अधिक तरलता भएपछि अन्तिम त्रैमासमा पाँचौं पटक रिभर्स रिपो, मंगलबार फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पाँचौं पटक रिभर्स रिपो जारी गरेको छ । यसअघि चार पटक तरलता खिचेको राष्ट्र बैंकले अन्तिम त्रैमासमा मात्रै रिभर्स रिपोबाट तरलता प्रशोचन गरेको छ ।

केन्द्रीय बैंकले मंगलबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । तरलता व्यवस्थापनका लागि १४ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गरेको हो । रिर्भस रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ ।

यसअघि राष्ट्र बैंकले असार १९ गते २० अर्ब, असार १० गते २० अर्ब रुपैयाँ र असार ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो । यसअघि २०७९ चैत १० गते पनि ५ अर्बको रिभर्स रिपो जारी गरिएको थियो । राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा राखेको भए पनि अन्तरबैंक निकै तल झरेको छ । नेपाल राष्ट्र बैंकले दर नीतिगत दरभन्दा अन्तरबैंक रद २ प्रतिशतभन्दा तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने गर्दछ ।

अघिक तरलता हुँदा केन्द्रीय बैंकलाई ब्याजदर करिडोर अनुसार ब्याजदर कायम गर्न गाह्रो परेको छ । केन्द्रीय बैंकका अनुसार असार २४ गते आइतबार अन्तरबैंक ब्याजदर १.३६ प्रतिशतमा रहेको छ । चालु आर्थिक वर्ष सकिन लाग्दा बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जाको माग नहुँदा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ ।

अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएपछि ट्रेजरी विल्सको ब्याजदर दुई वर्ष यताकै न्यून बिन्दुमा झरेको छ । यस्तै विकास ऋणपत्रको ब्याजदर पनि डेढ वर्ष यताकै न्यून विन्दुमा छ । निक्षेप बढेसँगै असार २४ गते आइतबार बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८२.०३ प्रतिशतमा झरेको छ । यस अवधिमा प्रणालीमा कुल निक्षेप ५७ खर्ब १५ अर्ब र कुल कर्जा लगानी ४८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ । 

बैंकिङ प्रणालीमा एकैदिन २५ अर्ब रुपैयाँसम्म निक्षेप थपिन थालेपछि बढेको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनौती थपिएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायाण प्रसाद पोखरेलका अनुसार सोमबारसम्म बैंकिङ्ग प्रणालीमा ८८ अर्ब ५४ करोड रुपैयाँ अधिक तरलता छ । तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पाँचौं पटक रिभर्स रिपो जारी गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।