‘निजी क्षेत्रलाई विद्युत व्यापारको परिकल्पना २०४९ मै गरिएको थियो, प्राधिकरणले मात्र गर्नु हुँदैन’


पूर्व ऊर्जा सचिव सुर्यनाथ उपाध्यायले उर्जाको व्यापार नेपाल विद्युत प्राधिकरणले मात्र गर्न नहुने बताएका छन् । निजी क्षेत्रलाई पनि व्यापार गर्न दिनु पर्ने भन्दै उनले यसको परिकल्पना २०४९ सालमा नै गरिएको बताएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारण सभामा इप्पानले दिने ऊर्जा ज्योति पुरस्कार ग्रहण गर्दै उपाध्याले विद्युत व्यापारमा निजी क्षेत्र आउन ढिला भइसकेको बताएका हुन् ।

“अब विद्युत प्राधिकरणले मात्र विद्युत व्यापार गरेर हुँदैन । निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनुपर्छ,” उनले भने । निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने परिकल्पना धेरै पहिला गरिएको भएपनि अहिलेसम्म पनि व्यापारको अनुमति नपाएकोमा उनले दुख व्यक्त गरे ।

“निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने परिकल्पना गरिएको २०४९ साल ताकै हो,” उपाध्यायले भने, “त्यो बेला साउथ एशियामा कतै पनि निजी क्षेत्रले विद्युत व्यापारको अनुमति पाएकै थिएन ।” परिकल्पना गरिएको कुरा ३० वर्षसम्म पनि पूरा नभएकोमा उपाध्यायले दुख व्यक्त गरेका हुन् ।

आज निजी क्षेत्रले ७ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको भन्दै त्यसको सुरुवात आफ्नै पालामा भएको उनले स्मरण गरे । आफ्नो पालामा निजी क्षेत्रले विद्युत उत्पादन सुरु गरेको आफुलाई खुसी लागेको उनको भनाई थियो ।

भारतले नेपालबाट १० हजार मेगावाट विजुली लैजाने सहमति भएको सन्दर्भमा नेपालका लागि भारत नभइ नहुने मित्र भएको उनको भनाई थियो।

भारतसँगको सम्बन्ध राम्रो हुनुपर्ने बताएका उनले नेपाल र भारतका बीचमा कहाँ कहाँ अफ्ठ्यारा छन् भन्ने आफूलाई जानकारी रहेको उनले बताए । “न व्यापारमा, न सीमामा, न राजनीतिमा, न कुनै आयोजना निर्माणमा कतै पनि नेपाल भारतको सम्बन्धमा घनिष्ठता देखिएको छैन,” उनले भने ।

महाकाली आयोजनामा प्रतिबद्धता जनाएको लामो समय बित्दा समेत आजका दिनसम्म पूरा नहुँदा नेपालले लाभ पाउन नसकेको तर भारतले भने अनुसारको लाभ पाइरहेको पनि उनले बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाटको सम्झौता हुनु सुखद भए पनि संयुक्त विज्ञप्ती जारी नभएको र धेरै विषय प्रष्ट पारिनुपर्नेमा उनले जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।