सरकारले ६ महिनाभित्र जनतासँग १ खर्ब १० अर्ब ऋण लिने, साउनमै २२ अर्ब

0
Shares

चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको सरकारले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ। सरकराले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र शिर्षकमा सरकारले जनतासँग ऋण लिँदै आएको छ । सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाइदिने गरेको छ ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार सरकारले चालु आवमा कुल २ खर्ब ४० अर्बमध्ये आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा पहिलो त्रैमास अर्थात असोजमसान्तसम्म ५५ अर्ब रुपैयाँ उठाउने तालिका सार्वजनिक गरेको छ । त्यस्तै दोस्रो त्रैमासमा ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब तथा अन्तिम त्रैमासमा ७७ अर्ब आन्न्तिरक उठाउने भएको छ ।

सरकारले चालु आवमा ५५ अर्बको ट्रेजरी बिल, एक खर्ब ७९ अर्बको विकास ऋणपत्र, ५ अर्बको नागरिक बचतपत्र, एक अर्बको वैदेशिक रोजगार बचतपत्र पनि जारी गर्ने छ । प्रस्तावित आन्तरिक ऋणमा ट्रेजरी बिलको २२.९ प्रतिशत, विकास ऋणपत्रको ७४.६ प्रतिशत, नागरिक बचतपत्रको २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ०.४ हिस्सा रहेको छ।

पुस मसान्तसम्म १ खर्ब १० अर्ब रुपैयाँको ट्रेजरी बिल र विकास ऋणपत्र जारी हुने छ । नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र पुसपछि मात्रै निष्कासन गर्ने तयारीमा केन्द्रीय बैंक रहेको छ ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकले ६ महिनाभित्र एक खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने छ । पहिलो महिना साउनमै ट्रेजरी बिलमार्फत दुई अर्ब र विकास ऋणपत्रमार्फत २० अर्बको आन्तरिक ऋण उठाउने तालिकामा उल्लेख छ । भदौमा दुईपटक गरी २० अर्बको विकास ऋणपत्र जारी गर्ने तयारी राष्ट्र बैंकको छ ।

यस्तै असोजमा ट्रेजरी बिल र विकास ऋणपत्र गरी १३ अर्बको ऋण उठाउने लक्ष्य छ । कात्तिकमा विकास ऋणपत्रमार्फत १० अर्ब र मंसिरमा ट्रेजरी बिल र विकास ऋणपत्र गरी २७ अर्बको ऋण बोलकबोल गर्ने तालिकामा उल्लेख छ । पुसमा १८ अर्बको ट्रेजरी बिल र विकास ऋणपत्र बोलकबोल गर्ने राष्ट्र बैंकको तयारी छ ।

सरकारले आन्तरिक ऋण परिचालनका लागि हाल चार प्रकारका उपकरणहरू परिचालन गर्दै आइरहेको छ । तीमध्ये ट्रेजरी बिल अल्पकालीन ऋणको उपकरण हो भने विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मध्यम र दीर्घकालीन ऋणका उपकरणहरू हुन् ।

ट्रेजरी बिल: ट्रेजरी बिल सरकारले अल्पकालीन अवधिका लागि आन्तरिक ऋण उठाउने पुरानो र मुख्य उपकरण हो । यो बैंक तथा वित्तीय संस्थालाई जारी गरी उठाइन्छ । नेपालमा अहिले ट्रेजरी बिल २८ दिन, ९१ दिन, १ सय ८२ दिन र ३ सय ६४ दिनका लागि जारी गर्ने प्रचलन रहेको छ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित नाफामा आयकर लाग्ने व्यवस्था छ । व्यक्तिले ट्रेजरी बिलको प्रमाणपत्रलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्छ । यो बजारयोग्य उपकरण हो, जसको प्रयोगमार्फत सरकारले आवश्यक अल्पकालीन ऋण उठाउने गर्छ ।

विकास ऋणपत्र: विकास ऋणपत्र सरकारले आन्तरिक ऋण उठाउने दीर्घकालीन उपकरण हो । यो संस्थागत ऋणदाता, वित्तीय संस्थाहरू जस्तै पेन्सन फन्ड, बिमा कम्पनी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण उठाउन प्रयोग गरिन्छ । यो दीर्घकालीन पुँजी उपकरण हो, जुन ५ वर्षदेखि १५ वर्षसम्मको हुन्छ । यसको ब्याजदर कम हुने हुँदा सरकारलाई न्यून लागतमा आन्तरिक ऋण उठाउन सहज हुने देखिन्छ । यसको बोलकबोल अनलाइन प्रणालीमार्फत न्यूनतम ५० हजार रुपैयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा बोलकबोल गर्न सकिन्छ । यसमा गरिएको लगानीबाट आर्जित रकममा आयकर लाग्छ भने यसको प्रमाणपत्र बैंक तथा वित्तीय संस्थाहरूमा धितो राखी ऋण लिन सकिन्छ । यसको प्रतिफल ट्रेजरी बिलको भन्दा बढी हुन्छ र यो द्वितीय बजार नेपाल स्टक एक्सचेन्जमार्फत हुने गर्छ

नागरिक बचतपत्र: नागरिक बचतपत्र आन्तरिक ऋण उठाउन प्रयोग गरिने दीर्घकालीन उपकरण हो । जसको अवधि ५, १० र १२ वर्ष रहेको हुन्छ । अर्थतन्त्रमा छरिएर रहेको स–सानो रकमलाई उचित प्रतिफलसहितको सुरक्षित लगानी गर्ने अवसर नागरिक बचतपत्रले प्रदान गर्छ । यसको अवधि र यसमा पाउने निश्चित ब्याजदर नेपाल सरकारले तोकिएबमोजिम हुन्छ । यसमा कम्तीमा १० हजार र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिन्छ । यसको ब्याज अर्धवार्षिक दिइन्छ भने साँवा तोकिएको समयमा प्रदान गरिन्छ, जुन ऋण लिन धितोका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

वैदेशिक रोजगार बचतपत्र:वैदेशिक रोजगार बचतपत्र नेपालबाट विदेशमा गई रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा स्वदेशी सरकारी बचतपत्रमा लगानी गर्ने मध्यकालीन अवधिको आन्तरिक ऋण संकलन गर्न निष्कासन गरिने उपकरण हो । यो पाँच वर्ष अवधिका लागि निष्कासन गर्ने गरिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।