बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान, गण्डकीमा सबैभन्दा धेरै

0
Shares

यसवर्ष बागमती प्रदेशमा सबैभन्दा कम हासिँल हुँदा गण्डकी प्रदेशमा सबैभन्दा बढी आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदन अनुसार बागमती प्रदेशमा सबैभन्दा कम १.४ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरिएको छ । उता गण्डकी प्रदेशमा सबैभन्दा बढी ३.३ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अनुमान छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा २.१, कोशी प्रदेशमा २ र कर्णाली प्रदेशमा १.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा १.८ र मधेश प्रदेशमा १.७ प्रतिशत आर्थिक वृद्धिदरको हुने अनुमान गरिएको छ ।

तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ बराबर पुग्ने अनुमान यसअघि नै सार्वजनिक गरिसकेको छ । जसअनुसार यसवर्ष नेपालको जिडिपी वृद्धिदर उपभोक्ता मूल्यमा १.८५ प्रतिशत र आधारभूत मूल्यमा २.१३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । प्रादेशिक लेखाअनुमान प्रतिवेदन अनुसार जिडिपीमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशको देखिएको छ । बागमती प्रदेशको कूल जिडिपीमा ३६.८ प्रतिशत योगदान रहेको देखिएको छ । जुन १९ खर्ब ८१ अर्ब रुपैयाँ बराबर हो ।

जिडिपीमा कोशी प्रदेशको योगदान १५.८ प्रतिशत अर्थात् ७ खर्ब ८० अर्ब बराबर रहने अनुमान गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको १४ प्रतिशत अर्थात् ७ खर्ब ६२ अर्ब, मधेश प्रदेशको १३ प्रतिशत अर्थात् ७ खर्ब ७ अर्ब, गण्डकी प्रदेशको ९ प्रतिशत अर्थात् ४ खर्ब ८२ अर्ब र सुदूरपश्चिम प्रदेशको ७ प्रतिशत अर्थात् ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबर रहने अनुमान गरिएको छ ।

जिडिपीमा सबैभन्दा न्यून योगदान कर्णाली प्रदेशको देखिएको छ । कूल जिडिपीमा कर्णाली प्रदेशले ४.१ प्रतिशत अर्थात् २ खर्ब २१ अर्ब रुपैयाँ बराबर योगदान गरेको छ । नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर १ हजार ३९९ अर्थात १ लाख ८२ हजार ६८३ रुपैयाँ बराबर पुगेको छ । आर्थिक वर्ष २०७९÷८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी विवरणअनुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर १ हजार ३९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर १ हजार ४१० बराबर छ ।

प्रादेशिक लेखाअनुमान प्रतिवेदन अनुसार प्रतिव्यक्ति आयमा बागमती प्रदेश सबैभन्दा अघि देखिएको छ भने सबैभन्दा कम मधेश प्रदेशको देखिएको छ । बागमतीमा प्रतिव्यक्ति आय २०९७ अमेरिकी डलर बराबर छ । त्यस्तै, गण्डकीमा प्रतिव्यक्ति आय अमेरिकी डलर १४९२, कोशीको अमेरिकी डलर १२९९, लुम्बिनीको अमेरिकी डलर ११२६, सुदूरपश्चिमको अमेरिकी डलर १०६३ र कर्णालीको अमेरिकी डलर ९९७ रहेको छ । मधेश प्रदेशको प्रतिव्यक्ति आय अन्य प्रदेशको तुलनामा सबैभन्दा कम अमेरिकी डलर ८७५ बराबर छ । जिडिपी अनुपातमा नेपालको कुल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५.२१ प्रतिशत अर्थात् १३ खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको छ ।

त्यस्तै, अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जीडीपी अनुपातको ९३.५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । जुन ५० खर्ब ३६ अर्ब १५ करोड रुपैयाँ बराबर हो । जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा ७.१५ प्रतिशत बराबर छ । यसवर्ष ३ खर्ब ८५ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ । जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६.५ प्रतिशत बराबर छ । नेपालले यसवर्ष१९ खर्ब ६४ अर्ब ३३ करोड बराबर आयात गर्ने ठानिएको छ । त्यसैगरी, चालु मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत बराबर छ । त्यस्तै जीडीपीमा विप्रेषणको अनुपात २२.८९ प्रतिशत बराबर हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको जिडिपीमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा कृषि क्षेत्रले जिडिपीमा २४.६७ प्रतिशत बराबर हिस्सा ओगटेकोमा यसवर्ष त्यो घटेर २४.१२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ । तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको पछिल्लो ९ महिना अवधिको तथ्याङ्क विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो ।

औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापका आधारमा बागमतीबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी हुनेछ । बागमतीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी हुनेछ । कोशी, मधेश र लुम्बिनीमा थोक तथा खुद्रा व्यापारको योगदान दोस्रो नम्बरमा छ । बागमतीमा घरजग्गा कारोबार तथा आफ्नै आवास सेवाको योगदान दोस्रोमा छ । गण्डकी, कर्णाली र सुदूरपश्चिममा सार्वजनिक प्रशासन र रक्षाक्षेत्रको योगदान दोस्रो छ । बागमती र मधेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा कम देखिन्छ ।रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।