ब्याजदर घटे पनि सरकारी वित्त असन्तुलनले तरलताको समस्या बल्झिन सक्छ: अध्यक्ष सुनिल केसी


नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारी वित्तमा देखिएको असन्तुलन र न्यून पुँजीगत खर्चका कारण आगामी दिनमा तरलतामा दबाब पर्ने बताएका छन् । सरकारले चालु खर्चका लागि आन्तरिक ऋण धेरै उठाउने भएकाले तरलतामा दावाब पर्न सक्ने केसीले बताएका हुन् ।

पछिल्लो समय ब्याजदर घट्दो क्रममा रहेको भएपनि कर्जा विस्तार हुन्छ नै भन्न नसकिने उनको तर्क छ । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण व्यापार व्यवसायमा नोक्सानी हुन सक्ने जोखिम रहेकाले पनि कर्जा लगानी विस्तारमा असर पर्न सक्ने केसीले बताए । उनले भने, “केही बैंकहरुको कोर क्यापिटलमा दबाब परेको हुनाले पनि कर्जा विस्तारमा असर गर्न सक्छ ।”

सरकारले चालु आर्थिक वर्षको जेठ ७ गतेसम्ममा सरकारले ७ खर्ब ६५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने १० खर्ब ६८ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले राजस्वभन्दा खर्च धेरै गरिसकेको छ । आगामी दिनमा यसकै कारणले पनि तरलतामा दबाब पर्न सक्ने सम्भावना रहेको केसीले बताए ।

“सरकारले आम्दानी भन्दा धेरै भएको खर्च आन्तरिक ऋणमार्फत व्यवस्थापन गरेको छ,” उनले भने, “आन्तरिक ऋणका लागि जारी गर्ने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि बैंक रेट (७.५ प्रतिशत) भन्दा माथि ९ प्रतिशतको हाराहारीमा छ ।” आर्थिक गतिविधिमा देखिएको सुस्तता र सरकारी वित्तमा देखिएको सन्तुलनमा सुधार नआउँदासम्म बैंकहरुमा कर्जाको माग बढ्न नसक्ने उनले बताए ।

बैंकहरुले स्प्रेड घटाउँदा, बेस रेट तथा मासिक ब्याजदरमा आएको गिरावटले आगामी दिनमा कर्जाको ब्याजदर घट्दै जाने उनको बुझाइ छ । गत पुस र माघमा कर्जाको उच्चतम रेट १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यो रेट घटेर गत चैत अन्तिममा १२.८४ प्रतिशतमा झरेको छ । यसले गर्दा कोरोना महामारीभन्दा पहिलेको ११.८ प्रतिशतको ब्याजदर छिट्टै कायम हुने केसीको भनाई छ ।

चालु आर्थिक वर्षको हालसम्ममा बैंकहरुमा ३ खर्ब निक्षेप बढेकोमा कर्जा १ खर्ब २४ अर्ब रुपैयाँले मात्र बढेको छ । निक्षेप बढेको तुलनामा कर्जा प्रवाह वृद्धि नहुँदा तरलता बिस्तारै सुधारोन्मुख हुँदै आएको बताउँदै उनले भने, “अहिले नै सबै समस्या समाधान भयो भन्न मिल्ने अवस्था छैन, होसियार हुनुपर्ने देखिन्छ ।”

विगतका वर्षहरुमा कुनै एउटा अवधिमा ३ खर्बसम्मको तरलता कमी हुन्थ्यो । तर, अहिले झण्डै १० देखि १५ अर्बसम्मको तरलताको कमी हुन सक्ने अनुमान केसीको छ । चालु आवको जेठ र असारमा झण्डै २ खर्ब निक्षेप बढ्न सक्ने उनको अनुमान छ ।

चालु आवको हालसम्म कर्जा वृद्धिदर ३ प्रतिशतको हाराहारीमा छ । आगामी २ महिनामा कुल कर्जा प्रवाह वृद्धि ६ देखि ७ प्रतिशत हुन सक्ने अनुमान केसीको छ । मौद्रिक नीतिले राखेको निजी क्षेत्र तर्फको कर्जा वृद्धिभन्दा आधा पनि नहुने अवस्था रहेको उनको बुझाइ छ । तर, निक्षेपमा भने १० देखि ११ प्रतिशतसम्मको वृद्धि हुने उनले बताए ।

