सन् २०४७ सम्ममा विकसित राष्ट्रमा स्तरोन्नति हुने भारतको लक्ष्य

0
Shares

भारतीय अर्थमन्त्री- निर्मला सीतारमणले सन् २०४७ सम्ममा भारतलाई विकासशील देशबाट विकसित मुलुकमा स्तरोउन्नति हुनेगरी तयारी गरिरहेको बताएकी छिन् । सीतारमणले पूर्वाधार विकास, लगानी विस्तार, नवीन आविष्कार र समावेशीतामूलक विकासलाई प्राथमिकतामा राखी विकास मोडलको विस्तार गर्ने जानकारी दिएकी हुन्।

आर्थिक वर्ष २०२३/२४ मा भारतले पूर्वाधार विकासका लागि १० लाख करोड भारु विनियोजन गरेको छ । चालु आव अघिका वर्षहरुमा पनि भारतले पूर्वाधार विकासलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्दै आएको छ । यो बजेट मार्फत बाटो, पुल, बन्दरगाह, एयरपोर्ट जस्ता भौतिक पूर्वाधार मात्रै नभई डिजिटल पूर्वाधार विकासमा पनि जोड दिने प्रतिबद्धता भारत सरकारको रहेको छ ।

यस्तै लगानीलाई प्राथमिकता दिँदै सीतारमणले भारतमा क्षमतावान् युवाको जनसङ्ख्या धेरै रहेको र उनीहरुलाई केन्द्रविन्दुमा राखेर सीप प्रदान गर्न सकेमा यसले दीर्घकालीन रुपमा देश विकासमा ठूलो फाइदा पु¥याउने बताएकी छिन् । लगानी विस्तारका लागि सार्वजनिक तथा नीजी वृत्तबाट लगानी भित्राउने र नीजी क्षेत्रलाई लगानी गर्न थप प्रेरणा दिनका लागि आवश्यक नीति निर्माण गर्ने उनको योजना रहेको छ ।

नवीन आविष्कारको नयाँ गन्तव्य बन्दै गएको भारतले आणविक उर्जा, अन्तरिक्ष, हरित उर्जा लगायतका क्षेत्रमा अनुसन्धान बढाइरहेको छ । दक्ष तथा शिक्षित मानवस्रोतलाई भारतमै बस्ने व्यवस्था मिलाएर प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गरी मानिसहरुको जीवन यापन सहज बनाउन सहयोग गर्ने गरी विकास गर्ने योजना उनले बनाएकी छिन् ।

अबको २५ वर्षमा भारतलाई विकसित मुलुकमा स्तरोन्नति गर्नका लागि समावेशी मुलक सहभागिता र विकासमा जोड दिने उनी बताउँछिन् । हाल भारत विश्वव्यापी रुपमा पाँचौ ठूलो अर्थतन्त्र रहेको छ । सन् २०३५ सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र र सन् २०४७ सम्ममा भारत विकासशील देशबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य लिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।