रावा इनर्जीको आईपीओमा १ लाख ७ हजार ४६६ वटा आवेदन रद्द

0
Shares

रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा परेको कुल ११ लाख ८५ हजार २०६ वटा आवेदनमध्ये रितपुर्वक नपरेका कारण १ लाख ७ हजार ४६६ वटा आवेदन रद्द गरिएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार उल्लेखित रद्द भएको १ लाख ७ हजार ४६६ वटा आवेदन सङ्ख्याबाट १४ लाख २१ हजार ८०० कित्ताको माग भएको थियो । अन्तिम दिनसम्म मागभन्दा २०.१८ गुणा बढी आवेदन परेको थियो । कम्पनीको आईपीओमा कुल ११ लाख ८५ हजार २०६ वटा आवेदनबाट कुल १ अर्ब २९ करोड ८६ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८६ हजार ३९० कित्ता सेयरको माग परेको थियाे ।

जसमध्ये सि–आश्वाबाट प्राप्त भएको १ लाख ४ हजार ९१८ वटा आवेदन मार्फत परेको १३ लाख ९० हजार ८६० कित्ता विभिन्न कारणले रद्द भएको छ । यसरी बाँकी रहेको १० लाख ८० हजार २८८ वटा आवेदनबाट कुल १ अर्ब १५ करोड ९५ लाख ५३० हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ९५ हजार ५३० कित्ता सेयर सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सिस्टममा प्रविष्ट भएको थियो ।

जसमध्ये ८९७ वटा आवेदन मार्फत परेको १० हजार ४८० कित्ता दोहोरो आवेदन परेका कारण रद्द भएको छ । यस्तै स्थानीय बासिन्दाबाट परेको ५८ वटा आवेदन मार्फत परेका ८९० कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरुबाट परेको १ हजार ५९३ वटा आवेदन मार्फत भएको १९ हजार ५७० कित्ताको माग रद्द गरिएको छ ।

बाँडफाँडमा १० लाख ७७ हजार ७४० वटा आवेदनबाट परेको १ करोड १५ लाख ६४ हजार ५९० कित्ता सेयरलाई सदर गरिएको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको बाँडफाँडमा ६४ हजार ३६६ जनाले आईपीओ हात पारेका छन् ।

मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड भएको हो । निर्देशिका बमोजिम ६४ हजार ३६६ आवेदकलाई १० कित्ताका दर ६ लाख ४३ हजार ६६० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता सेयर तिनै गोलाप्रथाबाट सेयर पाउने आवेदकमध्ये भाग्यमानी ७ जनालाई थप १–१ कित्ता वितरण गरिएको हो । यसो हुँदा ७ जनाले ११ कित्ताका दरले ७७ कित्ता र ६४ हजार ३५९ जना आवेदकले १० कित्ताका दरले ६ लाख ४३ लाख ५९० कित्ता हात पारेका हुन् ।

कम्पनीले जेठ १८ देखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले रावाको आईपीओलाई ‘केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।

रावा इनर्जीको आईपीओ ६४ हजार ३६६ जनाले पाए, यसरी भयो बाँडफाँड

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।