खातामा पैसा नहुनेले आईपिओ भर्न नपाउने, सीडीएसको ‘एपीआई पोलिसी’ सेबनमा


सीडीएस एण्ड क्लियरीङले घोराही सिमेन्ट इण्डष्ट्रिजको साधारण सेयर विवादपछि सेयर आवेदन गर्ने हालको व्यवस्थामा सुधार गर्ने भएको छ । सीडीएसले सेयर आवेदन तथा प्रमाणीकरण पनि अटोमेशनमा आधारित बनाउन लागेको हो ।

अहिले आस्वा सदस्य बैंकहरुले मेरो सेयरबाट आएका तथा आस्वा प्रणालीबाट आएका आवेदन म्यानुअल्ली भेरिफाई गरेपछि मात्र प्रणालीमा प्रविष्ट हुने गरेको छ । अर्कातिर बैंक खातामा रकम जम्मा नभई आवेदकले प्राथमिक निष्काशन तथा हकप्रद लगायतका सेयरमा आवेदन गर्ने गरेका छन् ।

म्यानुअल रुपमा आवेदन प्रमाणीकरण सम्भव नहुने भन्दै केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले स्वचालित प्रणालीबाट सेयर आवेदन गर्ने प्रणालीलाई अन्तिम रुप दिएको छ । मेरो सेयरको प्रणालीलाई आस्वा सदस्य बैंक वित्तीय संस्थाको प्रणालीमा एपिआईका माध्यमबाट सिधै पहुँच स्थापित गरी सेयर आवेदन गर्न मिल्ने व्यवस्था गर्न लागेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपालेले बताए । म्यानुअल कामले बजार विकास नहुने भएकाले स्वचालित प्रणाली कार्यान्वायनमा ल्याउन लागेको उनको भनाई छ ।

“यो प्रणाली सञ्चालनमा ल्याउनका लागि हामीले पोलिसी नै बनाएर स्वीकृतिका लागि धितोपत्र बोर्डमा लगेका छौं,” सिडिएससी प्रवक्ता न्यौपानेले भने, “एपिआई पोलिसी स्वीकृत भएपछि अहिलेको सेयर आवेदन प्रणाली स्वचालित हुन्छ ।”

अहिले आस्वा सदस्य बैंकका कर्मचारीले आवेदकको बैंक खातामा पर्याप्त रकम जम्मा भए नभएको हेरेर आवेदन सदर तथा बदर गर्ने गरेका छन् । यसरी लाखौं संख्यामा आउने आवेदनको प्रमाणीकरण बैंक वित्तीय संस्थाले तत्काल गर्न सकिरहेका छैनन् । जसका कारण बदर हुने आवेदन समेतको तथ्यांक सिडिएससीको प्रणालीमा जान्छ । सोही आधारमा सिडिएससीले सबै आवेदनको तथ्यांक आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिरहेको छ । अर्कातिर सेयर बाँडफाँडका लागि कम्तीमा एक साता समय लाग्ने गरेको छ ।

स्वचालित रुपमा सेयर आवेदन प्रमाणीकरण नहुँदा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सेयर आवेदन प्रमाणीकरणका लागि जनशक्तीमा लगानी गर्नु परिरहेको छ । अर्कातिर अहिले घोराही सिमेन्टमा जसरी नै बजारमा चलखेल गर्नेहरुले अस्वभाविक माग उत्पन्न भएको देखाउनका लागि यो प्रणालीको दुरुपयोग गरिरहेका छन् ।

अहिले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सदस्य बैंक वित्तीय संस्थालाई आवेदन प्रमाणीकरण गर्न निश्चित समय तोकिएको छैन । जसका कारण बैंकहरुले आफ्नो अनुकुलतामा जनशक्ति परिचालन गरेर म्यानुअल रुपमा आवेदनहरु प्रमाणीकरण गर्ने गरेका छन् । यसका लागि ४ दिनसम्मको समय खर्च भईरहेको छ ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यो विकल्पमा जाँदा प्रणाली आधुनिक हुनेभन्दा झन् धेरै दवाबमा जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ । लाखौंको संख्यामा आउने सेयर आवेदनलाई आस्वा सदस्य बैंक वित्तीय संस्थाका कर्मचारीले तत्काल प्रमाणीकरण गर्न असम्भव हुने भएकाले यो विकल्प सुन्दा ठीक लागे पनि व्यवहारिक रुपमा सम्भव नहुने उनको तर्क छ ।

