चीन-पाकिस्तान आर्थिक करिडोर सफल एवम् परिवर्तनकारी परियोजना

0
Shares

चीन-पाकिस्तान आर्थिक करिडोर (सिपेक) आफ्नो देशको लागि सबैभन्दा सफल र परिवर्तनकारी परियोजना साबित भएको उल्लेख गर्दै एक जना उच्च पाकिस्तानी अधिकारीले त्यसबाट क्षेत्रीय सम्पर्क विस्तारका साथै आर्थिक समृद्धिको नयाँ युगको सुरुवात भएको बताएका छन् ।

इस्लामावाद नीति अनुसन्धान संस्थानद्वारा ‘चीन–पाकिस्तान आर्थिक करिडोरः क्षेत्रीय सम्पर्क सञ्जालका लागि प्रवेशद्वार’ विषयमा आयोजित कार्यशालामा पाकिस्तानका योजना विकासमन्त्री अहसान इकबालले सिपेकका कारण देशमा परिवर्तनकारी प्रभाव परेको बताए। उनले परियोजना सुरु भएको तीन वर्षमा पाकिस्तानमा सर्वाधिक प्रत्यक्ष विदेशी लगानी चीनबाट प्राप्त भएको बताए ।

अर्बौं डलरको परियोजना कार्यान्वयन गरेर चीन पाकिस्तानको प्रमुख आर्थिक साझेदार बनेको मन्त्री इकबालले बताए । सिपेकलाई पाकिस्तानका निम्ति कायापलट गर्ने परियोजनाका रूपमा व्याख्या गर्दै उनले परियोजनाबाट ऊर्जा अभाव हटाउन तथा सडक र रेल पूर्वाधार स्थापनामा मद्दत पुगेको बताए ।

विशेष गरी दक्षिणपश्चिम ग्वादर जिल्लामा सामाजिक–आर्थिक विकासलाई बढावा दिन विशेष आर्थिक क्षेत्र (सेज) र सामाजिक कल्याण परियोजनाहरू पनि कार्यान्वयन भएका जानकारी दिँदै मन्त्री इकबालले यापार वृद्धि गर्न सेजको भूमिका महत्वपूर्ण हुने बताए । चीनले सिपेक परियोजनाअन्तर्गत आर्थिक क्षेत्रको सफल कार्यान्वयनमा मद्दत गर्न तथा प्राविधिक ज्ञान एवम् विशेषज्ञता प्रदान गर्दै पाकिस्तानको निर्यात बढाउन सघाएको उनले उल्लेख गरे ।

“पाकिस्तानले आफ्नो निर्यात बढाउन र सेजको सफल कार्यान्वयनमा चिनियाँ सहयोग चाहेको छ,” योजना विकासमन्त्रीले भने । उनले सिपेकको दोस्रो चरणमा दुवै देशका व्यापार–व्यवसायबीचको सहयोगमा जोड दिँदै सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने स्पष्ट गरे । उनले सिपेकअन्तर्गत अब औद्योगिक सहयोगतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

पाकिस्तानको दिगो आर्थिक वृद्धिका लागि निर्यातमूलक वस्तु र निर्यातमुखी नीति अपरिहार्य भएको बताउँदै त्यसनिम्ति मौजुदा उत्पादन पर्याप्त नहुने भएकाले विभिन्न वस्तुहरूको अतिरिक्त उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।