सामान्यतया नेपालको विगत १० देखि १५ वर्षको तथ्याङ्क विश्लेषण गर्दा निजी क्षेत्रको कर्जा विस्तृत मुद्रा प्रदायभन्दा कम भएको अवस्थामा त्यसपछिका वर्षहरुमा कर्जा विस्तार उच्च दरमा हुने गरेको उनले बताए । यो वर्ष पनि कर्जाको वृद्धि ६ प्रतिशतको हाराहारी हुने र विस्तृत मुद्रा प्रदाय भने ८ देखि १० प्रतिशतको हाराहारीमा हुने भएकाले आगामी वर्षहरुमा कर्जा प्रवाह उच्च दरमा विस्तार हुने उनको अनुमान छ । यो वर्ष कर्जा विस्तार नहुनुमा ११ बैंकको टियर वान क्यापिटल १० प्रतिशत भन्दा कम र चार बैंकको नौ प्रतिशत भन्दा कम हुनुले पनि असर गरेको उनले जानकारी दिए । “यसले आगामी दिनमा पनि कर्जा वृद्धिमा असर गर्न सक्छ,” उनले भने ।

त्यसैगरी खराब कर्जाको अवस्था हालसम्मकै उच्च भएकाले पनि बैंकिङ क्षेत्रको ग्रोथ प्रभावित हुने उनको बुझाइ छ । बैंकहरुको स्प्रेड घटेर ४ प्रतिशतमा आएको छ भने रिटर्न अन इक्वीटी पनि घटेर १० प्रतिशतको हाराहारीमा आएको छ । त्यसका साथै नाफामा पनि गिरावट आएकाले बैंकहरुको ग्रोथलाई असर गर्ने विश्लेषण केसीको छ ।

व्यापार व्यवसायमा आएको सुस्तताका कारण नोक्सानीको अवस्था आउन सक्ने सम्भावना उच्च रहेकाले पनि कर्जा लगानी विस्तारमा असर पर्न सक्ने उनको भनाई छ ।

आगामी आर्थिक वर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन गरिने चालु पुँजी कर्जाका कारणले पनि बैंकहरुको ग्रोथमा असर गर्ने सम्भावना छ । सरकारको पुँजीगत खर्च नबढाउने हो भने आगामी वर्षमा कर्जा लगानी विस्तार सोचे जस्तो नहुने केसीको बुझाइ छ । विश्वव्यापी रुपमा बढेको मूल्यवृद्धिले अर्थतन्त्रमा रिसेसन ल्याएको खण्डमा पनि बैंकहरुलाई असर गर्ने उनको बुझाइ छ ।

उत्पादनमुलक, होलसेल, रिटेल र निर्माण क्षेत्रमा आएको गिरावटले साना तथा मझौला उद्यमलाई बढी असर गरेको बताउँदै उनले भने, “त्यो क्षेत्रमा असर पर्ने बित्तिकै बैंकिङ क्षेत्रको ग्रोथ पनि अफ्टेरोमा पर्न सक्छ । यस्तो अवस्थामा बैंकिङ क्षेत्र होसियार भएर नै अघि बढ्नुपर्ने अवस्था छ ।”

बैंकिङ क्षेत्रभन्दा बारिहबाट अफ्टेरो अवस्था नआउने हो भने बैंकहरुको कर्जा लगानी गर्ने क्षमतालाई बढाउँदै लौजाने समेत उनले बताए । अहिले बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपात पनि ८४ प्रतिशतको हाराहारीमा आएको छ । यसले पनि कर्जा लगानी गर्ने अवस्था सहज रहेको देखाउँछ । तर, यसमा केही बैंकहरुको कर्जा निक्षेप अनुपात धेरै भएको वा पुँजी कोष अनुपातका कारण कर्जा विस्तारमा असर गर्न सक्छ । त्यसका साथै छिमेकी मुलुक भारतमा मूल्यवृद्धिमा आएको गिरावट तथा व्याजदरमा कायम गरिएको स्थिरताले पनि सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ ।

पछिल्लो समयमा ब्याजदरमा आएको गिरावटले पनि कर्जाको वृद्धि हुने सम्भावना छ । पछिल्लो समयमा सरकारले पनि ग्रीन बण्ड तथा ग्रीन फाइनान्सिङ्गको विषयलाई नीतिगत व्यवस्था गरेको छ । त्यसमा डोनर कन्ट्रीबाट केही अनुदान आएको खण्डमा पनि सकारात्मक प्रभाव पर्ने उनको अनुमान छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।