चौबिस बैंक तथा वित्तीय संस्थाले मात्र गरे आस्वा सदस्यता नवीकरण, २५ संस्थाबाट आईपीओ भर्न नपाइने

0
Shares

चालु आर्थिक वर्ष २०८०-८१ का लागि २४ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै आस्वा सदस्यता नवीकरण गराएका छन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार हालसम्म ४९ संस्थाले बोर्डबाट आस्वा सदस्यता लिएको भएपनि चालु आवका लागि २५ संस्थाले आस्वा सदस्यता नवीकरण नगराएका हुन् ।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका २४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आव २०८०–८१ को लागि धितोपत्रको निष्कासन हुदाँको बखत लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अनुमतिपत्र नविकरण गरिएको बोर्डले जनाएको छ ।

नवीकरण नगराएका २५ संस्थाहरुमा खाता रहेका लगानीकर्ताहरुले ती संस्थाले सदस्यता नवीकरण शुल्क नतिर्दासम्म सार्वजनिक निष्कासन ( आईपीओ) भर्न पाउने छैनन् । बोर्डका अनुसार असार ३१ गते आइतबारसम्म १४ वाणिज्य बैंक, ५ विकास बैंक र ५ फाइनान्स कम्पनी गरी कुल २४ वटा बैंक तथा वित्तीय संस्थाले मात्र आस्वा सदस्यता नवीकरण गराएका छन् ।

आस्वा सदस्यता नवीकरण गराएका वाणिज्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक रहेका छन् ।

यी हुन् असार मसान्तभित्र आश्वा नवीकरण नगर्ने २५ बैंक तथा वित्तीय संस्था

यसैगरी विकास बैंकहरुमा गरिमा विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् । यस्तै आइसिएफसि फाइनान्स, रिलायन्स फाइनान्स, प्रोगेशिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीले पनि आस्वा सदस्यता नवीकरण गराएका छन् ।

आस्वा सदस्यता नवीकरण नगराएसँगै सदस्यात लिएर नवीकरण नगर्ने २५ संस्थाबाट भने लगानीकर्ताहरूले आईपीओ लगायतका अन्य सार्वजनिक निष्कासनमा आवेदन दिन पाउने छैनन् ।

सार्वजनिक निष्कासनमा लगानीकर्ताको दरखास्त संकलन र सो सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त हुनभन्दा १ महिना अघि नै नेपाल धितोपत्र बोर्डमा नवीकरणको लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।