नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको फाइनान्सियल सिस्टम तुलनात्मक रुपमा अन्य देशहरुभन्दा सबल र सुरक्षित रहेको बताएका छन् ।
मंगलबार काठमाण्डौंमा आयोजना गरिएको बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श–२०२३’ लाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंकले लागू गरेको नयाँ नीति र संशोधनहरुले यसलाई थप मजबुत गर्दै गएको बताएका हुन् । उनले भने, “हाम्रो समग्र बैंकिङ्ग कम्युनिटी परम्परागत छ । कुनै संस्था ढलिहाल्ने, डुबिहाल्ने स्थितिमा पक्कै पनि जान दिँदैनौं भन्ने पूर्ण विश्वसनियताका साथ हामी काम गरिरहेका छौं ।”
समग्र वित्तीय क्षेत्र र यसको सबलतामा नेपालको निकै सफल भएको सुनाउँदै कयौं अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको अवस्था र डेटा प्रस्तुत गर्दा अन्य देशहरुले नेपालले त यस्तो गरेछ भने डाहा गर्ने अवस्था रहेको समेत उनले जीकर गरे । यसबीचमा नेपाल राष्ट्र बैंकले बैंकिङ्ग सिस्टमलाई ठाउँमा राख्नका लागि गरिएको काम महत्वपूर्ण रहेको उनको भनाई छ । वर्षौदेखि नेपाललाई लाग्दै आएको ‘कर्जाको एभरग्रनिङ्ग’ लाई यो वर्षदेखि पूर्णतः सम्बोधन गरेको उनले बताए । उनले भने, “चालु कर्जा मार्गदर्शन कार्यान्वयन गर्ने शिलशिलामा यो वर्षबाट ‘कर्जाको एभरग्रनिङ्ग’ को आरोपलाई हटाउन सफल भएका छौं ।”
चालु कर्जा मार्गदर्शन तत्काल लागू गर्नुहुँदैन पछाडि सानुपर्छ भन्नेजस्ता धेरै कुराहरु रहेपनि राष्ट्र बैंकले समस्या उजागर भैसकेपछि त्यसलाई पछाडि सार्नु हुँदैन भन्ने मानिसिकताका साथ समस्या निषेध/निराकरण गर्नेपर्छ भनेर कार्यान्वयन गरिएको उनको भनाई छ । यो लागू भएसँगै हिजोको दिनमा जुन किसिमको अभ्यास थियो चाहे त्यो ओभर डाफ्ट कर्जा भनौं वा चाहे अल्पकालीन प्रकृतिका कर्जा लिएर तिर्ने अभ्यासहरुलाई चालु कर्जा मार्गदर्शनले पूर्णत निषेध गरेको उनले बताए ।
मार्गदर्शनबाट आवश्यकता अनुसारको कर्जा, आवश्यकता अनुसारको चालु कर्जा अनुसार फाइनान्सिङ्गको कन्सेप्ट लागू भएको छ । यसले नेपालको फाइनान्सिल सिस्टमलाई भोलिका दिनहरुमा थप सबल बनाउन र डिरेल हुनबाट बचाउन सहयोग गरेको उनको दाबी छ ।
राष्ट्र बैंकले अबलम्बन गरेको नीतिका कारण नै कोभिड महामारीकोबीचमा पनि देशको बाह्य क्षेत्र डिरेल हुनबाट जोगिएको उनले बताए । गभर्नर अधिकारीले भने, “अहिले हामीसँग प्रशस्त ठाउँ रहेको छ । चाहिएको सामान खरिद गर्न समस्या छैन । ११ महिनाको वस्तु आयात तथा ९.४ महिनाको वस्तु तथा सेवालाई धान्नसक्ने वैदेशिक मुद्रा सञ्चिति रहेको छ । जुन धेरै मुलुकहरुको भन्दा माथिको अवस्था हो । बैंकिङ्ग क्षेत्रले पनि यसबाट थप सहजता महसुस गर्दछ ।”
केन्द्रीय बैंकले लिएको नीतिकै कारण नेपालको बैंकिङ्ग संकट’ निम्तन नपाएको उनले बताए । सन् २०१९।२० को उत्पन्न कोभिड महामारीको समस्या स्वास्थ्यबाट सुरु भई ब्यापार र ब्यापारबाट बैंकिङ्ग क्षेत्रमा आउने क्रममा रहेकोमा स्वास्थ्य समस्यालाई राष्ट्र बैंकले सुझबुझपूर्ण ढंगले हस्तक्षेप गरेर सोही क्षेत्रमा मात्रै सीमित गर्नेगरी बैंकिङ्ग क्षेत्रभित्र गरिएको प्रयास स्वरुप ‘बैंकिङ्ग संकट’ निम्त्याउन नदिएको उनले दाबी छ ।
कोभिडले देशभर शुन्य मोबिलिटी रहेको अवस्थामा विजनेश ब्यापार ठप्प रहँदा बैंकहरुको कर्जा भुक्तानीमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंक र सरकारको सहयोगमा ल्याइएको मोनिटरी स्टिमुलस प्याकेजबाट नेपाल तुरुन्तै पुनरुत्थान गर्न सफल भएको उनले बताए । त्यसको फलस्वरुप सन् २०२० मा २.४० प्रतिशत नकारात्मक आर्थिक वृद्धिदर बाउन्स ब्याक भएर २०२१ मा ४.५० प्रतिशत र २०२२ मा झन्डै साढे ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सफल भएको गभर्नरको भनाई छ ।
यद्यपी यसअघिको आर्थिक वृद्धि यो वर्ष कायम गर्न नसकिएको उनले बताए । नेपालले कोभिड महामारीपछि सन् २०२१ र २२ मा प्राप्त गरेको उपलब्धी हासिल गर्न कयौं मुलुकहरुलाई पाँचौं–सातौं वर्ष लागेको अवस्था रहेकाले प्राप्त उपलब्धीहरुलाई कायम गर्दै बाँकी कुराहरुलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सन् १९९० मा जापानमा आएको रियल स्टेटको संकट, १९९७–९८ को साउथ इष्ट एशियन क्राइसिस, तथा २००७/०८ को फाइनान्सियल संकटबाट मुक्त हुन विकसित मुलुकहरुलाई दशौं वर्ष लागेको उनले उदाहरण समेत पेश गरे ।
साथै उनले चालु आवमा ७–८ प्रतिशत मात्र कर्जा विस्तार भएकाले निर्देशित कर्जाहरुमा केही समस्या हुने भएपनि राष्ट्र बैंक थप छलफलका लागि तयार रहेको उनले बताए । बैंक क्षेत्रमा रहेको स्रोतको परिचालन (कर्जा) उत्पादनमुलक क्षेत्रमा जानुपर्ने व्यवस्थालाई बैंकिङ्ग क्षेत्रको पूर्णत प्रतिबद्धता रहनुपर्ने उनको भनाई छ । राष्ट्र बैंकले कुल कर्जा प्रवाहको कृषिमा १५ प्रतिशत, साना तथा मझौला प्रकृतिका कर्जामा १५ प्रतिशत र उर्जामा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया