कान्तिपुर टिभीले प्रिमियममा आईपीओ नल्याउने

0
Shares

कान्तिपुर टेलिभिजन नेटवर्कले प्रिमियम मूल्यमा आईपीओ निष्कासन नगर्ने भएको छ । कम्पनीले अंकित मूल्यमा नै सेयर बिक्री गर्ने अनुमति मागेको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कम्पनीले जेठ २८ गते आइतबार अंकित मूल्य १०० रुपैयाँमा ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने अनुमति माग्दै आवेदन दिएको हो ।

टेलिभिजन नेटवर्कले सानिमा क्यापिटलाई बिक्री प्रबन्ध नियुक्त गर्दा विसं २०७९ असार तथा २०७९ चैत १७ गते आह्वान गरेको विशेष साधारण सभामा सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तथा आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बोनस सेयर जारी गर्ने प्रस्ताव लगेको थियो । तर कम्पनीले सेयर जारी गर्न निवेदन दिँदा भने अंकित मूल्यमा नै सेयर बिक्री गर्न अनुमति दिएको हो ।

उसो त सेयर निष्कासनका लागि गरिएको रेटिङ्गमा कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको आम्दानीमा पनि भारी गिरावट आएको देखिएको थियो । चालु आर्थिक आर्थिक वर्षको ९ महिना अवधिमा कान्तिपुर टिभीको सञ्चालन आम्दानी २१ करोड १० लाख रुपैयाँ रहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।

मिडिया क्षेत्रको सबैभन्दा ठूलो हस्तीका रुपमा परिचित कान्तिपुर टेलिभिजन नेटवर्कको आम्दानी गत आर्थिक वर्षको तुलनामा घटेको हो । आव २०२२–२३ मा कम्पनीले ३७ करोड ८० लाख सञ्चालन आम्दानी गरेको थियो । टेलिभिजनको आम्दानी चालू आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा २५ प्रतिशतले घटेको हो । यो वर्ष आर्थिक मन्दीले विज्ञापन घट्दा आम्दानी र नाफा दुबै घटेको उल्लेख छ ।

कम्पनीले सन् २०२१ मा ३२ करोड ४० लाख, सन् २०२० मा ३१ करोड २० लाख र सन् २०१९ मा ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । इक्राका अनुसार टिभिको आम्दानीमा कमी आएसँगै अन्य वित्तीय सूचांकमा समेत गिरावट आएको छ । गत आवमा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको ३१.१ प्रतिशत रहेको थियो । तथापि चालु आवको ९ महिनामा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको २२ प्रतिशत रहेको छ ।

हाल कान्तिपुर टेलिभिजन नेटवर्कले कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्स एचडी सञ्चालन गरिरहेको छ । सन् २००० मा स्थापना भएको कान्तिपुर टेलिभिजन नेटवर्क कान्तिपुर मिडिया ग्रुपको एक हिस्सा हो । कान्तिपुर मिडिया ग्रुपले छापा माध्यम अन्तर्गत कान्तिपुर दैनिक र काठमाडौँ पोस्टको प्रकाशन तथा बिक्री वितरण गर्दै आएको छ भने रेडियो र अनलाइन पनि सञ्चालन गरिरहेको छ । कम्पनीमा कैलाश सिरोहिया लगायतका अन्य ११ सेयरधनीहरुको सेयर हिस्सा रहेको छ । तथापि कम्पनीमा सर्वाधिक सेयर हिस्सा–२९ प्रतिशत कम्पनीका प्रबन्ध निर्देशक कैलाश सिरोहियाको रहेको छ ।

टिभिलाई रेटिङ एजेन्सी इक्रा नेपालले बी प्लस रेटिङ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहने इक्राले जनाएको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिममा रहेका मानिन्छन् ।

रेटिङ वर्ग (इक्रा–आईआर) एए देखि (इक्रा–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ (इक्रा–आईआर) बी प्लसको स्थिति (इक्रा–आईआर) बीभन्दा एक चिह्न माथि रहन्छ भने (इक्रा–आईआर) बी माइनस स्थिति (इक्रा–आईआर) बीभन्दा एक चिह्न तल रहन्छ । यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी रायमात्र भएको पनि इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ ।
धितोपत्र बोर्डले अनुमति दिएपछि टिभिको आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।