बैंकहरुको ओभरड्राफ्ट कर्जा ६७ प्रतिशतले घट्यो, टर्म लोनमा सुधार

0
Shares

चालु आर्थिक वर्षको बैंशाख महिनामा बैंक वित्तीय संस्थाबाट प्रबाह हुने ओभरड्राफ्ट कर्जामा उच्च गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गर्न जोखिम भार बढाएपछि ओभरड्राफ्ट कर्जा प्रबाह घटेको हो ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा बैंक वित्तीय संस्थाले २ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ लगानी गरेका छन । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ६६.७ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा बैंक वित्तीय संस्थाले ओभरड्राफ्ट शिर्षकमा ७ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ओभरड्राफ्टमा गिरावट आउनुको कारण गत आर्थिक वर्षको यस्तो कर्जालाई पुनरवर्गिकरण गरेकाले पनि हो । तर, बैंकहरुले पुनरवर्गिकरण मात्र नभई जोखिम व्यवस्था बढेपछि उक्त शिर्षकमा कर्जा दिनै कम गरेका हुन । त्यसका साथै तत्काल ओभरड्राफ्ट कर्जा तिर्न नसक्नेलाई सोही कर्जा आवधिक कर्जामा रुपान्तरण गरेकाले पनि घटेको हो । त्यसकारण पनि चालु आवको बैंशाखसम्मको आवधि कर्जा २१ प्रतिशतको बढेको छ ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशतले, रियल स्टेट कर्जा ४.३ प्रतिशतले र ट्रष्ट रिसिट कर्जा ६.२ प्रतिशतले बढेको छ ।

तर, अधिविकर्ष कर्जा ६६.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ६.९ प्रतिशतले र हायर पर्चेज कर्जा १२.१ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले घरजग्गा, सेयर बजार र हायर पर्चेज कर्जामा कडाई गरेपछि ती सबै क्षेत्रको कर्जा प्रबाह दर घटेको हो । तर, यी क्षेत्रमा गरीएको कडाइको असरले पनि ओभरड्राफ्ट कर्जामा असर परेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले कर्जाको प्रकृति अनुसार ५० देखि ७५ प्रतिशत विन्दुले जोखिम भार बढाएको छ । सो अनुसार अनुत्पादक क्षेत्रका कर्जाको जोखिम भार १२० प्रतिशत देखि १५० सम्म कायम गर्यो ।

यसरी जोखिम भार बढ्ने कर्जामा सेयर धितो कर्जा, ओभरड्राफ्ट, रियल स्टेट तथा हाउजिङ तथा ट्रष्ट रिसिप्ट कर्जामा जोखिम भार बढाएको छ । त्यसका साथै आयातमा गरीएको नियन्त्रण र चर्को ब्याजदरको असर हायर पर्चेज कर्जा घटेको स्पष्ट हुन्छ ।

नेपाल राष्ट्र बैंकले चालुु आवमा कर्जामा कडाइ ग्रयो । कर्जामा कडाइ गरेसंगै ब्याजदरमा भएको वृद्धिका कारण कर्जाको माग बढ्न सकेन । कर्जाको माग भएको अवस्थामा पनि बैंक वित्तीय संस्थाले स्रोत अभावका कारण कर्जा लगानी गर्न नसकेपछि हायर पर्चेज, ओभरड्राफ्ट, सेयर धितो कर्जा लगायतका कर्जा प्रबाहमा असर पुगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।