ब्रोकर कार्यालयमा लगानीकर्ताहरूले गरे तालाबन्दी, प्रहरी परिचालन

0
Shares

पुँजीगत लाभकर अन्तिम कर मान्न माग गर्दै आएको सेयर बजारका लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । लगानीकर्ताहरुले आज काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।

सरकारी नीतिको विरोधमा पछिल्लो तीन दिनदेखि आन्दोलनरत बनेका लगानीकर्ताले आइतबार सबै ब्रोकरमा सूचना टाँस गर्दै तालाबन्दी गरेका हुन् । उता लगानीकर्ताहरुले बिहानैदेखि ब्रोकर कार्यालयमा तालाबन्दी गरेको खबरपछि ब्रोकर हाउसहरुमा प्रहरी परिचालन गरिएको हो । ब्रोकर हाउसहरुमा प्रहरी परिचालन गरिए पनि प्रहरी परिचालन गरेर नियमित कारोबार गराउने अवस्था भने छैन ।

लगानीकर्ताले ब्रोकर हाउसहरुमा गरेको तालाबन्दीमा केही ब्रोकर हाउसहरुले स्वस्फुर्त टिएमएस बन्द गर्ने घोषणा गरेका छन् ।  तालाबन्दी गरिएको ताला खोलेर कारोबार गरियो भने त्यसबाट सृजना हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयम ब्रोकर हुनुपर्ने लगानीकर्ताले बताएका छन् । यसअघि लगानीकर्ताहरुले सबै ब्रोकरलाई आइतबार टिएमएस बन्द गरे कारोबार नगर्न शुक्रबार नै आग्रह गरेका थिए ।

आर्थिक विद्ययक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी उनीहरुले दिएका छन् । आर्थिक विधेयकको २९ नं। बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। उक्त बुँदा मार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ। यसअघिको ५ प्रतिशत र ७।५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ । बजेटको नयाँ व्यवस्थाले केवल पूँजी बजार र घर जग्गा कारोबारमा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै क्षति पुर्याउने लगानीकर्ताहरूलको भनाइ छ । लगानीकर्ताले ब्रोकर हाउसहरुमा गरेको तालाबन्दीमा केही ब्रोकर हाउसहरुले स्वस्फुर्त टिएमएस बन्द गर्ने घोषणा गरेका छन् ।

लगानीकर्ताहरु आज बिहान अर्थमन्त्री डा. प्रकाश शरण महतको घर घेराउ गर्न गएपनि प्रहरीले रोकेको थियो ।

स्टक ब्रोकर एशोसियन अफ नेपालले शुक्रबार नै विज्ञप्ती जारी गर्दै निर्वाध रुपमा कार्यालय खोली व्यवसाय र कारोबार सञ्चालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महशुस गरेको जनाएको थियो । लगानीकर्ताहरुबाट जस्तोसुकै क्षती हुनसक्ने र उक्त क्षतीको जिम्मेवारी स्वयं व्यवसायीले नै लिनुपर्ने चेतावनी दिएको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

संघले निर्वाध रुपमा कार्यालय र कारोबार सञ्चालन गर्ने वातावरण मिलाउन नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुसँग अनुरोध समेत गरेको थियो ।

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पुँजी बजारले सूचनाको आधारमा प्रतिक्रिया गर्ने भएकोले पुँजी बजारको संवेदनशीलता, बजारको सन्तुलित विकास, लगानीकर्ताहरुको आत्मविश्वास तथा समग्र लगानीको वातावरणमा पार्ने दिर्घकालीन प्रभाव आदि पक्षलाई समेत ध्यानमा राखी पुँजी बजार सम्बन्धी कुनै पनि नीति नियम तर्जुमा गर्दा सरोकारवाला सबै पक्षहरुसँग गहन छलफल गरि स्थिर र स्पष्ट नीति नियम निर्माण गर्ने अभ्यासको थालनी गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

सरकारले आर्थिक ऐन मार्फत ल्याएको कर नीति बजार विरोधी भएको र त्यसको खारेजीको माग गर्दै लगानीकर्ताहरु आन्दोलनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।