बजार घट्दा सामुहिक लगानी कोष र डिबेञ्चरतिर मोडिए लगानीकर्ता


चालु आर्थिक वर्षको अन्तिम कारोबार दिनमा लगानीकर्ता सूचीकृत कम्पनीको सेयर छोडेर सामुहिक लगानी कोष तथा डिबेञ्चरतिर मोडिएका छन् । बिहीबार बजार दोहोरो अंकले ओरालो लाग्दा सूचीकृत धितोपत्रको नभई सामुहिक लगानी कोष र डिबेञ्चरको मूल्य बढेको हो ।

केही दिनको अन्तरालमा दोहोरो अंकको उतारचढाव झेलिरहेको बजार बिहीबार १२.६२ अंकको गिरावटसँगै २०८४.९३ अंकमा अडिएको छ । बुधबार २५ अंकले बढेको थियो । यस आधारमा बजार २१०० विन्दुको नजिक टिकी रहेको छ ।

बजार आरोलो लागेको भए पनि कारोबार रकम भने बढ्दो अवस्थामा छ । बुधबार ३ अर्ब १८ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार ३ अर्ब ३९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस दौरान २९६ कम्पनीका ९३ लाख ८२ हजार ४४० कित्ता सेयरहरु ५७ हजार ६४५ पटक किनबेच भएका छन् ।

बैंकिङ प्रणालीमा तरलता बढ्दै जानु, आर्थिक वर्षको समाप्तिसँगै सूचीकृत कम्पनीहरुको लाभांश प्रक्षेपण लगायत कारणले बजार क्रमिक रुपमा उकालो लागिरहेको छ । गिरावट कम र वृद्धि धेरै हुँदा समग्रमा बजार परिसुचक उकालो लागिरहेको हो । यद्यपी कम्पनीहरुको लाभांश क्षमतामा वगत वर्षको तुलनामा आएको कमी, अल्पकालीन रुपमा देखिएको तरलता जस्ता कारणले लगानीकर्ताको मनोबल बलियो हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा लगानीकर्ताहरु विभिन्न उपसमुहमा चरणबद्ध रुपमा आफ्नो लगानी सिफ्ट गरिरहेका छन् । यस अघि बीमा, वित्त, जलविद्युत, होटल जस्ता उपसमुहमा धेरै केन्द्रित भएका लगानीकर्ता बिहीबार सामुहिक लगानी कोष तथा ऋणपत्रतर्फ मोडिएका हुन् । आर्थिक वर्षको अन्त्यसँगै यस्ता उपकरणको प्रतिफल पाउने आशमा लगानीकर्ता यता लागेका हुन् ।

बुधबार १० प्रतिशत एनएमबि डिबेञ्चर २०८५ को मूल्य १० प्रतिशतले बढेको छ । बजार आरालो लाग्दा १०.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०८३ र एनआईबिएल समृद्धि फण्ड २ का इकाईको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । सिटिजन्स म्युचुअल फण्ड १, सानिमा ग्रेथ फण्ड, एनआईबिएल ग्रोथ फण्ड, सिभिल बैंक डिबेञ्चर २०८८ र गरिमा डिबेञ्चर २०८५ को मूल्य ७ प्रतिशतले बढेको छ ।

बिहीबार धेरैजसो जलविद्युत कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ । पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घटेको बजारमा हिमालयन पावर पार्टनर, बुद्धभूमी नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, रिडी पावर, मोदी इनर्जी, स्वेत गंगा हाइड्रोपावर, ग्रीन भेञ्चर्स, सप्तकोशी डेभलपमेण्ट बैंक र लक्ष्मी इक्वीटी फण्डको मूल्य धेरै घटेको छ ।

बिहीबार बजारमा शिवम् सिमेन्ट्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ भने सोल्टी होटल, हिमालयन लाइफ र नेपाल टेलिकम क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । कारोबारमा आएको सेयर संख्याका आधारमा सोल्टी होटल पहिलो स्थानमा रहेको बजारमा शिवम् सिमेन्टस् दोस्रो र हिमालयन लाइफ तेस्रो स्थानमा छन् । कारोबार संख्याका आधारमा मोदी इनर्जी पहिलो स्थानमा रहेको बजारमा सिवम् सिमेन्टस् दोस्रो र हिमालयन लाइफ तेस्रो स्थानमा छन् ।

बजार खुलेको ४४ मिनेटमा बढेर २१२२ अंकसम्म पुगेकोमा क्रमिक रुपमा ओरालो लागेको थियो । बजार बन्द हुँदा ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स, कारोबारयोग्य सेयरको मापन गर्ने सूचक फ्लोट इण्डेक्स लगायतका सूचक पनि ओरालो लागेका छन् ।

बैंकिङ उपसमुह उकालो लागेको बजारमा होटल र सामुहिक लगानी कोष उपसमुह मात्र उकालो लागेका छन् भने अरु सबै उपसमुह ओरालो लागेका छन् । जीवन बीमा र निर्जीवन बीमा समुहमा भारी गिरावट आएको बजारमा विकास बैंक, जलविद्युत, व्यापार समुहमा पनि धेरै गिरावट आएको छ ।

बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा सामान्य गिरावट आएको छ । बुधबार ३० खर्ब ८३ अर्ब १९ करोड ४० लाख ८१ हजार रुपैयाँ रहेको पुँजीकरण बिहीबार ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।