अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएपछि सेयर बजारमा गिरावट जारी, गभर्नरको अडानले लगानीकर्ता त्रसिद

0
Shares

देशको अर्थतन्त्र मन्दीउन्मुख भएपछि सेयर बजार वियरिस प्रवृत्तिमा रहेको छ । १९ महिनाअघि ३१९८ को उच्चतम बिन्दु चुमेको नेप्से ४३ प्रतिशतसम्म घटेर सोमबार १८३३.६९ बिन्दुमा झरेको छ । आज कारोबारमा आएकामध्ये ५७ कम्पनीको सेयरमूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सोमबार कायम नेप्से अघिल्लो बुल १८८१ को तुलनामा पनि ४८ अंक थोरै हो । सरकार राजश्व संकलनमा असफल भएर मुलुकको ढुकुटी २ खर्बभन्दा बढी ऋणात्मक भएपछि मुलुक आर्थिक मन्दीतर्फ उन्मुख भएको छ । चालु आवको करिब दश महिना बित्नलाग्दा पछिल्लो तीन वर्षयताकै कम राजश्व संकलन भएको छ । सरकारी हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार बैशाख २४ गतेसम्म कुल लक्ष्यको ५१.१५ प्रतिशत अर्थात ६ खर्ब ६२ अर्ब ५५ करोड रुपैयाँ कर राजश्व संकलन गरेको छ । समीक्षा अवधिमा १० खर्ब १५ अर्ब ७२ करोड रुपैयाँ खर्च गरेको छ ।

यस्तो अवस्थामा अर्थतन्त्रको ऐनको रुपमा चिनिने पुँजी बजारमा लगानीकर्ताको आकर्षण घट्दो छ । दैनिक साढे २१ अर्बभन्दा बढी सेयर कारोबार भएको बजारमा आधा अर्बभन्दा तल झर्दा बजारमा रौनकता हराएको छ भने सेयर बजारमा लगानी गरेका लगानीकर्ताहरुको सम्पत्ति ५० प्रतिशतभन्दा धेरै घटेपछि तनाव उत्पन्न भएको छ ।

सोमबार प्रतिनिधि सभामा बोल्दै पूर्व अर्थमन्त्री विष्णु पौडेलले गत आर्थिक वर्षका सुरुका २ त्रैमासको तुलनामा चालु आवको तिनै त्रैमासको कुल ग्राहस्थ उत्पादनको वृद्धि ऋणात्मक भएकाले अर्थतन्त्रमा मन्दी आएको बताएका हुन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षका पहिलो र दोस्रो त्रैमासको कुल ग्राहस्थ उत्पादमा गत आवको पहिलो र दोस्रो त्रैमासको तुलनामा ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कुल ग्राहस्थ उत्पादन ०.४ प्रतिशतले ऋणात्मक रहेको पौडेलले बताए । गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ०.७३ प्रतिशतले ऋणात्मक उनले बताए । चालु आवको हालसम्म संकलन भएको राजश्व गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले थोरै रहेको छ ।

अर्कोतर्फ बैंक तथा वित्तीय संस्था परिसंघले आइतबार आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने स्पष्ट पारेका थिए । उनले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा रहेको बताउादै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताए । उनले बारम्बार राष्ट्र बैंकको नीतिका विषयमा प्रश्नहरु आउने गरेपनि राष्ट्र बैंकले लिने नीतिका केही कारण र सिद्धान्त रहेका र धेरै गहन छलफलका आधारमा मात्र लिने गरिएको उनको भनाइ छ । मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीको हितमा आएका सुझाव अनुसार नै नीतिगत निर्णय गर्ने उनको भनाइ छ । राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुबैको हितमा आवश्यक नीतिगत निर्णय गरिरहेको अधिकारीले दाबी गरेका थिए ।

मौद्रिक नीतिका आफ्नै सीमा रहेकाले राष्ट्र बैंक त्यो सीमाभन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नभएको उनको भनाइ थियो । गभर्नर अधिकारीले सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने समेत उल्लेख गरे । गभर्नरको उक्त अभिव्यक्तिपछि राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षा मार्फत पुँजी बजारमा केही लचक नीति आउने आशा गरेका लगानीकर्ताहरु समेत निराश बनेका हुन् । यसको असर समेत सोमबारको बजारमा देखिएको छ ।

आइतबार १९ अंकले घटेको सेयर बजारमा सोमबार पनि निरन्तरता पाउँदै १६.९३ अंकले घटेको छ । बजारको गिरावट कायमै बस्दा सोमबार कारोबार रकम २१ करोड ६१ लाख रुपैयाँ बढेर कारोबार ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन २७० स्क्रिप्टका २८ लाख १० हजार ६२७ कित्ता सेयर २५ हजार ५८८ वटा संख्यामा खरिद बिक्री भएको हो । यसदिन कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । होटल तथा पर्यटनमुलक सर्वाधिक २.४४ प्रतिशतले घटेको बजारमा जलविद्युत १.८९, र्जीवन बीमा १.३१, निर्जीवन बीमा १.२५ र फाइनान्स १.१९ प्रतिशतले घटेको छ । बाँकी सबै आठवटै एक प्रतिशतभन्दा कम घटेका छन् ।

आज कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३ करोड ७८ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै हिमाल दोलखा हाइड्रोपावरको २ करोड २५ लाख ५२ हजार, हिमालयन डिष्टिलरीको २ करोड २० लाख ३३ हजार, तारागाउँ रिजेन्सी होटलको २ करोड १ लाख २६ हजार र एनआईसी एशिया बैंकको १ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको बजारबाट वीन लघुवित्तको सेयरधनीले सर्वाधिक कमाएका छन् । लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ८.०५ प्रतिशतले बढेर ७९२ रुपैयाँ पुगेको छ । यस्तै आत्मनिर्भर लघुवित्तको ६.०८ प्रतिशत, एनआईबिएल ग्रोथ फन्डको इकाईमूल्य ४.८९ प्रतिशत, नेपाल एसबिआई डिबेञ्चरको ४.०३ प्रतिशत र बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशतले सेयरमूलय बढेको छ ।

आजको बजारमा इष्टर्न हाइड्रोपावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ३४८ रुपैयाँ ७० पैसामा झरेको छ । आजको बजारबाट शिवश्री हाइड्रोपावरका सेयरधनीले ६.३७ प्रतिशत, बलेफी हाइड्रोपावरको ५.५९ प्रतिशत, मल्टिपपर्स फाइनान्सको ५.४३ प्रतिशत र किसान लघुवित्तको सेयरधनीहरुले ५.३६ प्रतिशतले गुमाएका छन् ।

आइतबारको बजारपछि कुल बजार पुँजीकरण २६ खर्ब ७४ अर्ब ७ करोड १८ लाख ७० हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।