उमेशलाल श्रेष्ठको क्वेष्ट फार्मास्युटिकल्सको सञ्चालन आम्दानी २ अर्ब माथि


व्यवसायी उमेशलाल श्रेष्ठको लगानी रहेको क्वेष्ट फार्मास्युटिकल्सले सन् २०२२ मा २ अर्ब ३२ करोड २५ लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा १ अर्ब ९५ करोड ४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी २०२२ मा १९.५९ प्रतिशतले बढेर २ अर्ब ३२ करोड पुगेको हो ।

सन् १९९९ मा स्थापना भएको क्वेष्ट फार्मास्युटिकल्सले रिभर्स इन्जिनियरिङ प्रविधिको प्रयोग गरी औषधीको उत्पादन गर्दै आएको छ । कम्पनीले जेनरल मेडिसीनका साथै कार्डियो भास्कुलर, डायबेटिक, डर्माटोलोजिकल, हाइपोलिपिडेमिक लगायतका रोगहरुको निवारणमा प्रयोग हुने औषधीहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले २५ अलग शीर्षकमा १०० भन्दा धेरै औषधीको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा १५ जनाको सेयर लगानी छ । व्यवसायी उमेशलाल श्रेष्ठ, पृथ्वी राजभण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद वर्माको एकीकृत रुपमा ४५ प्रतिशत सेयर हिस्सा रहेको कम्पनीमा ४५ प्रतिशत हिस्सा अन्य व्यक्तिहरुको छ ।

कम्पनीको वार्षिक चक्रीय आर्थिक वृद्धि दर १६ प्रतिशत रहेको छ । कम्पनीको वित्तीय विवरणमा उल्लेख भए अनुसार कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भए पनि अन्य सूचांकमा सकरात्मक परिवर्तन आएको छैन ।

सन् २०२२ मा आर्जन भएको कुल सञ्चालन आम्दानीको ६५ प्रतिशत हिस्सा कच्चा पदार्थ आयातमा खर्च भएको छ । जसका कारण सञ्चालन आम्दानी बढे पनि कम्पनीको नाफा र लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा ह्रास आएको छ ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा समायोजन पछि कम्पनीको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको २६.३ प्रतिशत थियो भने सन् २०२२ मा कुल सञ्चालन आम्दानीको २२.३ प्रतिशत मात्र नाफा गरेको छ ।

कम्पनीले ९ अर्ब ३१ करोड ७० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ३ अर्ब ९१ करोड ७० लाख बराबरको दीर्घकालीन कर्जाका लागि ए रेटिङ दिएको छ भने ५ अर्ब ४० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए १ रेटिङ दिएको छ ।

कम्पनीको आम्दानीमा वृद्धि भए पनि अन्य वित्तीय सूचांकमा वृद्धि नदेखिँदा रेटिङ एजेन्सी इक्राले कर्जा रेटिङ दिँदै ‘वाच वीथ नेगेटिभ इम्प्लीकेसन मा राखेको छ ।

सन् २०२२ मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ७.४ गुणा रहेको छ ।

हाल नेपालमा ५० भन्दा धेरै औषधी उत्पादक कम्पनीहरु सञ्चालनमा छन् । औषधी उत्पादक कम्पनीहरुबीच बढ्दै गएको प्रतिष्पर्धाका कारण पनि कम्पनीले नाफा कमाउन कसरत गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।