चालु आवको अन्तिम महिनामा बैंकहरुमा १४६ अर्ब निक्षेप थप, कर्जा लगानी क्षमता ५ खर्ब


चालु आर्थिक वर्षको असार महिनामा मात्रै बैंकिङ प्रणालीमा १४६ अर्ब निक्षेप थपिएको छ । सरकारले आर्थिक वर्षको अन्त्यमा भुक्तानी बढाउँदा बैंकिङ प्रणालीको निक्षेप बढेको हो ।

सरकारले हरेक आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदा सरकारी खाताको भूक्तानी रोक्छ । सोही अनुसार सरकारले चालु आर्थिक वर्षमा पनि असार २४ गतेसम्म भूक्तानी गर्यो । असार सुरु भएदेखि सरकारी भूक्तानी हुँदासम्म बैंकिङ क्षेत्रमा निक्षेप बढेसँगै कर्जा लगानी क्षमता विस्तार भएको छ भने अल्पकालिन ब्याजहरु पनि न्यून विन्दुमा आइपुगेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । यो निक्षेप यही असार १ गतेको तुलनामा १४६ अर्बले धेरै हो । यो अवधिमा वाणिज्य बैंकहरुमा १३८ अर्ब निक्षेप थपिएको छ । असार १ गते वाणिज्य बैंकहरुमा ४९ खर्ब १२ अर्ब निक्षेप रहेकोमा असार २४ गते ५० खर्ब ५० अर्ब पुगेको हो ।

असार महिनामा सरकारी निकासा अत्यधिक भएसँगै वित्तीय प्रणालीमा तरलता बढेको छ । बैंक वित्तीय संस्थामा निक्षेप बढेसँगै कर्जा लगानी गर्ने क्षमतामा समेत सुधार आएको छ । केन्द्रीय बैंकका अनुसार हाल बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ८२.०३ प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकका अनुसार यस्तो अनुपात ९० प्रतिशत सम्म जान सकिन्छ । यो अन्तरलाई हेर्दा पनि बैंक वित्तीय संस्थाहरुले अहिले ४ खर्ब ७२ अर्ब कर्जा लगानी गर्न सक्ने अवस्था देखिन्छ ।

तर, बैंक वित्तीय संस्थाको ४ खर्ब ७२ अर्ब कर्जा लगानी गर्ने क्षमता असार अन्तिमदेखि भने घट्ने छ । स्थानीय निकायको बैंक वित्तीय संस्थामा रहेको सञ्चितिलाई यही असार मसान्तसम्म ८० प्रतिशतसम्म निक्षेप गणना गर्न दिएको छ । उक्त व्यवस्थाको अवधि थप नगरेको खण्डमा कर्जा लगानी क्षमतामा कमी आउनेछ ।

बैंकहरुमा निक्षेप बढेसँगै अन्तर बैंक दर घटेर १.३६ प्रतिशतमा झरेको छ । त्यसैगरी ट्रेजरी बिल्सको डिसकाउन्ट रेट पनि २ वर्ष यताकै न्यून भइ ३ प्रतिशतको हाराहारीमा आइपुगेको छ । यसले गर्दा आगामी आर्थिक वर्षको सुरुवात देखि नै बैंकहरुको कर्जा निक्षेपको ब्याजदर थप घट्ने निश्चित छ । ब्याजदरका कारण कर्जाको माग समेत बढ्ने अपेक्षा बैंकहरुको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको असार २४ गतेसम्ममा बैंकिङ प्रणालीमा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । चालु आर्थिक वर्षको सुरुवाती अर्थात २०७९ साल साउन १ गते ५१ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन थियो । यो रकम बढेर असार २४ गतेसम्म आइपुग्दा ६७ खर्ब १५ अर्ब पुगेको हो ।

चालु आर्थिक वर्षको यो अवधिमा बैंक वित्तीय संस्थाले १४८ अर्ब रुपैयाँ मात्र कुल कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको सुरुवातीमा बैंक वित्तीय संस्थाको कुल कर्जा ४७ खर्ब १३ अर्ब रुपैयाँ थियो । चालु आवको असार २४ गतेसम्ममा कुल कर्जा लगानी एक खर्ब ४८ अर्बले बढेर ४८ खर्ब ६१ अर्ब पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।