जनतालाई गाभेको ग्लोबल आईएमई सबैभन्दा ठूलो वाणिज्य बैंक, पूर्वाधार विकास बैंकलाई चुनौति

0
Shares

ग्लोबल आईएमई र जनता बैंकलाई एक आपसमा मर्जरमा जान राष्ट्र बैंकले अन्तिम स्विकृती दिएपछि आगामी मंसिर २० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको बुधबारको सञ्चालक समितिको बैठकले मर्जरमा जान यी दुई बैंकलाई अन्तिम स्विकृती दिएको हो ।

यी दुई बैंकको मर्जरसँगै ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्तापूँजी भएको वाणिज्य बैंक बन्ने छ । मर्जरपछि बैंकको चुक्तापुँजी १९ अर्ब रूपैयाँ पुग्नेछ । विकास निमार्ण तथा पूर्वाधार आयोजनाहरुमा लगानी गर्नै उदेश्यका साथ स्थापना भएको सबैभन्दा पूर्वाधार विकास बैंकको चुक्ता पूँजी २० अर्ब रहेको छ । यस आधारमा ग्लोबल आईएमई दोस्रो ठूलो बैंक बन्ने भएको छ ।

हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ ।

ग्लोबल बैंकले गत आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट १२.७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । यो बोनसपछि बैंकको चुक्तापूँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ । यस्तै जनताबैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि बैंकको चुक्तापूँजी ८ अर्ब ४८ करोड ८ पुग्नेछ ।

मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।

मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ । यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्नेछन् ।

दुई बैंकबीच मर्जरका लागि असार २० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मंसिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेसँगै उनीहरु एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएका थिए ।