भारतबाट ५१ करोडको कोदो आयात


नेपालको हिमालीबाहेक मधेस र पहाडी जिल्लामा अत्यधिक उत्पादन हुने कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्यवस्तु अपत्यारिलो मात्रामा भारतबाट आयात हुने गरेको पाइएको छ ।

आव २०७९\८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताए ।

उनका अनुसार गत एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार रुपैयाँ बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा ३१ करोड ९८ लाख आठ हजार रुपैयाँ बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट उक्त नाका हुँदै आयात भएको ठाकुरले जानकारी दिए ।

पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजार रुपैयाँ बराबरको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार रुपैयाँ बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, दुई करोड ७१ लाख ५२ हजार रुपैयाँ बराबरको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, चार करोड ९८ लाख आठ हजार रुपैयाँ बराबरको तीन हजार एक सय १३ मेट्रिक टन लौका, तीन करोड १० लाख आठ हजार रुपैयाँ बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र तीन करोड ४० लाख ९६ हजार रुपैयाँ बराबरको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ । पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् ।

तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९\८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार रुपैयाँ मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ ।

भारतबाट मधेसदेखि हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा ४४ लाख ८० हजार रुपैयाँ बराबरको एक सय १२ मेट्रिक टन फापर, छ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र ३४ लाख रुपैयाँको पानको पात भारतबाट आयात भएको छ ।

खाद्यान्नमा चामल र फलफूलमा तरबुजाको आयात उच्च मात्रामा भइरहेको छ । कार्यालयका अनुसार सोही अवधिमा १७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको चार हजार तीन सय २८ मेट्रिक टन चामल र १७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा भारतबाट आयात भएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट विगत एक वर्षमा जम्मा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको थियो । जसमा तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार रुपैयाँको फलफूल आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाले गुनासो गरेका छन् । उनका अनुसार संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको बताए ।

इलाम नगरपालिकावडा नं १२ की तुलसा रायाले यही वर्ष बारीमा फलेका करिब एक ट्रक फर्सी नबिकेपछि गाईवस्तुलाई खोले खुवाएको बताए । “बारीमा फलेका फर्सी, इस्कुस, बिहीजस्ता तरकारी बिक्री हुँदैनन्”, रायाले भने, “त्यसै कुहिएर खेर जान दिनुभन्दा गाईवस्तुलाई खुवाउनु राम्रो हुन्छ जस्तो लाग्यो ।” रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।