निजी क्षेत्रको कर्जा विस्तारको लक्ष्य ९ बैंकको भरमा, पुँजीकोष बढ्दा ११ बैंकले कर्जा दिन नसक्ने

0
Shares

चालु आर्थिक वर्षका लागि केन्द्रीय बैंकले राखेको निजी क्षेत्र तर्फ प्रबाह हुने कर्जाको लक्ष्य पुरा गर्ने जिम्मा ९ वाणिज्य बैंकको काधमा आएको छ । केन्द्रीय बैंकले ‘काउन्टर साइक्लिकल बफर’को व्यवस्था गरेर पुँजीको अनुपात बढाएपछि बाँकी बैंकहरुले कर्जा लगानी गर्न नसक्ने अवस्था बनेको हो ।

राष्ट्र बैंकका अनुसार प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । चालु आर्थिक वर्षदेखि पुनः सुचारु भएको काउन्टर साइक्लिकल बफरले प्राथमिक पुँजी कोष (टियर वान क्यापिटल) अनुपात ९ प्रतिशत पुग्नेछ । बैंकहरुको प्राथमिक पुँजी कोष अनुपातले थेग्नेसम्मको मात्र जोखिम लिन सक्छन । सो पुँजीकोषको सीमाभन्दा माथि हुने गरी कर्जा लगानी गर्न पाउदैनन् ।

केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरुलाई पुँजीकोष व्यवस्था गरेको छ । साथै उक्त पुँजीकोषमा काउन्टर साइक्लिकल बफर पनि थप गरेको हो । केन्द्रीय बैंकले २०७६ साल साउन देखि लागु गरेको २ प्रतिशत काउन्टर साइक्लीकल बफर क्यापिटलको व्यवस्था कोरोना अवधिका कारण स्थगित गरेको थियो ।

क्यापिटल एडिक्वसी फ्रेमवर्क २०१५ अनुसार राष्ट्रिय स्तरका विकास बैंकले पनि पुँजीको अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको हो । सो अनुसार राष्ट्रिय स्तरका विकास बैंकले पनि ११ प्रतिशत पुँजी कोष अनुपात कायमा गर्नुपर्ने भएको छ । त्यसमा पनि प्राथमिक पुँजी कोष अर्थात टियर १ क्यापिटल ८.५ प्रतिशत कायम गर्नुपर्छ । यसअघि विकास बैंकहरुको टियर वान क्यापिटल ६ प्रतिशत कायम गरे पुग्थ्यो भने पुँजी कोष अनुपात १० प्रतिशत भन्दा कम हुनु नहुने व्यवस्था थियो । साथै विकास बैंकहरुले पनि काउन्टर साइक्लिकल बफरको व्यवस्था गर्नुपर्ने भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले राष्ट्रियस्तरका विकास बैंकलाई पनि क्यापिटल एडिक्वसी फ्रेमवर्क २०१५ लागु गर्ने व्यवस्था ग्रयो । सोही अनुसार केन्द्रीय बैंकले विकास बैंकलाई पनि पुँजी कोष अनुपात ११ प्रतिशत कायम गरेको छ । काउन्टर साइक्लिकल बफर समेत जोड्दा डियर १ क्यापिटल अनुपात ९ प्रतिशत पुगने भएको छ।

केन्द्रीय बैंकले काउन्टर साइक्लिकल बफर कुल ग्राहस्थ उत्पादन र निजी क्षेत्रमा प्रबाह भएको कर्जाको अन्तरका आधारमा निर्धारण हुन्छ। पछिल्लो पाच वर्षको कर्जा र कुल ग्राहस्थ उत्पादनको अनुपातलाई पछिल्लो अनुपातबाट घटाइन्छ । यसरी आएको सकारात्मक योग ५ प्रतिशत भन्दा धेरैले बढेको खण्डमा ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफरको व्यवस्था गर्नुपर्छ । त्यसपछि हरेक २.५ प्रतिशतको वृद्धिमा ०.५ प्रतिशत विन्दुका दरले थप गर्दे कुल २.५ प्रतिशतसम्म बफरको व्यवस्था गर्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा बैंकहरुले अधिकतम ०.५ प्रीतशत विन्दुले काउन्टर साइक्लिकल बफर थप गर्नुपर्छ । चालु आर्थिक वर्षका लागि अधिकतम ०५ प्रतिशत विन्दुले पुँजी कोष बढाउनु पर्ने हुनसक्ने केन्द्रीय बैंकका एक अधिकारीले बताए । “गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङक आइनसकेको हुनाले एकिन गर्न सकिएन,” ती अधिकारीले भने,“प्राप्त कच्चा तथ्याङकका आधारमा ०.५ प्रतिशत थप गर्नुपर्ने देखिन्छ ।” यो व्यवस्थाले बैंक वित्तीय संस्थाहरुलाई कर्जा लगानी गर्न थप दबाब दिने अवस्था नरहने उनको तर्क छ । काउन्टर साइक्लिकल बफर पछि कर्जा लगानी बढाउन दबाब पर्ने बैंकहरु अहिले पनि दबाबमा रहेको उनको भनाइ छ ।

