सिटिजन्स बैंकको नाफा साढे १०% ले बढ्दा पनि २२% ले घट्यो वितरण योग्य मुनाफा

0
Shares

सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १० प्रतिशतले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा बढेपनि वितरण योग्य नाफामा भने २२ प्रतिशतको गिरावट आएको छ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। यसअवधिमा बैंकको वितरण योग्य १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यस्तो मुनाफा १ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ थियो ।

बैंकको संचालन आम्दानी, ब्याज आम्दानी तथा फि तथा कमिशन आम्दानी बढ्दा नाफामा सुधार आएपनि खराब कर्जा बढ्दा जोखिम व्यवस्थापन खर्च बढेको छ । जसले बैंकको वितरण योग्य नाफामा गिरावट आयो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ। जोखिम व्यवस्थापनको रकम पनि ५५ करोडबाट बढेर ७३ करोड पुगेको छ । यस शिर्षकमा बैंकले अघिल्लो आवको भन्दा १८ करोड बढी रकम छुट्याएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.८९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशत र सञ्चालन मुनाफा १३.४२ प्रतिशत बढेको छ।

बैंकको निक्षेप साढे १० प्रतिशतले बढ्दा कर्जा करिब ७ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसको कर्जा निक्षेप अनुपात ८२.४ प्रतिशत छ ।

चुक्तापुँजी यथावत रहेको कम्पनीको नाफा सामान्य बढ्दा प्रतिसेयर आम्दानी पनि झिनो रुपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा १४ रुपैयाँ १२ पैसा रहेको बैंकको यस्तो आम्दानी अहिले १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ। असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ। जगेडाकोष साढे १४ प्रतिशतले सुधार भएको हो ।

बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ। बैंकको आधार दर १०.५१ तथा स्प्रेडदर ४ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ८.३४ प्रतिशत छ । बैंकको आधारदर र कस्ट अफ फण्ड बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।