सुदूरपश्चिम प्रदेशका वित्तीय संस्थाको निक्षेप घटेपनि कर्जा ६% ले बढ्यो

0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा सुदूरपश्चिमका बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप घट्दा समेत कर्जा लगानी बढाएका छन् । बैंक वित्तीय संस्थाको चालु आवको पुससम्ममा ०.४२ प्रतिशतले निक्षेप घट्दा पनि कर्जा लगानी विस्तार भने ६.१७ प्रतिशतले वृद्धि गरेका हुन् ।

विसं २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा ०.४२ प्रतिशतले घटेको हो । चालु आवको पुससम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेप १ खर्ब १५ अर्ब १६ करोड ९३ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष सोही अवधिमा यस्तो निक्षेप १.९९ प्रतिशतले घटेको थियो ।

विसं २०७९ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा ६.२७ प्रतिशतले बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको कुल कर्जा १ खर्ब ५८ अर्ब ८३ करोड ६० लाख पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १५.८८ प्रतिशतले वृद्धि भएको थियो ।

यस प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३६.२४ प्रतिशत रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । आर्थिक वर्ष २०७९÷८० को पहिलो ६ महिनामा चिनी, गहुँको पिठो, इँटा, तोरीको तेल, कंक्रिट उत्पादन गर्ने उद्योगको अधिकतम क्षमता उपयोग भएको अध्ययनले देखाएको हो ।

त्यसैगरी, रोजिन प्रशोधित दूध, साबुन र चामल उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग अत्यन्तै न्यून रहेको केन्द्रीय बैंकले जनाएको छ । रोजिन उत्पादन गर्ने उद्योग कामदारहरुको अभाव, कच्चा पदार्थ संकलनमा भएको ढिलाई र उद्योग पूर्ण रुपमा सञ्चालन हुन नसक्दा उत्पादन न्यून देखिएको हो ।

चालु आवको पहिलो ६ महिनामा गहुँको पीठो, रोजिन र ईटा उत्पादनमा उल्लेख्य रुपमा ह्रास आएको र अन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशका उद्योगमा रोजगारीमा आबद्ध महिला तथा पुरुषको अंश क्रमशः ११.९८ प्रतिशत र ८८.०२ प्रतिशत रहेको छ । यस्तै यस प्रदेशमा २०.९९ प्रतिशत भारतीय नागरिकहरुले समेत रोजगारी पाईरहेको अध्ययनले देखाएको छ ।

यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले २०७९ पुस मसान्तसम्म सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा १.७२ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब ९९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २७.४८ प्रतिशतले वृद्धि भएको थियो । कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जाको अंश ६९.८९ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म ६.३१ प्रतिशतले वृद्धि भई २७ अर्ब ३० करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १९.७४ प्रतिशतले वृद्धि भएको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश १८.१७ प्रतिशत हो ।

त्यसैगरी विसं २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा २०.८३ प्रतिशतले वृद्धि भई १५ अर्ब ५५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २३.३८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ३ अर्ब ६७ करोड १३ लाख रुपैयाँ अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाह भएको छ भने सबैभन्दा कम ५ लाख रुपैयाँ सनपाटमा प्रवाह भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।