बैंकमा पैसा थुप्रिएपछि रिभर्स रिपोको ब्याजदर पनि घट्यो, १० अर्बका लागि सवा २६ अर्बको आवेदन

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या अझै केही समय कायम रहने देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निष्काशन गरेको एक साता अवधिको रिभर्स रिपोमा करिब साढे दुई गुणा धेरै आवेदन परेपछि अधिक तरलता अझै केही समय रहने देखिएको हो ।

वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहदा राष्ट्र बैंकले एक साता अवधिको लागि निष्कासन गरेको रिभर्स रिपोको रेट समेत घटेको छ । केन्द्रीय बैंकले विहीबार निष्कासन गरेको रिर्भस रिपोको ब्याजदर ३.०१ प्रतिशत कायम भएको छ । बिहीबार निष्काशन भएको रिभर्स रिपोको औसत भारित दर ३.०१०९ कायम भएको छ । यसभन्दा अघिका सोही अवधिका रिभर्स रिपोको रेट ४.३२९० प्रतिशत रहेको थियो।

अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा तल आएपछि नेपाल राष्ट्र बैंकले दोस्रोपटक रिभर्स रिपो जारी गरी बजारबाट तरलता उठाएको छ । अहिले अन्तरबैंक दर चार प्रतिशत हाराहारी छ । बिहीबार केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बरावरको रिभर्स रिपो निष्काशन गरेकोमा ९ बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदन मार्फत २६ अर्ब ३३ करोड रुपैयाँ बरावरको आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोल मार्फत निर्धारण भएको ब्याजदरमा आवेदकले अधिकतम ३.२४०० र न्यूनतम २.७३९९ प्रतिशत माग गरेको थिए ।

रिभर्स रिपोको ब्याजदरमा आएको गिरावटले बैंकहरुमा कर्जाको मागमा गिरावट आएकोे देखिन्छ । रिभर्स रिपोमा परेको आवेदनले भने अधिक तरलता रहेको स्पष्ट हुन्छ । बिहीबार केन्द्रीय बैंकले १० अर्ब खिचेपछि पनि वित्तीय प्रणालीमा ३२ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

रेमिट्यानस आप्रवाहमा देखिएको निरन्तरको सुधार तथा कर्जा प्रवाहको दरमा आएको कमीले वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति आएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत ब्याजदरभन्दा २ प्रतिशत विन्दुले अन्तरबैक ब्याजदर तल माथि हुदा रिपो तथा रिभर्स रिपो मार्फत तरलता बैकिङ प्रणालीमा पठाउने र खिच्ने बताएको थियो ।

नीतिगत ब्याजदर ७ प्रतशत रहेको अवस्थामा अन्तरबैक ब्याजदर ५ प्रतिशतभन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्नुपर्नेमा ४ प्रतिशतबाट पनि तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता खिचेको हो।

रिभर्स रिपो जारी हँदा बैंकहरुले प्रतिस्पर्धात्मक ब्याज दरमा केन्द्रीय बैंकलाई रकम उपलब्ध गराउँछन् । केन्द्रीय बैंकले सस्तो ब्याज दरलाई प्राथमिकता दिई बैंकहरुबाट रकम लिने गर्दछ । त्यसैले ब्याज दर जति कम कायम भयो, बैंकहरुसँग उति बढी तरलता रहेको मानिन्छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक वित्तीय संस्थाहरुमा कुल निक्षेप ५५ खर्ब ६७ अर्ब भन्दा धेरै रहेको छ । असार ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५६ अर्ब कर्जा लगानी गरेका छन ।

राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरुमा ४९ खर्ब ११ अर्ब तथा अन्य वित्तीय संस्थामा ६ खर्ब ५६ अर्ब निक्षेप रहेको छ भने यस अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९९ अर्ब कर्जा प्रवाह गर्दा अन्य वित्तीय संस्थाले ५ खर्ब ५७ अर्ब कर्जा परिचालन गरेका छन । बैंकहरुमा निक्षेप थपिने तथा कर्जा प्रवाहको दर घट्दा कर्जा निक्षेप अनुपात ८४.०२ प्रतिशतमा झरेको छ ।

बजारमा अधिक तरलता हुँदा ब्याजदरमा अस्वभाविक उतार–चढाव आउने जोखिम हुन्छ । वित्तीय प्रणालीमा देखिएको उच्च तरलताले आगामी दिनमा बैंक वित्तीय संस्थाको ब्याजदर अझै घट्न सक्ने देखिन्छ । तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा राष्ट्र बैंकले उपकरणबाट तरलता समेत प्रवाह गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकहरूले ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटिरहेको छ । बैंकहरूले वैशाख १३ गतेयता ओभरनाइट रिपो र जेठ १७ गतेयता एसएलएफ सुविधा लिएका छैनन् । रेमिट्यान्स आप्रवाहमा सुधारले निक्षेप थपिएको छ भने आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकहरुमा पैसा थुप्रने क्रम बढेको छ । जसले गर्दा ट्रेजरी बिल्स, विकास ऋणपत्र, अन्तरबैंक कारोबारको ब्याजदरहरू लगातार घटिरहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।