चैतसम्म ७ वाणिज्य बैंकहरुको खुद नाफा घट्यो, नबिलले कमायो ५ अर्ब बढी

0
Shares

सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुमध्ये ७ बैंकको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको ९ महिना अर्थात चैतसम्मको अवधिमा कृषि विकास बैंक, सिद्धार्थ, सिटिजन, नेपाल बैंक, माछापुच्छ्रे, प्राइम कमर्सियल र सनराइज बैंक लिमिटेडको खुद नाफा घटेको हो ।

बिहीबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ बैंकको भने नाफा बढेको छ । समीक्षा अवधिमा नबिल बैंकले सर्वाधिक ५ अर्ब रुपैयाँभन्दा धेरै मुनाफा आर्जन गर्दा कृषि विकास बैंकले सबैभन्दा कम १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म ७ वाणिज्य बैंकहरुको नाफा घटेपनि १४ बैंकको मुनाफा बढेका कारण वाणिज्य बैंकहरुको खुद नाफा औसतमा भने ११.६७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा ४३ अर्ब ६१ करोड ३८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका बैंकहरुले चालु आवको सोही अवधिमा ५ अर्ब ९ करोड ११ लाख ४१ हजार रुपैयाँले वृद्धि गर्दै ४८ अर्ब ७० करोड ४९ लाख ७९ हजार खुद नाफा आर्जन गरेका हुन् । 

S.N. Bank Profit 2079 Chaitra Profit 2078 Chaitra Change%
1 NABIL           5,116,174.00           3,352,043.00 52.63
2 Global IME            4,358,264.00           3,726,212.00 16.96
3 NIC Asia           4,014,924.55           3,604,598.21 11.38
4 Rastriya Banijya          3,576,774.55           2,616,719.60 36.69
5 Nepal Investment Mega          3,046,123.00           2,477,261.00 22.96
6 NMB           2,682,532.00           2,665,291.00 0.65
7 Standard Chartered           2,610,087.00           1,628,774.00 60.25
8 Prime           2,467,556.93           2,722,020.20 -9.35
9 Everest            2,466,064.00           1,516,324.00 62.63
10 Prabhu          1,954,625.00           1,752,923.00 11.51
11 Kumari           1,820,295.53           1,802,771.57 0.97
12 Nepal SBI           1,803,285.80           1,300,022.45 38.71
13 Nepal Bank           1,782,329.99           2,192,931.82 -18.72
14 Himalayan           1,738,862.82           1,391,578.94 24.96
15 Sanima           1,711,613.82           1,592,623.66 7.47
16 Siddhartha           1,490,101.04           2,088,561.91 -28.65
17 Machhapuchhre          1,351,952.47           1,551,772.62 -12.88
18 Laxmi            1,265,345.00               858,967.00 47.31
19 Citizen           1,236,061.60           1,589,651.01 -22.24
20 Sunrise            1,170,968.48           1,277,397.82 -8.33
21 Agriculture Development           1,041,037.97           1,905,393.79 -45.36
Total   48,704,979.55    43,613,838.60 11.67

नाेटः खुद नाफा रकमलाइ हजार गणना गरी देखाइएकाे छ ।

नबिलले नौ महिनामै कमायो ५ अर्ब बढी नाफा, खराब कर्जा उच्चदरले बढ्यो

एनआईसी एसिया बैंकको ९ महिनाको नाफा ४ अर्ब बढी, जगेडामा १७ अर्ब

एभरेष्ट बैंकको नाफा २ अर्ब ४६ करोड, वितरण योग्य ३ अर्ब ३६ करोड

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा बढ्यो, वितरणयोग्य नाफा १ अर्ब २७ करोड ऋणात्मक

 