एक मर्चेण्ट बैंकरका अनुसार अहिले सेयर निष्काशन बन्द भएको ४ दिनसम्ममा मात्र प्रमाणीकरण भएको तथ्यांक तयार हुने गरेको छ । सेयर निष्काशन भइरहेको अवस्थामा हरेक दिन साँझ ५ बजे धितोपत्र बोर्डलाई कुल आवेदनको जानकारी गराउने व्यवस्था छ । आवेदन परेको दिनको विबरण सोही दिन बैंक वित्तीय संस्थाले प्रमाणीकरण गर्न नसकेका कारण कुल आवेदकको तथ्यांक बुझाउने अभ्यास भईरहेको उनले नोटबजारलाई बताए ।

सेयर निष्काशन बन्द हुँदा अघिल्ला दिनको समेत तथ्यांक प्रमाणीकरण भईनसक्ने र निष्काशन बन्द भएको बढीमा ४ दिनसम्ममा आस्वा सदस्य बैंकहरुबाट प्रमाणीकरणको तथ्यांक आउने गरेको उनको अनुभव छ ।

अर्का मर्चेण्ट बैंकरले भने बैंक वित्तीय संस्थाले आवेदन परेको दिनको तथ्यांक सोही दिन भेरिफाइ नगर्दा समस्या बढ्दै गएको बताए । “निष्काशन बन्द भएपछि मात्र प्रमाणीकरण गर्न सुरु गर्ने बैंकले सोही दिन किन प्रमाणीकरण नगरेको ? धेरै पटक त हामीले फोन गरेर भेरिफाईका लागि आग्रह गर्नुपरिरहेको छ,” उनले भने ।

निष्काशन बन्द भएको ४ दिन लगत्तै बिक्री प्रबन्धकले प्रि अलटमेण्टको जानकारी धितोपत्र बोर्डलाई गराउने गरेका छन् । त्यसको ३ देखि ४ दिनमा सेयर बाँडफाँड गर्ने र बाँडफाँडको एक दिन अघि सूचनाबाट सेयर बाँडफाँडको जानकारी दिने गरेका छन् । यो चरणमा आउँदासम्म सदर र बदर भएका आवेदनको विबरण सर्वसाधारणले थाहा पाउने गरेर अलग गरिएको हुँदैन ।

खातामा पैसा नभए सेयर भर्न नपाईने

सीडीएसका प्रबक्ता न्यौपानेका अनुसार स्वचालित प्रणालीमा अहिलेको जस्तो उधारोमा सेयर आवेदन गर्न सकिँदैन । “जसरी दोस्रो बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबार प्रणालीले सेयर बिक्री गर्ने बेलामा उसँग सेयर छ कि छैन भनेर जाँच्छ, त्यसरी नै आईपिओ भर्दा मेरो सेयरको प्रणालीले एपिआईका माध्यमबाट सम्बन्धित लगानीकर्ताको बैक खातामा पैसा छ कि छैन यकिन गरेर मात्र आवेदन सदर गर्छ भने पैसा नभएकाको आवेदन स्वीकृत गर्दैन,” न्यौपानेले भने । उनका अनुसार केही समय अघि यस्तो व्यवस्था कार्यान्वायनमा ल्याउनका लागि धितोपत्र बोर्डमा ‘एपिआई पोलिसी’ को मस्यौदा बुझाईसकिएको छ ।

धितोपत्र बोर्डले भने प्राविधिक विषय भएकाले यो पोलिसीलाई अझै अध्ययनका लागि विभिन्न विभागहरुमा पठाएको छ । बोर्डका एक उच्च अधिकारीका अनुसार सिडिएससीले पठाएको पोलिसीका सम्बन्धमा सिडिएससीसँग केही चरणको छलफल समेत भईसकेको छ । “सिडिएससीले आधा दर्जन फिचर सहितको पोलिसीको ड्राफ्ट ल्याएको थियो । केही चरणको छलफल पछि अहिले कानुन विभागमा पठाइएको छ । सम्भवत आगामी साता पोलिसी बोर्ड सञ्चालक समितिमा पेश हुन्छ,” ति अधिकारीले भने ।

बोर्डले आगामी साता पोलिसी स्वीकृत गरेको खण्डमा त्यसको केही समय पछि यो प्रणाली कार्यान्वायनमा आउनेछ । बैंकहरुबाट एपिआई लिने वा मेरोसेयरको एपिआई बैंकहरुलाई दिने र सोको इन्टिग्रेशन गरी छिट्टै स्वचालित रुपमा सेयर आवेदन सुरु हुनेछ ।

यो व्यवस्था सुरु भएपछि रियलटाइममा नै सेयर आवेदन प्रमाणीकरण हुने भएकाले भोलिपल्ट नै वा केही दिनमा सेयर बाँडफाँड गर्न सकिन्छ । अर्कातिर आस्वा सदस्य बैंक वित्तीय संस्थाले आवेदन प्रमाणीकरणका लागि थप जनशक्तिको व्यवस्था गर्नु पर्दैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।