आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असारमा मात्रै बैंकहरुमा एक खर्ब ७१ अर्ब निक्षेप थपिएको छ । सरकारी खर्च असार महिनामा धेरै हुने भएकाले उक्त महिनामा बैंकहरुको निक्षेप पनि अन्य महिना भन्दा धेरै हुने गरेको हो ।
पछिल्ला ८ वर्षमा बैंकहरुमा भएको निक्षेपको तथ्याङक हेर्दा गत आर्थिक वर्षको असारमा थपिएको निक्षेप तेस्रो धेरै हो । यसभन्दा अघि कोरोना महामारीको सुरुवात भएको आर्थिक वर्ष २०७६/०७७ मा भने २११ अर्ब निक्षेप थपिएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा २१० अर्ब निक्षेप थपिएको थियो । यी दुबै आर्थिक वर्षमा कोरोना महामारीका कारण सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको तथा सबै क्षेत्रको पैसा बैंकमा नै गएपछि निक्षेप धेरै भएको थियो ।
सरकारले आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृतिले असार महिनामा बैंकहरुमा सबैभन्दा धेरै निक्षेप थपिने गरेको स्पष्ट छ । आर्थिक वर्ष २०७२/०७३ मा वाणिज्य बैंकहरुमा १३८ अर्ब निक्षेप थपिएको थियो भने २०७३/०७४ मा १२३ अर्ब थप भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा १०१, २०७५/०७६ मा ११९, २०७६/०७७ मा २११, २०७७/०७८ मा २१०, २०७८/०७९ मा १४१ र २०७९/०८० मा १७२ अर्ब निक्षेप थपिएको हो ।
तर, नयाँ आर्थिक वर्ष सुरु भएसंगै बैंकहरुबाट निक्षेप बाहिरीन थालेको छ । चालु आर्थिक वर्षको पहिलो दिन नै बैंकहरुबाट २२ अर्ब निक्षेप घटेको छ । त्यसैगरी दोस्रो दिन करिब एक खर्ब घटेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुका निक्षेप घट्न थालेपछि अन्तर बैंक दर समेत बढ्न थालेको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएसंगै सरकार तथा केन्द्रीय बैंकले निक्षेप गणनामा दिदै आएको सहुलियतको अवधि समाप्त भएको छ । त्यसले गर्दा पनि बैंकहरुको निक्षेप घटेको हो । सरकारले बैंकहरुमा रहेको स्थानिय तहको सञ्चित पैसालाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सक्ने सुविधा दिएको थियो । सरकारले तरलता अभावलाइ सहज होस भन्दै गत असार मसान्तसम्ममा दिएको यस्तो सुविधा चालु आर्थिक वर्षका सुरु भएसंगै सकिएको छ ।
साथै सरकारले चालु आवका लागि त्यो सुविधालाई निरन्तरता दिएन । त्यसले गर्दा बैंकहरुबाट करिब एक खर्ब निक्षेप बाहिरीएको अवस्था छ । त्यसैगरी बैंकहरुले ऋणपत्र जारी गरी संकलन गरेको पैसालाई पनि निक्षेपमा गणना गर्न दिने व्यवस्था गत असार मसान्तदेखि सकिएको छ । त्यसले पनि बैंकिङ क्षेत्रको केही निक्षेप घटाएको छ । केन्द्रीय बैंकले बैंकहरुलाइ २०७८ भदौ भन्दा अघि जारी भएका ऋणपत्रलाई २०८० असारसम्ममा निक्षेपमा गणना गर्न पाइने व्यवस्था गरेको थियो ।
बैंकहरुमा स्रोत व्यवस्थापनका लागि दिइएका दुबै सुविधा चालु आर्थिक वर्षका लागि निरन्तरता भएका छैनन । त्यसले गर्दा बैंकहरुमा देखिएको निक्षेपमा कमी आउने क्रम साउन १ गते सोमबार देखि नै सुरु भएको छ । सोमबार बैंकहरुबाट २२ अर्ब निक्षेप घटेको केन्द्रीय बैंकले जनाएको छ । सोही अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात पनि बढ्न थालेको छ । हाल बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८१.९१ प्रतिशत रहेको छ । त्यसैगरी अन्तर बैंक दर एक प्रतिशत भन्दा तल भएपनि असार अन्तिमको तुलनामा बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया