सेयर बजारबाट १९ महिनामा १७ खर्ब ७१ अर्ब गुम्यो लगानीकर्ताको सम्पत्ति

0
Shares

सेयर बजारबाट लगानीकर्ताले १७ खर्ब ७१ अर्ब बराबरकोसम्पत्ति गुमाएका छन् । सेयर बजारमा सर्वाधिक बिन्दमु कायम गरेको मितिको तुलनामा आइतबार कायम कुल बजार पुँजीकरण हिसाब गर्दा यस्तो आंकडा निस्किएको हो ।

सेयर बजार २०७८ भदौ २ गते बुधबार हालसम्मकै उच्चतम बिन्दु अर्थात ३१९८.१९ बिन्दुमा थियो । उक्त दिन सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख रुपैयाँ थियो । विसं २०८० बैशाख २४ गते आइतबार आइपुग्दा यस्तो सम्पत्ति घटेर २६ खर्ब ९६ अर्ब ८० करोड ४५ लाख रुपैयाँ बराबर मात्र रहेको छ ।

नेप्से परिसूचक घट्दा बजार पुँजीकरण पनि स्वभाविक रुपमा घट्छ भने बढ्दा बजार पुँजीकरण पनि बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरण भनेको सेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।
नेप्सेमा सूचीकृत सेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पुँजीकरण मानिन्छ ।

बजार पुँजीकरण घट्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि घाटा भएको बुझिन्छ । बजार पुँजीकरण घट्नु भनेको सेयरधनीको सम्पत्ति घटेको हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ । नेप्से परिसूचक, बजार पूँजीकरण र कारोबार रकम सबैमा सुधार आउनु भनेको सेयर लगानीकर्ताका लागि सकारात्मक हो भने घट्नु नकारात्मक हो ।

सूचकको आधारमा पनि समीक्षा अवधिमा नेप्से १३४७.५८ अंकले घटिसकेको छ । आइतबार नेप्से १८५०.६१ बिन्दुमा कारोबार बन्द भएको छ । आज कायम भएको नेप्से २०७७ मंसिर ९ गते यताको मात्र माथि हो । उक्त दिन नेप्से १८१०.११ बिन्दुमा रहेको थियो । धितोपत्र बोर्डको हालका अध्यक्ष रमेश हमाल नियुक्तिपछि पनि नेप्से ८८१.९० अंकले घटेको देखिन्छ । सरकारले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको दिन २०७८ फागुन ५ गते नेप्से २७३२.५१ बिन्दुमा रहेको थियो ।

सेयर बजारको अंक मात्रै होइन, कारोबार रकम पनि निकै खुम्चिएको छ । इतिहासमा नै एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार २०७८ साउन ३१ गते आइतबार सम्भव भएकोमा अहिले दैनिक कारोबार रकम ६० करोडमा खुम्चिएको छ । आइतबार ६० करोड ८१ लाख ३५ हजार रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

नेपालको सेयर बजारको इतिहासमा नेप्से उच्चतम बिन्दुबाट ४२.१४ प्रतिशतले घटेको देखिन्छ । मुख्य रुपमा सेयर बजारप्रति नेपाल राष्ट्र बैंकले लिएको एकल कर्जा (४।१२) को सीमा, विभिन्न रेसियो तथा उपकरणमार्फत लगानीयोग्य रकम साँघुरो भएको, वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, बढ्दो ब्याजदर आदीका कारण प्रभावित हुँदै आएको हो । यस्तै नेपालमा देखिने गरेको अस्थिर राजनैतिक अवस्था र छिटोछिटो सरकार परिवर्तन भैरहँदा देशको अर्थतन्त्रको ऐनाको रुपमा लिइने गरेको पुँजी बजार दिनप्रतिदिन घट्दै गइरहेको छ । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकमको चरम अभाव, उच्च ब्याजदर र राष्ट्र बैंकको नीति आएपछि लगानीकर्ताले सेयर धितोको कर्जा ४–१२ करोडको सीमाभित्र झार्नुपर्ने बाध्यताका कारण बजार घटेको लगानीकर्ताहरु बताउँछन्  ।

सेयर बजार बियरिस ट्रेन्ड उन्मुख भएको यो पहिलो पटक होइन, नेपालको सेयर बजारले धेरै पटक बुल र बियरिसको यात्रा तय गरिसकेको छ । हरेक पटकको बुलपछि बजारले बियरिस यात्रा तय गरेको देखिन्छ । हालको रेकर्ड अनुसार नेप्से ७५.१६ प्रतिशतसम्म घटेको देखिन्छ । यसअघि २०६५ भदौ १५ गते नेप्से तत्कालीन समयको उच्चतम बिन्दु ११७५.३८ अंकको रेकर्डमा थियो । २०६० सालबाट बुलिस यात्रा तय गरेको नेप्से सूचकले पाँच वर्षमा रेकर्ड कायम गरेको थियो । तर त्यसको तीन वर्ष नपुग्दै अर्थात २०६८ असार १ गते नेप्से सूचक ८८३.३८ अंकले घटेर २९२ अंकमा ओर्लिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।