बागमती आयल इन्डष्ट्रिजले गर्यो वार्षिक ३ अर्ब बढीको कारोबार

0
Shares

बागमती आयल इन्डष्ट्रिजले सन् २०२२ मा ३ अर्ब १० करोड १० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा २ अर्ब ५० करोड सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी ६० करोड १० लाखले बढेर ३ अर्ब १० करोड पुगेको हो । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी २४.०४ प्रतिशतले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै कम्पनीका अन्य वित्तीय सूचांक पनि बढेका छन् । सन् २०२२ मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, कर, ब्याज र भाडा सहितको आम्दानी कुल सञ्चालन आम्दानीको ८.६० प्रतिशत रहेको छ ।

सन् २००८ मा स्थापना भएको बागमती आयल इन्डष्ट्रिजले सोयाबीन तथा सनफलावरको खाद्य तेलको उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादन ‘सेल्लो’ ब्रान्डनामबाट बिक्री गरिरहेको छ । कम्पनीको रजिष्र्टड कार्यालय मोरङ जिल्लामा रहेको छ ।

नेपाली भान्सामा पाकने भोजनका लागि सनफलावर तथा सोयाबिनको तेल नभई नहुने तत्व हो । जसकारण नेपाली बजारमा तेलको माग बढ्दै गएको छ । बजारमा खाद्य तेल उत्पादन गर्ने कम्पनीहरुको सङ्ख्या बाक्लो रहेको छ । जसकारण बागमती आयल इन्डष्ट्रिजले आफ्नो उत्पादनको बजार बिस्तारमा चर्को प्रतिस्पर्धाको सामना गर्दै आएको छ ।

कम्पनीमा ३ जनाको लगानी रहेको छ । सकेत राठीको ६० प्रतिशत हिस्सा, अनिल कुमार अग्रवालको ३४ प्रतिशत र मनोज कुमार टपरियाको ६ प्रतिशत सेयर हिस्सा रहेको छ ।

कम्पनीले १ अर्ब ८० करोड ५० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ८ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले डबल बी प्लस दिएको छ भने १ अर्ब ७२ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

कम्पनीलाई एजेन्सीले यसअघि ९ कोड ९० लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र १ अर्ब ७२ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको थियो । पछिल्लो रेटिङको तुलनामा यो पटक गरिएको रेटिङमा गिरावट आएको हो ।

एजेन्सीका अनुसा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल सञ्चालन आम्दानीको ५.४ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।