सरकारले २० अर्बको विकास ऋणपत्र बेचेर आन्तरिक ऋण उठाउँदै

0
Shares

सरकारले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउँदै छ । नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेको हो। ।

विकास ऋणपत्र २०८४ ’ट’ नामक विकास ऋणपत्रको बोलकबोल वैशाख ७ र निष्कासन वैशाख ८ गते हुने राष्ट्र बैंकले जनाएको छ । यो विकास ऋणपत्र ४ वर्षे अवधिको हुनेछ । वैशाख ८ गते शुक्रबार निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८४ वैशाख ८ गते हुनेछ ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । पहिलो त्रैमासमा आन्तरिक ऋण नउठाएको सरकारले दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ तथा तेस्रो त्रैमासमा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले चौथो त्रैमासमा १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजनामा छ ।

निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा खासै चासो देखाएको देखिँदैन ।

इच्छुकले वैशाख ७ गते विहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् ।

यदि राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २.५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरी प्राप्त भौचर बुझाउनुपर्ने हुन्छ ।

प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको १७ अर्ब (८५ प्रतिशत) र ३ अर्ब (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: ७ वैशाख २०८०, बिहीबार  १३ : २७ बजे