३६ घन्टासम्म रुसमा लागेको त्यो वाग्नर ग्रुपको कालो बादल !

0
Shares

आफूले नै स्थापना गर्न सहयोग गरेको समूह र आफ्नो नजिकको मानेको मान्छेले आफू नै विरुद्ध हमला गर्दा कस्तो हुन्छ, त्यो अनुभव हाल रुसी राष्ट्रपति भलादिमिर पुटिनले गरेका छन् ।

भलादिमिर पुटिनका पूर्व सेफ युवगिनी प्रिगोजीनको नेतृत्वमा वाग्नर ग्रुपले जुन २४ मा रुसको रोस्टोभ–अन–डन सहरमा कब्जा गरी क्रेम्लीनमा हमला गर्ने धम्की दिएका थियो । रुस–युक्रेन युद्ध रुसी जनताका लागि नभई, युक्रेनमा डिनाजीफाइ तथा डिमिलिटराइज गर्नका लागि नभई एक पागल नेताले आफ्नो शक्ति देखाउन र मर्ने समयमा आफ्नो इच्छा पूरा गरेर मर्न गरेको काम बताउँदै प्रिगोजीनले भिडियो सार्वजनिक गरेका थिए ।

भिडियो सार्वजनिक भएको केही समयमा नै वाग्नर ग्रुपले रोस्टोभ–अन–डन सहरमा कब्जा गर्दै आफूहरुले मोस्कोमा हमला गर्ने बताएका थिए । २५० किलोमिटरको दूरीमा रही वागनर ग्रुपका सेना मोस्को तर्फ अगाडि बढ्दै गर्दा रुसमा हुने गृहयुद्ध रोक्नका लागि बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले पुटिन र प्रिगोजीनबीच मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए । जसपश्चात वागनर ग्रुपले रुस छाडेर बेलारुस प्रस्थान भएको छ ।

के हो वागनर ग्रुप ?

वाग्नर ग्रुप निजी क्षेत्रबाट सञ्चालित एक निजी मिलिटरी कम्पनी हो । सन् २०१४ मा रुसी आर्मी अफिसर डिमिट्री उट्कीन र युवगिनी प्रिगोजीनले वाग्नर ग्ुपको स्थापना गरेका थिए । उक्त ग्रुपको स्थापनामा रुसी राष्ट्रपति भलादिमिर पुटिनको विशेष सहयोग रहेको सर्वविदितै छ । सन् २०१४ मा रुसले युक्रेनमा आक्रमण गरी क्रिमिया सहर हत्याउँदा वाग्नर ग्ुपले रुसको पक्षमा युक्रेन विरुद्ध युद्ध गरेको थियो । सो समयमा प्रिगोजीन वाग्नर ग्रुपमा सामेल छन् भन्ने तथ्य पुटिन र डिमिट्री लगायतका केही मानिसहरुलाई बाहेक अरुलाई थाहा थिएन । तथापि सन् २०२२को फेब्रुअरी महिनामा रुसले युक्रेनमा हमला गरेपछि प्रिगोजीनले रुसको उक्त कदमको निन्दा गर्दै आएका थिए ।

विभिन्न समयमा रुसी सुरक्षा संयन्त्र र रुसी सेनाको शक्तिमाथि प्रश्न गर्दै आएका प्रिगोजीन पुटिनका निकट मानिस हुन् । पुटिनको हेड सेफ रहिरहँदा नै उनलाई पुटिनले धेरै शक्ति दिएका थिए । जसकारण सन् १९९०को दशकमा सेन्ट पिटर्सबर्गमा हट डग बेच्ने प्रिगोजीन विश्वकै नम्बर एक निजी मिलिटरी कम्पनीका संस्थापक बनेका थिए ।

हाल रुसबाहेक वाग्नर ग्रुप लिबिया, सुडान, सिरिया, भेनेजुवाला, मडाग्सकर लगायतका अन्य आठ देशहरुमा सक्रिय रहेको छ । सन् २०१४ मा वाग्नर ग्रुपलाई कन्सल्टिङ कम्पनीका रुपमा स्थापना गरेता पनि यस ग्रुपले सैन्य तथा सुरक्षा सेवा प्रदान गर्दै आएको छ ।

अन्तराष्ट्रिय सम्बन्ध विशलेषकहरुले वाग्नर ग्रुपलाई बिजनेस मोडलका रुपमा पनि हेर्दै आएका छन् । वाग्नर ग्रुपले रानजीतिक अस्थिरता, निरंकुश शासन व्यवस्था भएका तर प्राकृतिक रुपमा धनी राष्ट्रहरुमा मात्रै आफ्नो सुरक्षा संयन्त्र विस्तार गर्दै आएको छ । भेनेजुवाला, म्याडाग्सकर लगायतका देशहरु पेट्रोलियम पदार्थ, सुन तथा हिरा खानीका लागि प्रसिद्ध रहेका छन् । यसरी वागनर ग्रुपले ती देशहरुमा आफ्नो सुरक्षा संयन्त्र बढाइ ती देशमा भएका खनिज पदार्थको उत्खन्न गरी प्रयोग गर्ने गरिरहेको छ ।

