेको हो । नबिलमा नेपाल बंगलादेश बैंक गाभिएको छ ।

ग्लोबल आइएमई उच्च नाफा कमाउनेमा दोस्रो बनेको छ । बैंकको नाफा ४ अर्ब ३५ करोड छ । तेस्रो भएको एनआइसी एशीया बैंकले ४ अर्ब एक करोड रुपैयाँ खुद नाफा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब बढी नाफा कमाएका छन । राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ५७ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ४ करोड ख्द नाफा गरेको छ ।

यस्तै एनएमबि बैंकले २ अर्ब ६८ करोड, स्टयाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड, प्राइम बैंकले २ अर्ब ४६ करोड तथा एभरेष्ट बैंकले २ अर्ब ४६ करोड खुद नाफा कमाएका छन ।

यसैगरी नौ महिनाको अवधिमा प्रभु बैंकले १ अर्ब ९५ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड, नेपाल बैंकले १ अर्ब ७८ करोड, हिमालयन बैंकले १ अर्ब ७३ करोड, सानिमा बैंकले १ अर्ब ७१ करोड, सिद्धार्थले १ अर्ब ४९ करोड, माछापुच्छ्रेले १ अर्ब ३५ करोड, कुमारीले १ अर्ब ३० करोड, लक्ष्मीले बैंकले १ अर्ब २६ करोड, सिटिजन्स बैंकले १ अर्ब २३ करोड, सनराइजले १ अर्ब १७ करोड र कृषि विकास बैंकले १ अर्ब ४ करोड खुद नाफामा गरेका हुन ।

नौ महिनाको अवधिमा  सबैभन्दा धेरै एभरेष्ट बैंकको नाफा ६२.६३ प्रतिशते बढेको छ । स्टयाण्डर्ड चार्टर्ड बैंकले ६०.२५ प्रतिशतले नाफा बढाउँदा नबिलको ५२.२३ प्रतिशतले नाफा बढेको हो । लक्ष्मी बैंक, नेपाल एसबिआई तथा राष्टिय वाणिज्य बैंकको नाफा पनि उच्चदरले बढेको छ ।

सबैभन्दा कम नाफा गर्ने कृषि विकास बैंकको नाफा ४५.३६ प्रतिशत घटेको छ। सिद्धार्थ बैंकको नाफा पनि २८.६५ प्रतिशत तथा सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले घटेको छ । नेपाल बैंक, प्राइम बैंक, माछापुच्छ्रे तथा सनराइज बैंकको नाफा घटेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।