अर्थतन्त्रलाई लयमा फर्काउन सरकारी वित्तको पुनरसंरचना जरुरी: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशसरण महतले शिथिल अर्थतन्त्रलाई लयमा फर्काउन सरकारी वित्तको पुनरसंरचना गर्न जरुरी रहेको बताएका छन् । उनले बजेटका सिद्धान्त र प्राथमिकता तय गर्दै प्रभावकारी राजस्व परिचालन, परिणाममूखी पुँजीगत खर्च, अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्न जरुरी रहेको बताएका हुन ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले आर्थिक गतिविधिमा शिथिलता आएको मन्त्री महतले बताए । चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकोले आर्थिक वृद्धि न्यून हुने उनको भनाई छ ।

लक्ष्य अनुरुप राजस्व परिचालन हुन नसकेको, सार्वजनिक ऋणको दायित्व बढ्दै गएको, सरकारी खर्चको प्राथमिकीकरण हुन नसक्दा साधनस्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर मात्र खर्च गर्ने प्रवृत्ति कायमै रहेकाले सरकारी वित्तमा चाप परेको उनको भनाई छ । साधारण खर्च वृद्धि हुँदै गएको र आयोजना कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून हुनुका साथै खर्चको प्रभावकारिता बढ्न नसकेको उनको बुझाई छ ।

न्यूनकुल गार्हस्थ बचत, मुद्रास्फीति, उतारचढाबयुक्त पुँजी वजार, बढदो व्याजदर, कमजोर पुँजी निर्माण, निरन्तर उच्चव्यापार घाटा, वैङ्किङ क्षेत्रमा खराव कर्जाको जोखिम लगायतका चुनौतीहरू अर्थतन्त्रमा विद्यमान रहेको मन्त्री महतले बताए । पछिल्ला दिनमा विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटक आगमन, बैङ्किङ क्षेत्रको तरलता लगायत अर्थतन्त्रका केही सूचकहरू सुधार हुँदै गएको समेत उनले जानकारी दिए ।

आगामी बजेटले निजी क्षेत्रको मनोवल वृद्धि, उद्यमशीलताको विकास, सेवा प्रवाहमा सुधार एवम शासन व्यवस्थामा पारदर्शिता कायम गर्ने तर्फ जोड दिनु पर्ने उनको भनाइ छ । सरकारी, निजी र सहकारी क्षेत्रको लगानीको प्रभावकारिता वृद्धि गरी उत्पादनमुखी अर्थतन्त्रको आधार निर्माण गर्ने तर्फ बजेट केन्द्रित हुने उनले जानकारी दिए ।

संविधान प्रदत्त मौलिक हक र दिगो विकास लक्ष्य लगायतका अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरूप गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी उपलव्ध गराउने नीति आगामी आवका बजेटले लिने उनले बताए । विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायले प्राप्त गर्न सक्ने गरी सन्तुलित र न्यायोचित रूपमा स्रोत साधनको विनियोजन गरिने जानकारी उनले दिए ।

सन २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तर्फ बजेट निर्देशित हुने उनको भनाई छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन साधन श्रोतको निक्षेपणमा जोड दिइने बताउदै मन्त्री डा. महतले भने,“निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकको रूपमा विकास गरिनेछ । लगानीमैत्री वातावरण सिर्जना गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न निजी क्षेत्रको भूमिकालाई सवल बनाइनेछ ।”

नीतिगत स्थिरता, व्यवसाय मैत्री नीति र प्रक्रिया सरलीकरण गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने गरी आगामी बजेट आउने उनले बताए । वित्तीय क्षेत्रमा कार्यकुशलता अभिवृद्धि गरी पुँजीको सहज उपलब्धता एवम लागत कम गरिने गरीने समेत उनले बताए । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति लिइने तथा नागरिकलाई प्रदान गर्ने सेवाको पहुँच र गुणस्तर वृद्धि गरिने उनले बताए । सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वद्र्धन गरी समुचित उपयोग गरिने तथा सुशासनको प्रत्याभूतिका लागि स्वार्थको द्वन्द्व हुन नदिन आवश्यक कानूनी आधार तयार गरिने प्रतिवद्धता समेत उनले बताए ।

