दर्जन बढी केवलकारमा खर्ब लगानी, एउटामै ५० अर्बसम्म

0
Shares

नेपालमा सञ्चालनमा आएका सुरुवातका केवलकार कम्पनीहरुले लगानीकर्तालाई यथोचित प्रतिफल प्रदान गरेपछि यस क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा देखिएको छ । हालसम्म एक दर्जन बढी केवलकारहरुमा गरिएको लगानी करिब खर्ब रुपैयाँ पुगेको हो ।

पछिल्लो समय देशभरका हिल स्टेसनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ । त्यसैले पूर्वमा ताप्लेजुङको पाथीभरादेखि पश्चिम कैलालीसम्म केबलकार, होटेल, फनपार्क सहितका हिल स्टेसनमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ  ।

नेपाल राष्ट्र बैंकका अनुसार देशभरी १२० किलोमिटर दूरीमा कुल १४ वटा केवलकार छन् । जसमध्ये ५ वटा त सञ्चालनमा नै आइसकेका छन् भने अर्को ६ वटा निर्माणको तयारीमा छन् । एउटा परीक्षणकालीन सञ्चालनमा रहँदा अर्को एक निर्माणाधीन अवस्थामा छ । यी सबै केवलकार र रिसोर्टमा गरी कुल ९५ अर्ब ३ करोड लगानी रहने छ । ती सबैमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी गरेका छन् ।

कुल १४ केवलकारमध्ये सबैभन्दा धेरै लगानी पोखरा–मुक्तिनाथ केवलकारमा गरिने भएको हो । ८६ किलोमिटर दूरीमा निर्माण हुने उक्त आयोजनामा ५० अर्ब लगानी गरिने छ । आयोजनाले प्रमुख पर्यटकीयस्थल कास्कीको पोखरादेखि पर्वत–म्याग्दी जिल्ला हुँदै प्रख्यात धार्मिक स्थल मुस्ताङ्गको मुक्तिनाथ मन्दिरसम्म जोड्ने छ ।

यस्तै ८ अर्ब लगानीमा कास्की मादी गाउँपालिकामा सिकलेस केवलकार, ५ अर्ब लागतमा तनहुँको छिम्केश्वरीमा छिम्केश्वरी केवलकार र ५ अर्ब नै लगानीमा कैलालीको लम्किचुहा र मोहन्याल जोड्ने गरी जालपादेवी केवलकार निर्माण हुने भएको छ । यस्तै काठमाण्डौंको चाल्नाखेलदेखि चम्पादेवी मन्दिर जोड्ने गरी ६ अर्ब लगानीमा चम्पादेवी केवलकार निर्माणको तयारीमा छ । पूर्वको प्रसिद्ध मन्दिर पाथीभरा जोड्ने गरी ताप्लेजुङमा ३ अर्ब लागतमा पाथिभरा केवलकार निर्माण हुने भएको छ ।

यी केवलकारहरुबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै आर्थिक गतिविधि चलायमान बनाउन र नयाँ रोजगारी सिर्जना गर्न सहयोग मिल्ने छ । केवलकार सञ्चालन हुने ठाउँमा रिसोर्ट पनि निर्माण हुने हुँदा सडक, बिजुली, खानेपानी लगायतका पूर्वाधारको समेत विकास हुनेछ ।
यस्तै हाल पाल्पाको नुवाकोटदेखि बुटबल जोड्ने १.९४ किलोमिटर दूरीमा १ अर्बको लगानीमा सिद्धार्थ केवलकार निर्माण हुँदैछ । यस्तै ३ अर्ब लगानीमा डुम्रेदेखि बन्दीपुर जोड्ने गरी बन्दीपुर केवलकार पनि परीक्षणकालीन सञ्चालनमा रहेको छ ।  कुल १४ केवलकार मध्ये हालसम्म ६ वटा केवलकार सञ्चालनमा आइसकेका छन् । सवैभन्दा अगाडि सञ्चालनमा आएको मनकामना केवलकारको अलवा, कालिञ्चोक केवलकार, अन्नपूर्ण केवलकार, मौलाकालीका केवलकार र लुम्बिनी केवलकार सञ्चालनमा रहेको छ ।

पछिल्लो समय दुई अर्बमा निर्माण भएको नवलपुरको गैंडाकोटदेखि मौलाकालिका जोड्ने मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आएको छ । यस्तै कुल पाँच अर्ब लगानीमा बुटबल–पाल्पा–वसन्तपुर जोड्ने लुम्बिनी केवलकार २०८० जेठ २५ बाट सञ्चालनमा आएको हो । यस्तै पोखराको फेवातालदेखि सराङकोट जोड्ने गरी २.४ किलोमिटरको दूरीमा २ अर्ब लागतमा निर्माण भएको अन्नपूर्ण केवलकार विसं २०७८ फागुनदेखि सञ्चालनमा आएको छ । सञ्चालक बालकृष्ण शिवाकोटी सहितको लगानीमा दोलखाको कुरीदेखि कालिञ्चोक जोड्ने गरी कालिञ्चोक केवलकार विसं २०७५ कार्तिकदेखि सञ्चालनमा रहेको छ । यस्तै काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर मन्दिरमा थानकोटबाट चन्द्रागिरी जोड्ने गरी २०७३ सालदेखि चन्द्रागिरि केवलकार सञ्चालित छ ।

नेपालको सबैभन्दा पुरानो मनकामना केवलकार विस. २०५५ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । व्यवसायी राजुबाबु श्रेष्ठको लगानीमा उक्त केबलकार सफल रुपमा सञ्चालनमा आएपछि नेपालमा केवलकारमा लगानी बढ्दै गएको पाइन्छ । कुल १४ केवलकार मध्ये आइएमई ग्रुपको लगानी मात्रै चन्द्रागिरि, मौलाकालिका र लुम्बिनी केवलकार गरी तीनवटा सञ्चालनमा आइसकेको छ । आईएमई ग्रुपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको मुख्य लगानी रहेको छ । मनकामना केबलकार सञ्चालनमा आएको १८ वर्षपछि चन्द्रागिरिमा दोस्रो केबलकार चलेको थियो ।

सञ्चालनमा आएका केवलकारहरुमध्ये चन्द्रागिरी केवलकार लिमिटेड र कालिञ्चोक केवलकार लिमिटेड नेपाल स्टक एक्सेञ्च (नेप्से) मा सूचीकृत छन् । सूचीकृत दुबै कम्पनीको धितोपत्रको दोस्रो बजारभाउ प्रतिकित्ता १ हजार रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।