धितोपत्र बजारमा २७१ अर्ब लगानी थपिँदा लगानीकर्ताको सम्पत्ति भने ६१३ अर्बले घट्यो

0
Shares

एक वर्षको अवधिमा धितोपत्र बजारमा २७१ अर्ब लगानी थपिदा लगानीकर्ताहरुले भने ६१३ अर्ब गुमाएका छन । २०७८ चैत देखि २०७९ चैत मसान्तसम्मको अवधिमा धितोपत्र बजारबाट सेयर लगानीकर्ताहरुले ६ खर्ब १३ अर्ब गुमाएका हुन । यसअवधिमा नेप्से सूचक झण्डै पाँच सय अंकले झरेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ चैत मसान्तमा २४१५.२५ रहेको नेप्से सूचकाङ्क २०७९ चैत मसान्तमा १९३४.४८ कायम भएको छ । यसअवधिमा नेप्से ४८१ अंकले झरेको छ । वैशाख २८ गतेसम्म आइपुग्दा नेप्से अझै घटेर १८४० को आसपासमा रहेको छ ।

यस्तै २०७९ चैत मसान्तमा धितोपत्र बजार पँुजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड कायम भएको छ । २०७८ चैत मसान्तमा बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रहेको थियो । यो एक वर्षको अवधिमा धितोपत्र बजारका लगानिकर्ताको सम्पत्ती ६ खर्ब १३ अर्बले घटेको छ ।

चालु आर्थिक वर्षको नौ महिना अर्थात चैतमसान्तसम्ममा नेपाल स्टक एक्सचेन्जमा कुल २ खर्ब ७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को नौ महिनामा १६५ अर्ब ५६ करोड बराबरको साधारण सेयर, ४ अर्ब ११ करोड बराबरको हकप्रद तथा ३१ अर्ब ८४ करोड बराबरको बोनस सेयर सूचीकृत भएको हो।

यस्तै यहि अवधिमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड गरी कुल २७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब २० करोड बराबरको डिबेन्चर, १२ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, ६ अर्ब ५ करोड बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर गरी कुल ३० अर्ब ३५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ।
२०७९ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४१ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ६९ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ चैत मसान्तमा सूचीकृत ७ अर्ब १९ करोड सेयरको चुक्ता मूल्य ७०९ अर्ब २७ करोड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।