कोशी प्रदेशका उद्योगहरुको क्षमता उपयोग ९ प्रतिशत विन्दुले घट्यो, सीडी रेसियो १५२ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोशी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ८.९ प्रतिशत विन्दुले घटेको छ । कच्चा पदार्थ आपूर्तीमा असहजता, आर्थिक क्रियाकलापमा आएको संकुचन र खुल्ला सीमानाले गर्दा चोरी पैठारी भई आउने विदेशी वस्तुका कारण मागमा कमी आएकाले उद्योगहरुको उपयोग क्षमता घटेको हो।

त्यसैगरी सो अवधिमा कोसी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा गिरावट आएको भएपनि कर्जा लगानी भने बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको निक्षेप ०.७ प्रतिशतले घटेको छ भने कर्जा लगानी २ प्रतिशतले बढेको हो ।

२०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ०.७ प्रतिशतले कमी आई ३ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । तर, २०७८ पुस मसान्तको तुलनामा कुल निक्षेपको वृद्धिदर ३.७ प्रतिशत रहेको छ । पछिल्लो समय निक्षेपमा दिने व्याजदर, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिन्छ ।

२०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २.० प्रतिशतले वृद्धि भई ५ खर्ब ५६ अर्ब पुगेको छ । २०७९ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.४ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २३.० प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६६.६ प्रतिशत रहेको केन्द्रीय बेंकले जनाएको छ । २०७९ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) १५२.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात १५५.२ प्रतिशत रहेको थियो ।

यस प्रदेशमा २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा निक्षेपकर्ताको संख्या ४.७ प्रतिशतले वृद्धि भई ६३ लाख २८ हजार पुगेको छ भने ऋणीहरुको संख्या ५.६ प्रतिशतले कमि भई २ लाख ९१ हजार पुगेको छ । आ.व. २०७९/८० को मौद्रिक नीति तथा त्रैमासिक तथा अर्ध–वार्षिक अवधिमा भएका संशोधनमार्फत अनुत्पादक र विलासिताका क्षेत्रमा प्रवाहित हुने कर्जा प्रवाहमा कडाई गरिएकाले ऋणीहरुको संख्यामा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

२०७८ पुस मसान्तमा निक्षेपकर्ताको संख्या ५४ लाख ९५ हजार र ऋणीहरुको संख्या २ लाख ७५ हजार रहेको थियो । २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म विपन्न वर्ग कर्जा ४.१ प्रतिशतले कमि भई ४५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा यस प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ४०.६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४८.९ प्रतिशत रहेको थियो ।

सो अवधिमा विशेषगरी ईटा, वनस्पति घिउ तथा तेल, पशुदाना, सिमेन्ट, कच्चा छाला, सिन्थेटिक कपडा, प्लाष्टिकका सामान, फलामे छड आदि उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा कमी आएकाले उद्योगहरुको औसत क्षमता उपयोगमा समेत कमी आएको देखिन्छ ।

ईटा, सिमेन्ट र फलामे छड उत्पादन गर्ने उद्योगले घरजग्गा कारोबारमा आएको संकुचनका कारण मागमा आएको कमीले गर्दा उत्पादन कम भएको जनाएका छन् भने वनस्पति घिउ, भटमासको तेल, कच्चा छाला आदि उत्पादकले विदेशबाट ती सामानको मागमा कमी भएकोले सोही अनुसार उत्पादन घटाएको जनाएका छन् । कच्चा पद्धार्थ आपूर्तीमा असहजता, आर्थिक क्रियाकलापमा आएको संकुचन र खुल्ला सीमानाले गर्दा चोरी पैठारी भई आउने विदेशी पशुदानाको कारण बजार मागमा आएको कमी जस्ता कारणले पशुदानाको उत्पादन घटेको पाइएको छ ।

२०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा कोशी प्रदेशमा प्रवाहित कुल औद्योगिक कर्जा ५.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब पुगेको छ । गत आवको सोही अवधिमा उक्त कर्जा १ खर्ब २१ अर्ब रहेको थियो । विशेषगरी २०७९ असार मसान्तसम्म न्यून रहेको विद्युत, ग्याँस तथा पानी उत्पादन गर्ने उद्योग र धातु, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाह भएको कर्जा बढेको हुँदा समग्र औद्योगिक कर्जा बढेको देखिन्छ ।

२०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा विद्युत, ग्याँस तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाहित कर्जा सबैभन्दा उच्च दरले वृद्धि भएको छ र यसको अंश कुल औद्योगिक लगानीको २.३ प्रतिशत रहेको छ भने खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा कम दरले वृद्धि भएको छ ।

चालु आवको पहिलो ६ महिनासम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा रजिष्ट्रेसन संख्या ५५.६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ५.९ प्रतिशतले बढेको थियो । आ.व. २०७९/८० को पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा घरजग्गा रजिष्ट्रेसन वापतको राजस्वमा ५५.० प्रतिशतले ह्रास आई १ अर्ब ३ करोड राजस्व परिचालन भएको छ ।

गत आवको सोही अवधिमा यस्तो राजस्व ४०.२ प्रतिशतले वृद्धि भई २ अर्ब २८ करोड राजस्व परिचालन भएको थियो । चालु आवको पुससम्ममा घर÷भवन नक्सा पास संख्या १०.३ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या १३.१ प्रतिशतले घटेको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण अनुसार चालु आर्थिक वर्ष २०७९/८० कोमुलुकको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ हुने अनुमान छ । जसमध्ये बागमती प्रदेशको सबैभन्दा बढी ३६.८ प्रतिशत योगदान रहँदा कोशी प्रदेशको योगदान १५.८ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ।

चालु आवमा देशको कृषि क्षेत्र, औद्योगिक क्षेत्र र सेवा क्षेत्रको कुल उत्पादनमा यस प्रदेशको क्षेत्रगत हिस्सा क्रमशः २१.७ प्रतिशत, १९.८ प्रतिशत र १२.६ प्रतिशत रहने अनुमान गरिएको छ । गत वर्ष कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादनमा यस प्रदेशको हिस्सा क्रमशः २१.८ प्रतिशत, १९.६ प्रतिशत र १२.६ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।