आन्तरिक ऋणको लागत घट्दै, बैंकदरकै हाराहारीमा झर्यो ट्रेजरीको डिस्काउन्ट रेट

0
Shares

वित्तीय प्रणालीको अल्पकालिन ब्याजदर निरन्तर ओरालो लगको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसंगै अल्पकालिन ब्याजदर पनि घट्दो क्रममा देखिएको हो ।

बैंक वित्तीय संस्थाले गत बैशाखमा एक प्रतिशत विन्दुले निक्षेपको ब्याजदर घटाए। त्यससंगै नेपाल राष्ट्र बैंकले पनि वैशाखको अन्तिममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासीक समिक्षा गरी बैंक दर एक प्रतिशत विन्दुले घटाई ७.५ प्रतिशत कायम गर्यो । पछिल्लो समयमा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि बैंकदरको वरीपरि आइपुगेको हो ।

केन्द्रीय बैंकले बैंकदर र बैंकहरुले कर्जा निक्षेपको ब्याजदर घटाएपछि अल्पकालिन ब्याजदर झनै घट्ने क्रममा देखिएको हो । चालु आर्थिक वर्षमा १२ प्रतिशतसम्म पुगेको डिस्काउन्ट रेट हाल २८ दिनेको ७ र त्यो भन्दा धेरै अवधिको ८ प्रतिशतमा झरेको छ ।

अल्पकालिन रेटहरुमा आएको गिरावटले बैंकिङ प्रणालीको ब्याजदर पनि अझै घट्ने स्पष्ट हुन्छ । ट्रेजरी बिल्सको डिस्काउन्ट रेट मात्र नभई अन्तर बैंक दर पनि नीतिगत दर भन्दा तल ६.३१ प्रतिशतमा आएको छ । यसले आगामी दिनमा बैंकिङ प्रणालीको ब्याजदर थप घट्ने स्पष्ट हुन्छ ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा निक्षेप बढेको छ । तर, कर्जाको माग नभएपछि बैंकहरु मै पैसा होल्ड भएर बसेको छ । त्यसले गर्दा पनि बैंकहरुले सरकारी ऋणपत्रमा लगानी बढाउँदा ट्रेजरीको डिस्काउन्ट रेट घट्न थप मद्दत गरेको हो ।

सोमबार सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट करिब एक प्रतिशत विन्दुले घटेको छ । सरकारले २८ अर्ब ५० करोडको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट गत २३ गतेको तुलनामा एक प्रतिशत विन्दुसम्मले घटेको छ ।

सरकारले सोमबार ५ अर्ब रुपैयाँ बरावरको २८ दिने, ८ अर्ब ५० करोड रुपैयाँ बरावरको ९१ दिने, ४ अर्ब बराबरको १८२ दिने र ११ अर्ब बरावरको ३६४ दिने ट्रेजरी जारी गरेको हो । सो मध्ये ३ अर्ब ५० करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी बिल्स नयाँ हो ।

सोमबार निष्कासन भएका २८, ९१, १८२ र ३६४ दिने सबै ट्रेजरीको डिस्काउन्ट रेट घटेको छ । सरकारले निष्कासन गरेको ५ अर्ब रुपैयाँ बरावरको २८ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिसकाउन्ट रेट ७.००३ प्रतिशत छ भने न्यूनतम ६.०९९५ प्रतिशत रहेको छ । यसको औसत डिस्काउन्ट रेट ६.६८३७ प्रतिशत कायम भएको छ । यसभन्दा अघि बैंशाख २३ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ७.३५७८ प्रतिशत थियो ।

त्यसैगरी नयाँ र पुरानो गरी ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिनेका लागि बैंक वित्तीय संस्थाले अधिकतम ८.२४९९ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन भने न्यूनतम ८.०००१ प्रतिशत रहेको छ । यसको औसत डिस्काउन्ट रेट ८.१३७० प्रतिशत कायम भएको छ ।

यसभन्दा अघि बैंशाख २३ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.८६३८ प्रतिशत थियो । सोमबार ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी राष्ट्र बैंक आफैले किनेको छ भने बैंक तथा वित्तीय संस्थालाई ४ अर्ब ८५ करोड रुपैयाँ बरावरको मात्र बिक्री गरेको छ ।

सोमबार ४ अर्ब रुपैयाँ बरावरको १८२ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिस्काउन्ट रेट ८.१९९७ प्रतिशत छ भने न्यूनतम ७.८५०१ प्रतिशत छ । यसको औसत डिस्काउन्ट रेट ८.०४४५ प्रतिशत कायम भएको छ । यसभन्दा अघि बैंशाख २३ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.७१५१ प्रतिशत थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको ११ अर्ब रुपैयाँ बरावरको ३६४ दिने नयाँ ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिस्काउन्ट रेट ८.४३०० प्रतिशत छ भने न्यूनतम ७.८७०० प्रतिशत छ । यसको औसत डिस्काउन्ट रेट ८.१४७६ प्रतिशत कायम भएको छ । यसभन्दा अघि बैंशाख २३ गते निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.३३२३ प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।