नीतिगत र निक्षेप बोलकबोल दर घट्यो, निजी क्षेत्रको कर्जा विस्तार ११.५ प्रतिशत

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिले नीतिगत दर ०.५ प्रतिशत विन्दुले घटाएको छ भने निक्षेप संकलनको बोलकबोल दर एक प्रतिशत विन्दुले घटाएको छ । केन्द्रीय बैंकले कर्जाको माग बढाउने उद्देश्य स्वरुप नीतिगत दरहरुलाई घटाएको हो ।

केन्द्रीय बैंकले आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ७ प्रतिशत बाट घटाई ६.५ प्रतिशत कायम गरेको छ । त्यसैगरी मौद्र्रिक नीतिले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको हो ।

भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने व्यवस्था समेत मौद्रिक नीतिले गरेको छ । बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत रहेको राखेको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलव्ध गराउने व्यवस्था गर्ने समेत मौद्रिक नीतिमा उल्लेख छ । तर, केन्द्रीय बैंकले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता रहेको नीतिमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण केन्द्रीय बैंकको रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।