बैंक/वित्तीय संस्थाले खराब कर्जा घटाउन साढे ५ गुणाले बढाए ‘लोन राइट अफ’

0
Shares

बैंक तथा वित्तीय संस्थाले खराब कर्जा कम देखाउन ‘लोन राइट अफ’ (कर्जा अपलेखन)लाई प्राथमिकता दिएका छन् । आन्तरिक तथा बाह्य कारणले आर्थतन्त्रमा सुस्तता आएसंगै बैंक वित्तीय संस्थाको खराब कर्जा बढेपछि कम गराउन लोन राइट अफलाई तिब्रता दिएका हुन ।

चालु आर्थिक वर्षको जेठ महिनासम्ममा मात्रै बैंक वित्तीय संस्थाले २ अर्ब २४ करोड ६० लाख रुपैयाँ बरावरको लोन राइट अफ गरेका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ५ गुणाले धेरै हो । गत आर्थिक वर्षको जेठसम्ममा बैंक वित्तीय संस्थाले ४० करोड ५० लाख रुपैयाँ बरावरको कर्जा अपलेखन गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले लोन राइट अफ गर्नु भन्दा अघि शतप्रतिशत जोखिम व्यवस्था गरेको हुनु पर्छ । त्यसपछि बैंक वित्तीय संस्थाले कर्जा असुलीका सम्पुर्ण प्रक्रिया पुरा गरेपछि मात्र राइट अफ गर्न पाउँछन । यसरी कर्जाको राइट अफ गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको अधिनमा रही कर्जा अपलेखन विनियमावली अनुसार गर्नु पर्नेछ ।

राष्ट्र बैंकको एकिकृत निर्देशन २०७९ अनुसार कर्जा अपलेखन गर्नका लागि बैंक वित्तीय संस्थाले १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरेको हुनु पर्छ । कर्जा असुलीको लागि प्रचलित ऐन तथा नीति बमोजिम धितो सुरक्षणको लिलाम बिक्रीको प्रक्रिया सम्पन्न गरेको हुनुपर्छ त्यसैगरी कर्जाको धितो सुरक्षण लिलाम बिक्री हुन नसकेको अवस्थामा अनिवार्य रुपमा धितो सकार गरेको हुनुपर्ने । त्यसैगरी खराब कर्जाले भाखा नाघेको मितिले ५ वर्ष भन्दा धेरै समय वितेको हुनु पर्छ ।

बैंक/वित्तीय संस्थाले लोन राइट अफ गरेर असुल उपर गर्नुपर्ने कुनै कर्जाको बक्यौता रकमलाई त्यस कर्जाको लागि व्यवस्था गरिएको कर्जा नोक्सानी व्यवस्था रकम खर्च गर्ने गरी वा कर्जा नोक्सानी व्यवस्था नभएकोमा वा नपुग भएकोमा नाफा/नोक्सान हिसाबमा खर्च लेखी हिसाव मिलान गरी आफनो लेखाबाट पूर्ण वा आंशिक रुपमा कटाउने कार्य हो । लोन राइट अफ गर्ने नियमित प्रक्रिया रहको बैंकिङ विज्ञ विएन घर्तीले बताए ।

“बैंकहरुले नियमित प्रक्रिया अन्तर्गत लोन राइट अफ गरेको भएपनि पछिल्लो समयमा बढेको आकारले खराब कर्जा कम गर्न खोजेको देखिन्छ,” घर्तीले भने,“पछिल्लो समयमा कोरोना, आर्थिक मन्दी लगायतका समस्याले खराब कर्जा बढेको अवस्था छ, नियामकले तोकेको खराब कर्जाको सीमा ५ प्रतिशत भन्दा कम राख्नका लागि लोन राइट अफलाई बढवा दिइएको हुनसक्छ ।”

चालु आर्थिक वर्षको जेठसम्ममा वाणिज्य बैंकहरुले मात्र २ अर्ब १० करोड ८० लाख रुपैयाँ बरावरको कर्जा अपलेखन गरेका छन। गत आवको सोही अवधिमा बैंकहरुले ३३ करोड ४० लाख रुपैयाँ बरावरको कर्जा अपलेखन गरेका थिए । त्यसैगरी विकास बैंकहरुले चालु आवको जेठसम्ममा १० करोड ३० लाख रुपैयाँ बरावरको कर्जा अपलेन गरेका छन।

गत आवको सोही अवधिमा विकास बैंकहरुले कुल ३ करोड ३० लाख रुपैयाँ बरावरको कर्जा अपलेखन गरेका थिए । चालु आवको जेठसम्ममा फाइनान्स कम्पनीहरुले कुल ३ करोड ५० लाख रुपैयाँ बरावरको कर्जा अपलेखन गरेका छन् । फाइनान्स कम्पनीले गत आवको सोही अवधिसम्ममा कुल ३ करोड ८० लाख रुपैयाँ बरावरको कर्जा अपलेखन गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले कर्जाको राइट अफ गर्दा खराब कर्जाको अंश घट्ने तथा सम्बन्धित कर्जालागि गरिएको प्रोभिजनीङ समेत फिर्ता हुन्छ । बैंक तथा वित्तीय संस्थाले नाफाबाट जोखिम व्यवस्था गरेका हुन्छन । उक्त जोखिम व्यवस्था बापतको रकम फिर्ता हुँदा सिधै नाफामा जोडिन्छ । त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाको नाफा बढेको देखिएको हुन सक्छ ।

चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद ७३ अर्ब ८० करोड ६० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ करोड रुपैयाँले धेरै हो । गत आवको सोही अवधिमा बैंक वित्तीय संस्थाको कुल खुद नाफा ७३ अर्ब ६७ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षमा बैंकहरुले कर्जा लगानी ३ प्रतिशतले मात्र विस्तार गरेको अवस्था छ । त्यसका साथै बढ्दो ब्याजदरका कारण कर्जाको माग समेत बढ्न सकेन । समग्र अर्थतन्त्र नै मन्दीमा गएको अवस्थामा पनि बैंकहरु नाफमा बढाउन सफल भएका छन् ।

चालु आर्थिक वर्षको जेठसम्ममा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरुको खुद नाफा ६६ अर्ब ७ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी विकास बैंकहरुको खुद नाफ ५ अर्ब ११ करोड रुपैयाँ रहेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा थोरै हो । गत आवमा विकास बैंकहरुको कुल खुद नाफा ६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । चालु आवको जेठसम्ममा फाइनान्स कम्पनीहरुले एक अर्ब ४६ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब १५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

बैंक वित्तीय संस्थाले चालु आवको जेठ महिनामा मात्रै ११ अर्ब १९ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेका छन । यो एक महिनामा बैंक वित्तीय संस्थाले १६ करोड ३० लाख रुपैयाँले जोखिम व्यवस्था बापतको रकम थप गरेका छ । जेठसम्मको कुल जोखिम व्यवस्था बापतको रकम ५३ अर्ब ७८ करोड पुगेको छ ।

वाण्ज्यि बैंकहरुले जेठ महिनामा मात्रै १० अर्ब ६९ लाख खुद नाफा गरेका छन् । विकास बैंकहरुको एक महिनाको खुद नाफा ५१ करोड रुपैयाँ रहेको छ । त्यसैगरी फाइनान्स कम्पनीहरुको जेठ महिनाको नाफा १८ करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।