रिपब्लिक मिडिया सञ्चार माध्यमबाट आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी बन्दै

0
Shares

नेपाल रिपब्लिक मिडिया लिमिटेड सञ्चार माध्यमहरुको तर्फबाट सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो कम्पनी बन्ने भएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिपब्लिक मिडियालाई बैशाख ११ गते सर्वसाधारणमा सेयर जारी गर्न अनुमति दिएको हो । यससँगै यो कम्पनीले सञ्चार क्षेत्रको तर्फबाट पहिलो कम्पनीको रुपमा सेयर बिक्री गर्नेछ ।

सेबोनले रिपब्लिक मिडियालाई प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीमा संस्थापक सेयरको हिस्सा ५५.०१ प्रतिशत रहेको छ । संस्थापकहरुबाट ५३ करोड २२ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा सेयर जारी हुने सेयरको दश प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३०० कित्ता सेयर जारी गर्नेछ । सो आईपीओ बाँडफाँडपछि सर्वसाधारणमा प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३९ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको ३९ लाख १७ लाख ७०० कित्ता सेयर बिक्रीमा ल्याउनेछ ।

रिपब्लिक मिडियाले २०७९ कार्तिक २ गते पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग आईपीओ बेच्न अनुमति मागेको थियो । कम्पनीले अनुमति मागेको ६ महिनापछि बिक्रीका लागि अनुमति पाएको हो । रिपब्लिक मिडियाले सर्वसाधारणलाई सेयर जारी गर्न मेगा क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

सञ्चार जगतबाटै कान्तिपुर टेलिभिजनले पनि सर्वसाधारणमा आईपीओ जारी गर्दैछ । टिभीले भने प्रिमियम मूलयमा सेयर बिक्री गर्न लागेको हो ।

वार्षिक २० करोड ३० लाखको कारोबार

विनोदराज ज्ञवालीको स्वामित्व रहेको नेपाल रिपब्लिक मिडिया लिमिटेडले सन् २०२२ मा २० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा रिपब्लिको आम्दानीमा १८.०२ प्रतिशतको सुधार आएको हो । सन् २०२१ मा १७ करोड २० लाख र २०२० मा २९ करोड ३० लाख रुपैयाँ कारोबार÷व्यापार गरेको तथ्याङ्कमा छ ।

कोभिडको असरले कम्पनीको सन् २०२० को तुलनामा भने सन् २०२१ मा आम्दानी ४१.३० प्रतिशतले घटेको रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ । कम्पनीले सन् २०२१ मा कुल आम्दानीको ६.८५ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा बढेर १२.५९ प्रतिशत पुगेको थियो । सन् २०१९ को तुलनामा कम्पनीको सन् २०२० मा आम्दानी ४३ प्रतिशतले घटेको थियो । सन् २०२० को तुलनामा २०२१ मा ४० प्रतिशतले घटेको थियो ।

कुनै पनि कम्पनीले आईपीओ जारी गर्नु अगावै कम्पनीको वित्तीय विवरण अर्थात् रेटिङ अनिवार्य गर्नुपर्छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बी प्लस रेटिङ दिएको छ । सोहीअनुरुप रिपब्लिक मिडियाले रेटिङ गराएको हो ।

रेटिङ्ग एजेन्सीका अनुसार रुस र युक्रेनबीचको द्वन्द्वका कारण कागज आयातमा भएको समस्या र मूल्यवृद्धिका कारण कम्पनीको नाफा प्रभावित बनेको हो । विश्वमा सबैभन्दा बढी पेपर निर्यात गर्ने देश रुस हो । आम्दानीमा कमी आउनुको कारण भने कोरोना महामारी र महामारीका कारण कम्पनीको प्रमुख आम्दानीको स्रोत विज्ञापनमा आएको कमीलाई जनाइएको छ ।

यो कम्पनी अन्तर्गत नेपाली र अंग्रेजी पत्रिका बाहेक रेडियो नागरिक, नागरिक न्युज डटकम, रिपब्लिका डटकम, परिवार मासिक पत्रिका छन् । ज्ञवालीको स्वामित्व रहेको मिडियाको सन् २०२२ को जुलाइसम्ममा ५५ वटै जिल्लामा नेपाली र अङ्ग्रेजी भाषामा पत्रपत्रिका उपस्थिति रहेको छ । सन् २०२० को जुलाईसम्ममा मिडियाको ७५ वटै जिल्लामा उपस्थिति थियो । हाल भने कम्पनीको उपस्थिति घटेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।