किसानको मानवोचित जीवनयापनका लागि आयआर्जनमा सहयोग पुग्ने गरी कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए । औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी उपभोग्य वस्तुमा वैदेशिक निर्भरता कम गर्दै लगिने उनको भनाई छ । उद्यमशीलता विकासका साथै स्टार्टअपलाई प्रोत्साहन गरी नयाँ उद्यमीलाई आकर्षित कार्यक्रमलाई प्राथमिकतामा राखिने मन्त्री महतले बताए ।

औद्योगिक तथा व्यापार पूर्वाधार विकासलाइ प्राथमिकतामा राखिने बतउादै उनले भने,“लघु, घरेलु तथा सानार मझौला उद्योग प्रवद्र्धन गर्न कार्यक्रम सञ्चालन गरिनेछ । उच्च शिक्षालाई उत्पादनमूलक र अनुसन्धानमूलक बनाइनेछ ।” नवप्रवर्तन, आविष्कार र अनुसन्धानमा लगानी बढाइने समेत उनले जानकारी दिए ।
ठूला र रणनीतिक महत्त्वका भौतिक पूर्वाधार आयोजनालाई उच्च प्राथमिकता दिने उनले बताए । काठमाडौ तराई मधेश द्रुत मार्ग, पूर्वपश्चिम जोड्ने लोकमार्ग र उत्तर दक्षिण जोड्ने कोरिडोर निर्माण कार्यलाई तीव्रता दिने समेत उनले बताए । सबै स्थानीय तहको केन्द्रलाई नजिकको सडक सञ्जालसँग जोडिने विषयलाइ पनि आगमी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने उनको भनाइ छ ।

आन्तरिक आवश्यकता पूर्ति गर्दै निर्यात आयको महत्त्वपूर्ण स्रोत हुनेगरी जलविद्युतको विकासलाई पनि बजेटले प्राथमिकता दिने उनको भनाइ छ । ऊर्जा क्षेत्रमा स्वदेशी र विदेशी लगानी विस्तार गरि विद्युतीय यातायातको प्रयोग र घरायसी विद्युत खपतलाई बढावा दिने उनको भनाई छ ।

सूचना प्रविधि क्षेत्रलाई उद्योगको रूपमा विकास गरिने बताउँदै मन्त्री महतले सूचना प्रविधिको व्यवसायीकरणका कार्यक्रम सञ्चालन गरी सेवा निर्यात बढाइने जानकारी गराए । मुलुकको आर्थिक रूपान्तरणमा डिजिटल प्रविधिको महत्त्व र युवा वर्गको आकर्षणलाई ध्यानमा राखी यसको उपयोग र विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने गरी आगामी आवको बजेट आउने मन्त्री महतले जानकारी दिए ।

पर्यटन व्यवसायलाई आय आर्जन, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण क्षेत्रको रुपमा विकास गरिने उनको तर्क छ । कोभिड-१९महामारीपछि पुनर्जागृत हुँदै गरेको पर्यटन क्षेत्रलाई थप गति दिन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिन तथा देशको आर्थिक विकासमा युवाको सहभागिता र उद्यमशीलता प्रवद्र्धन गरिने कार्यक्रमलाइ आगामी आवका बजेटले प्राथमिकतामा राख्ने मन्त्री महतले जानकारी दिए ।

बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिइने उनको भनाई छ । स्रोतको सीमिततालाई मध्यनजर गर्दै निश्चित आधार र मापदण्ड तयार गरी आर्थिक एवम सामाजिक लाभ उच्च भएका, बहुसंख्यक जनता लाभान्वित हुने, छिटो प्रतिफल दिन सक्ने र तयारी पुरा भएका आयोजना तथा कार्यक्रम छनौट गरिने उनले बताए ।

सरकारको खर्चको आवश्यकता पूरागर्न राजस्व परिचालनलाई प्रभावकारी बनाउन राजस्व नीतिमा समयानुकुल परिमार्जन गरिने जानकारी उनले दिए । राजस्व प्रशासनको दक्षता बढाई राजस्व उत्पादकत्व अभिवृद्धि गरिने समेत मन्त्री महतले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।