नबिल बैंकले कमायो सर्वाधिक नाफा, पाँच बैंकको तीन अर्ब माथि

प्रकाशित वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा नबिल बैंकले सबैभन्दा बढी ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ग्लोबल आईएमई बैंकले ४ अर्ब ३५ करोड, एनआईसी एशिया बैंकले ४ अर्ब १ करोड, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तीन अर्बभन्दा धेरै खुद नाफा कमाउने बैंकको संख्या पाँच रहेको छ ।

यस्तै चारवटा वाणिज्य बैंकहरु एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल र एभरेष्ट बैंकले २ अर्बभन्दा बढी ३ अर्बभन्दा कम नाफा आर्जन गरेका छन् । जस अन्तर्गत एनएमबि बैंकले २ अर्ब ६८ करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ६१ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ४६ करोड र एभरेष्ट बैंकले पनि २ अर्ब ४६ करोड धेरै नाफा कमाएका छन् । बाँकी बाह्र वाणिज्य बैंकको नाफा दुई अर्बभन्दा कम रहेको छ ।

चालु आवको चैतसम्म प्रभु बैंकले १ अर्ब ९५ करोड, कुमारी बैंकले १ अर्ब ८२ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड, नेपाल बैंक १ अर्ब ७८ करोड, हिमालयन बैंकले १ अर्ब ७३ करोड, सानिमा बैंकले १ अर्ब ७१ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४९ करोड,माछापुच्छ्रे बैंकले १ अर्ब ३५ करोड, लक्ष्मी बैंकले १ अर्ब २६ करोड, सिटिजन बैंकले १ अर्ब २३ करोड, सनराइज बैंकले १ अर्ब १७ करोड र कृषि विकास बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

एभरेष्ट बैंकले सबैभन्दा धेरै नाफा, ११ बैंकको दोहोरो प्रतिशतमा बढोत्तरी

हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकले खुद नाफा वृद्धि गरेको छ भने कुल एघार बैंकले दाेहाेराे अंककाे प्रतिशतमा खुद नाफा वृद्दि गरेका छन् । एभरेष्ट बैंकले गत आवको चैतको तुलनामा चालु आवको चैतमा ६२.६३ प्रतिशतले नाफा बढाएको छ । यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुद नाफा ६०.२५ प्रतिशत र नेपाल बंगलादेश बैंक गाभेको नबिल बैंकले ५२.६३ प्रतिशतले खुद नाफा बढोत्तरी गरेको छ ।

समीक्षा अवधिमा लक्ष्मी बैंकको खुद नाफा ४७.३१ प्रतिशत, नेपाल एसबिआई ३८.७१, राष्ट्रिय वाणिज्य बैंक ३६.६९, सिभिल बैंक  प्राप्ती गरेकाे हिमालयन बैंकले २४.९६, इन्भेष्टमेन्ट र मेगा एक भएकाे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २२.९६, ग्लोबल आईएमई बैंकले १६.९६, सेञ्चुरी प्राप्ती गरेकाे प्रभु बैंकले ११.५१ र एनआईसी एशिया बैंकको खुद नाफा ११.३८ प्रतिशतले बढेको छ । विसं २०७८ को तुलनामा २०७९ चैतमा सानिमा बैंकको खुद नाफा ७.४७ प्रतिशत, कुमारी बैंक ०.९७ र एनएमबि बैंकको ०.६५ प्रतिशतले बढेको छ ।

सात बैंकको नाफा घट्यो, कृषि विकास बैंकको सर्वाधिक गिरावट

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको ९ महिना अवधिमा सात वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ । जसमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा बढी ४५.३६ प्रतिशतले खुद नाफा घटेको छ । यस्तै सिद्धार्थ बैंकको २८.६५, सिटिजन बैंकको २२.२४, नेपाल बैंक १८.७२, माछापुच्छ्रे बैंकको १२.८८, प्राइम कमर्सियल बैंकको ९.३५ र सनराइज बैंकको सबैभन्दा कम ८.३३ प्रतिशतले खुद नाफा घटेको तथ्याङ्क छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।