मूल्यवृद्धि घट्दै गए पनि विश्व अर्थतन्त्रले सामना गर्नु परेको दबाबका कारण नेपाल प्रभावित

0
Shares

नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षामा नेपालको अर्थतन्त्र शिथिल रहने जनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा मुद्रास्फीति नियन्त्रण गर्न अवलम्बन गरिएको कसिलो नीतिगत कार्यदिशाका कारण मुद्रास्फीति सम्बन्धी अपेक्षामा अंकुश लागेको राष्ट्र भएको भनाई छ ।

तथापि, मुद्रास्फीति विश्व स्तरमा अझै उच्च रहेको छ । मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले अवलम्बन गरेको मौद्रिक नीतिको कसिलो कार्यदिशालाई अझै निरन्तरता दिएका छन् । कसिलो मौद्रिक नीति र रुस– युक्रेनबीच जारी युद्ध लगायतका कारण विश्व अर्थतन्त्रको वृद्धिदरमा कमी आउने अनुमान गरेको छ ।

शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वव्यापी रुपमा मूल्यवृद्धि घट्दै गएता पनि विकसित मुलुकको वित्तीय क्षेत्रले सामना गर्नु परेको दबाबका कारण नेपालको अर्थतन्त्र प्रभावित रहने उल्लेख छ ।

विकसीत देशका केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्नका लागि अपनाएको संकुचित मौद्रिक नीति, आक्रामक शैलीमा बढाउँदै आएको ब्याजदर र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र शिथिल अवस्थामा रहेको उल्लेख गरेको छ ।

सन् २०२२ मा ८.७ प्रतिशत रहेको विश्व मुद्रास्फीति दर सन् २०२३ मा ७ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेको छ । सन् २०२४ मा विश्व मुद्रास्फीति दर ७ प्रतिशतबाट नियन्त्रण भई ४.९ प्रतिशतमा झर्नेे प्रक्षेपण गरेको छ ।

सन् २०२२ मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ७.३ प्रतिशत र ९.८ प्रतिशत रहेकोमा सन् २०२३ मा क्रमशः ४.७ प्रतिशत र ८.६ प्रतिशत तथा सन् २०२४ मा क्रमशः २.६ प्रतिशत र ६.५ प्रतिशत हुने राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा प्रकाशित छ ।

अमेरिकी केन्द्रीय बैंक– फेडरल रिजर्भ (फेड)ले सन् २०२२ मार्चदेखि सन् २०२३ मे महिना सम्ममा शून्य प्रतिशतबाट ब्याजदर वृद्धि गरी ५.२५ प्रतिशत पु¥याएको छ । फेडले ब्याजदर बढाएका कारण अमेरिकामा कर्जा लिएर लगानी गर्ने व्यवसायीहरुको सङ्ख्या क्रमिक रुपमा घट्दै गएको छ । अमेरिका लगायत युरोपियन केन्द्रीय बैंक, बेलायती केन्द्रीय बैंकले समेत आक्रामक शैलीमा ब्याजदर बढाएका छन् ।

भारतीय केन्द्रीय बैंक (आरबीआई)ले फेब्रुअरी महिनामा ०.२५ प्रतिशतले ब्याजदर बढाएर ६.५ प्रतिशत पु¥याएको छ । अधिकांश देशहरुले ब्याजदर बढाउँदा व्यवसायीहरु मर्कामा परेका छन् । जसकारण नेपालमा प्रत्यक्ष वैदेशिक लगानी घट्दै गएको छ भने दात्री निकायहरुबाट प्राप्त हुने सहयोगमा समेत कमी आएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ ।

यस्तै अन्तराष्ट्रिय बजारमा मुद्रास्फीति दर बढ्दै जाँदा आयात निर्भर रहेको नेपालले आयातीत सामाग्री गतवर्षको तुलनामा बढी शुल्कमा खरिद गर्दै आएको छ । फेडले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण नेपाली मुद्राको क्रयशक्ति घट्दै गइरहेको छ ।

यस्तो अवस्थामा सन् २०२२ मा ५.२६ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको नेपालको आर्थिक वृद्धि दर सन् २०२३ मा खुम्चिएर २.१६ प्रतिशत रहने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा ३.४ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२३ मा उक्त वृद्धि दर खुम्चिएर २.८ प्रतिशत हुने प्रक्षेपण गर्दै आएको छ । आइएमएफको उक्त प्रक्षेपण कायम रहने राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा छ ।

त्यसैगरी, विकसित मुलुकहरुको आर्थिक वृद्धि दर सन् २०२२ मा २.७ प्रतिशत रहेको थियो । सन् २०२३ मा उक्त मुलुकहरुको आर्थिक वृद्धि दर १.३ प्रतिशत र सन् २०२४ मा १.४ प्रतिशत रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उदीयमान तथा विकासोन्मुख मुलुकहरुको अर्थतन्त्र सन् २०२२ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा ३.९ प्रतिशत र सन् २०२४ मा ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।