उच्च जोखिममा पनि उत्तिकै आकर्षण, पौने दश लाखले भरे रिपब्लिक मिडियाकाे आईपीओ

0
Shares

रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङस् नेपाल लिमिटेडले जोखिमपूर्ण संकेत जनाउने ‘आईआरएन बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको, संस्थामा कार्यरत पत्रकारहरुलाई पारिश्रमिक पाउन महिनौं आन्दोलन गर्नुपरेको र वित्तीय अवस्था समेत कमजोर रहेको नेपाल रिपब्लिक मिडियाको आईपीओमा पनि लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

पछिल्लो समय सर्वसाधारणबाट १२ लाख हाराहारीमा आईपीओ पर्ने गरेकोमा अन्तिम दिनभन्दा अघिल्लो दिनसम्ममा रिपब्लिक मिडियाको आईपीओमा पौने दश लाख बढीबाट आईपीओ खरिदको माग भएको हो । जोखिमको आईपीओमा पनि दश लाख बढी आवेदन पर्नुले प्राथमिक बजारमा लगानीकर्ताले कम्पनीको वित्तीय अवस्थाको विश्लेषण नगरी आवेदन गरेको देखिन्छ । कम्पनी आगामी तीन वर्षसमम्म ३१ करोड बढी सञ्चित नोक्सानीमा रहने तथा लाभांश वितरण गर्न वर्षौ कुर्नुपर्ने भएपनि लगानीकर्ता भने आईपीओमा आवेदन गर्न तयार भएको बुझ्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा कम्पनीको आईपीओमा ९ लाख ८३ हजार २०० आवेदन परेको छ ।उल्लेखित संख्याको आवेदनबाट १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ४३ हजार ७४० कित्ता सेयर खरिदका लागि आवेदन परेको हो । जुन मागको तुलनामा २.९६ गुणा हो । नेपाल रिपब्लिक मिडियाले जेठ २६ गते शुक्रबारदेखि सर्वसाधारणको लागि ३६ लाख १९ हजार ८९१ कित्ता सेयर खरिदका लागि आवेदन मागेको थियो ।

सञ्चित नोक्सानीमा अधिक रहेकोले कम्पनीले कर्मचारीका लागि ४ प्रतिशत अर्थात १ लाख ७४ हजार १२० कित्ता सेयर छुटाएको थियो । तर दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको आईपीओमा कर्मचारीहरुले कुल सेयर मध्ये ८० हजार १५९ कित्ता लागि मात्रै आवेदन दिएपछि बाँकी रहेको ९३ हजार ९६१ कित्ता समेत सर्वसाधारणमा थप गरी ३६ लाख १९ हजार ८९१ कित्ता सेयर जारी गरेको हो ।

मागभन्दा बढी आवेदन परिसकेकाले आईपीओमा सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयर वेवसाइट तथा मोबाइल एपबाट भोलि जेठ ३० गते मंगलबारसम्म आवेदन दिन सकिन्छ । इच्छुक लगानीकर्ताले १० कित्ता देखि ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ५५.००७८ प्रतिशत र सर्वसाधारणको ४४.९९२२ प्रतिशत कायम हुनेछ ।

आव २०८१-८२ सम्म सञ्चित नोक्सानीमा रहने, रेटिङ्ग उच्च जोखिममा

चालु आवमा वार्षिक १ रुपैयाँ २२ पैसा प्रतिसेयर आम्दानी कायम गर्ने आंकलन गरेको रिपब्लिक मिडिया आगामी तीन वर्षसम्म नोक्सानीमा रहने उसैले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित वित्तीय अवस्थाको आंकलन अनुसार गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा ५१ करोड ८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेकोमा चालु आव २०७९।८० मा ४६ करोड ३५ लाख ५८ हजार रुपैयाँ नोक्सानी हुने प्रक्षेपण छ । आर्थिक वर्ष २०८१–८२ सम्ममा पनि कम्पनी ३१ करोड ६४ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा रहने प्रक्षेपण रहेको छ ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ २२ पैसा र प्रति सेयर नेटवर्थ ९९ रुपैयाँ ७६ पैसा रहने अनुमान छ । कम्पनीको खुद वर्तमान मूल्य १० करोड ५१ लाख ९९ हजार २९८ रुपैयाँ रहेको छ ।

आव २०८०/८१ मा प्रति सेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा र प्रति सेयर नेटवर्थ १२० रुपैयाँ ४१ पैसा कायम गर्ने लक्ष्य राखेको कम्पनीको आर्थिक वर्ष २०८१–८२ सम्ममा कम्पनीको ९ रुपैयाँ ६६ पैसा प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ १२० रुपैयाँ ४१ पैसा पुग्ने कम्पनीको अनुमान छ ।

आईपीओमा लगानी गरेको साधारणतर्फ लगानी फिर्ता हुने अवधि ७.३२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ ।
संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना र १ जना स्वतन्त्र सञ्चालक गरी ४ जना मात्रै सञ्चालक समितिमा रहेका छन् । सञ्चालक समितिको अध्यक्षमा विनोदराज ज्ञवाली र उनकै श्रीमती शोभा ज्ञवाली, अन्जन कुमार दाहाल, रोमनाथ घिमिरे स्वतन्त्र सञ्चालक छन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘आईआरएन बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई २०७९ असोज ३० गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । सो रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० असोज २५ गतेसम्म कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।