स्थापनाको समयदेखि नै वाग्नर ग्रुप विवादित बन्दै आएता पनि पुटिनको भरपुर सहयोग प्राप्त गरेकाले वाग्नर ग्रुप के हो, यसले के काम गर्छ र कहाँबाट र कसरी सञ्चालित छ भन्ने स्पष्ट भएको थिएन । तथापि जुन २४ मा वाग्नर ग्रुपले रुसमा विद्रोह गर्दै हमला गरेपछि सारा विश्वको केन्द्रविन्दुमा हाल वाग्नर ग्रुप रहेको छ ।
वाग्नर ग्रुपले हमला गर्ने निर्देशन पछि पुटिनले सीमावर्ती क्षेत्रमा युक्रेन विरुद्ध युद्ध गरिरहेका सेनाहरुलाई मोस्को बोलाएका थिए । पुटिनको यो कदमलाई विश्लेषकहरुले उनी डराएको संज्ञा दिएका छन् । मंगलबार रुसी टेलिभिजनमा बोल्दै पुटिनले आफ्नो मातृभूमि जोगाउनका लागि योगदान गर्ने सम्पूर्ण रुसी नागरिकलाई धन्यवाद ज्ञापन गर्दै कुनै पनि हालतमा रुसमा गृहयुद्ध हुन नदिने जनाएका छन् ।

वाग्नर ग्रुपको यो हमला सन् १९९९ यताकै ठूलो हमला मानिएको छ । जसकारण रुसको सुरक्षा संयन्त्र र पुटिनको नेतृत्वमाथि नै प्रश्न खडा गरेको छ ।

३६ घन्टापछिको त्यो सम्झौता

युक्रेनसँग युद्ध गरिरहेको रुसमा वाग्नर ग्रुपले हमला गर्छ भन्ने न त पुटिनले नै सोचेका थिए न त विश्वका अरु नेताहरुले । रुसमा गृहयुद्धको सम्भावना बढ्दै गर्दा रुस विरुद्ध एकीकृत भई लागिरहेका पश्चिमा राष्ट्रहरुलाई रुसको कमजोर पक्ष थाहा भएको छ । पश्चिमा राष्ट्रहरुले लगाएका प्रतिबन्धहरुको तटस्थ रुपमा सामना गर्दै आएको रुसले वाग्नर ग्रुपले राखेका सर्तहरु पूरा गरेको छ ।

बेलारुसका राष्ट्रपति एलेक्जेनडर लुकासेन्कोले मध्यस्तकर्ताको भूमिका निभाउँदै वाग्नर ग्रुपका सर्तहरु पुटिन सामु राखेका थिए । वाग्नर ग्रुपले वाग्नरका सैनिकहरुलाई बेलारुस फर्किन दिने, प्रिगोजीनमाथि लागेका सबै मुद्दाहरु माफ गर्दै उनलाई बेलारुस फर्किन दिने र रुसबाट वाग्नर ग्रुपमा आवद्ध हुन चाहने मानिसहरुलाई गिरफ्तार नगर्ने सर्तहरु पुटिनका सामु राखेको थियो । उक्त सर्तहरु अनुसरण गर्दै पुटिनले वागनर ग्रुपलाई बेलारुस फर्किने माहोलको सिर्जना गरेका छन् । वाग्नर ग्रुप र पुटिनबीचको यो सम्झौताले रुसमा हालका लागि गृहयुद्ध टारेको छ तर भविष्यमा के हुनेछ । यकीन गर्न सकिने माहोल छैन ।

वाग्नर ग्रुपको भविष्य

रुसी राष्ट्रपति भलादिमिर पुटिन विश्वका कुटिल नेताहरु मध्येको एक हुन् । उनले वाग्नर ग्रुपका सर्त सहर्ष स्वीकार गर्नु आफैमा उनको स्वभावको विरुद्ध हो । तथापि उनले रुसी जनताको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै गृहयुद्ध रोक्नका लागि वाग्नर ग्रुपका सर्त स्वीकार गरेको बताएका छन् ।
विश्वव्यापी रुपमा हाल प्रिगोजीन कति सुरक्षित छन् र वाग्नर ग्रुपको भविष्य आमागी समयमा कस्तो हुन्छ भन्नेमा केन्द्रीत रहेको छ ।

पुटिनकै संरक्षणमा मौलाइरहेको संस्थाले आगामी समयमा के गर्नेछ भन्ने प्रश्नमै हाल रुसको युद्ध रोकिएको छ । हमलाका विषयमा बोल्दै प्रिगोजीनले यो सैन्य कु नभई न्यायका लागि उठाइएको आवाज बताएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।