तर, पुर्व बैंकर भुवन कुमार दाहालले भने कर्जा जोखिम ब्यवस्था नै १.३ प्रतिशत गरेको हुनाले काउन्टर साइक्लिकल बफरको व्यवस्था गर्न आवश्यक नरहेको बताए । “वित्तीय प्रणालीको जोखिम न्यूनीकरण गर्नका लागि कर्जा जोखिम ब्यवस्था बढाएपछि थप यो व्यवस्था गर्न आवश्यक थिएन,” दाहाले भने,“यसमा केन्द्रीय बैंकले विचार गर्नुपर्ने कुरा हो ।”

चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्र तर्फको कर्जा प्रवाहको वृद्धिदर ११.५ प्रतिशतको लक्ष्य लिएको छ । सो अनुसार बैंकहरुले ५ खर्ब ६२ अर्ब कर्जा लगानी गर्नुपर्ने हुन्छ । त्यसका लागि केन्द्रीय बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था थप गरेर बैंकहरुलाई कर्जा विस्तारमा रोक लगाएको छ । त्यसैले पनि चालु आर्थिक वर्षमा अर्को विकल्प नहुँदासम्ममा उक्त कर्जाको लक्ष्य प्राप्तिको जिम्मा ९ बैंकहरुमा सिमित भएको हो । पछिल्लो व्यवस्थाले राष्ट्रिय स्तरका विकास बैंकको कर्जा लगानी क्षतमतामा कमी आउने छ ।

केन्द्रीय बैंकले प्रकाशन गरेको गत आर्थिक वर्षको चैतसम्मको तथ्याङकका आधारमा चालु आवमा ११ वाणिज्य बैंकले कर्जा लगानी बढाउन सक्दैनन् । किनकी ती बैंकहरुको टियर वान क्यापिटल साढे ९ प्रतिशतको हाराहारीमा रहेको छ । नयाँ व्यवस्था अनुसार ०.५ विन्दु काउन्टर साइकिल्कर बफर थप हुँदा ९ प्रतिशत भन्दा माथि पुग्छ । त्यसैले ९ को रेन्जमा टियर वान क्यापिटल रहेका बैंकहरुले कर्जा लगानी अवस्था रहदैन ।

गत चैतका आधारमा प्राथमिक पुँजीको अनुपात १० प्रतिशत भन्दा तल हुने वाणिज्य बैंकहरु करिब एक दर्जन छन । चालु आवमा पुँजीकोष दबाबमा हुने बैंकहरुमा हिमालयन बैंक ९.५८, नेपाल एसविआई बैंक ९.९९, एनआइसी एसिया बैंक ८.८५, माछापुच्छ्रे बैंक ८.७०, कुमारी बैंक ९.०१, लक्ष्मी बैंक ९.२७, सिद्धार्थ बैंक ८.९५, सिटिजन्स बैंक इन्टरनेशनल ९.६७, सनराइ बैंक (हाल लक्षमी बैंकसंग मर्जर भइ लक्ष्मी साराइजको नामबाट कारोबार गरीरहेको) ९.५९, प्रभु बैंक ८.६१ र सानिमा बैंकको प्राथमिक पुँजी कोष अनुपात ९.४४ प्रतिशत रहेको छ । यी मध्यै एनआइसी एसिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक गत आर्थिक वर्ष देखि नै पुँजीकोष दबाबामा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।