सरकारले यूवा लक्षित कार्यक्रम ल्याउन नसक्दा रोजगारीका लागि नै हरेक वर्ष देश छाड्ने यूवाहरुको संख्या बढ्दै जान थालेको तथ्याङ्कमा देखिएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ ।
विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९–८० मा वैदेशिक रोजगारीको लागि विदेश पलायन हुने नेपाली यूवाहरुको संख्या २१ प्रतिशतभन्दा बढीले बढेको छ । स्वदेशमा राम्रो रोजगारको अवसर नहुँदा रोजगारको खोजीमा भारत बाहेकका देशमा वार्षिक पौने ८ लाखको संख्यामा विदेशिने गरेका छन् ।
गत आवमा नयाँ र पुनः श्रम स्वीकृति गरी कुल ७ लाख ७१ हजार ३२७ जना नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन् । यो तथ्यांक हालसम्म कै उच्च हाे । यसभन्दा अघि आर्थिक वर्ष २०७१/७२ मा ६ लाख ९३ हजार ३२ जना (नयाँ श्रम स्वीकृति र नवीकरण सहित) श्रमिक रोजगारीका लागि विदेश उडेका थिए । आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएको रेकर्ड रहेकोमा उक्त रेकर्ड गत आर्थिक वर्ष २०७९/८० मा तोडिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने वैदेशिक रोजगारीका लागि ६ लाख ३० हजार बढीले श्रम स्वीकृती लिएका थिए । सोभन्दा अल्घिलो आव ७७/८८ मा भने विश्वब्यापी महामारी कोभिड संक्रमण कारण रोजगारीदरमा आएको संकुचन र विभिन्न देशरुले लगाएको उडान प्रतिबन्धका कारण वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको संख्या ह्वात्तै घटेको देखिन्छ । सो वर्षमा कुल १ लाख ६६ हजार ६९८ जना मात्र वैदेशिक रोजगारीमा गएका थिए ।
आव ७६/७७ मा ३ लाख ६८ हजार ४३३ जना, आव ७५/७६ मा ५ लाख ८ हजार ८२८ जना, आव ७४/७५ मा ६ लाख १२ हजार ६८५ जना, आव ७३/७४ मा ३ लाख ५४ हजार ५३३ जना र ७२/७३ मा ६ लाख ४० हजार ९८१ जनाले श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
वैदेशिक रोजगारीमा जाने एक प्रतिशतभन्दा कम मात्रै दक्ष कामदार
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९–८० मा वैदेशिक रोजगारीको लागि विदेश पलायन हुनेमध्ये एक प्रतिशतभन्दा कम कामदार मात्रै दक्ष रहेका छन् ।
वैदेशिक रोजगारीको लागि देश छाड्नेमध्ये अधिकांश कतार, साउदी अरेविया लगायतका खाडी मुलक जाने गरेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये ५० प्रतिशतभन्दा बढी खाडी मुलक जाने गरेका छन् । यी देशहरुमा गत वार्षमा ४ लाखभन्दा बढी रोजगारीमा पुगेको विभागको तथ्याङ्कमा छ ।
विभागका अनुसार गत आवमा कुल ७ लाख ७१ हजार ३२७ जना वैदेशिक राजेगारीमा गएको थिए । जसमध्ये विज्ञता हासिल गरेका र उच्च दक्ष कामदारको संख्या १ हजार ४१० जना मात्र छ । पूर्णतः अदक्ष कामदारको सङ्ख्या २ लाख २ हजार ६१६ जना अर्थात २६.२७ प्रतिशत छ । सामान्य सीप सिकेका ५ लाख ६ हजार ७४६ जना (६५.७०%) र अर्धदक्ष कामदारको संख्या ६० हजार ५५५ जना (७.८५%) रहेका छन् ।
तीन दशकदेखि नेपाल सरकारले अदक्ष श्रमिक विदेशी श्रम बजारमा आपूर्ति गदै आएको छ । नेपालबाट रोजगारीको खोजीमा विदेशिने अधिकांश युवा अदक्ष नै रहेका छन्। माथिको तथ्याङ्क अनुसार हेर्दा नेपालबाट विदेशिने कामदारमध्ये एक तिहाई हाराहारिमा अदक्ष श्रमिक बाहिरिने गरेका देखिन्छ भने सामान्य सीप सिकेका दुई तिहाई हाराहारीमा छ । दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित वृद्धि गर्न नक्दा सरकारले ठूलो क्षति व्योहिरिरहेको अवस्था छ ।
यूवामा वैदेशिक रोजगारीमा जाने क्रम किन बढ्दैछ ?
पछिल्ला वर्षहरुमा वैदेशिक रोजागारीमा जाने युवाहरु विदेशिने क्रम बढ्ने थालेका छ । हाल दैनिक संस्थागत र व्यक्तिगत गरी दुई हजारभन्दा बढीको हाराहारीमा नेपाली युवा रोजगारीका लागि बाहिरिने गरेका छन् ।
नेपालमा वार्षिक करिब ६ लाख हारहारीमा युवाशाक्ति श्रम बजारमा प्रवेश गर्ने गरेपनि सरकारले ती व्यक्तिलाई प्रयाप्त रोजगारीको अवसर सिर्जना गर्न नसक्दा अधिकांश यूवा रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता छ ।
सरकार स्वदेशमा नै रोजगारी सिर्जना गर्न चुकेको छ भने वैदेशिक रोजगारीमा गएका समकक्षी साथीसंगीहरुको कमाई र जीवनस्तरबाट नयाँ पिँढीमा देशभित्रै रोजगारी पाइने विश्वास कम छ । यहि कारण नेपालमा भविष्यको सम्भावना नदेखिएपछि देश छाड्ने गरेको उनीहरु बताउँछन् ।
राजधानी काठमाण्डौं आएर १५ वर्षदेखि संघर्षरत आयुष पौडेल देशभित्र केही होला कि भनेर डेढ दशक बसेपनि अपेक्षित उपलब्धि हासिल गर्न नसक्दा यूवाहरुको वैदेशिक रोजगारी अन्तिम विकल्प हुने गरेको बताउँछन् ।
देशभित्र रोजगारीका अवसर निर्माणमा राज्य चुक्दा तथा नेपालमा नै बसेर सहज जीवन यापन गर्न सकिन्छ भनेर सरकारले यूवाहरुलाई आश्वस्त पार्न नसक्दा बाध्य भएर विदेशिन हुनु परेको बताउँदै उनी भन्छन्, ‘मेरो पनि पहिला त नेपालमा नै बस्छु भन्ने सोच थियो तर के गर्नु नेपालमा एक महिना काम गरेको पैसाले खानलाउन नै धौँ धौँ पर्ने अवस्था छ । आफ्नो भविष्य र परिवारको बारेमा पनि सोच्नैपर्यो ।’
रोजगारीमा मात्रै होइन नेपालको शिक्षा नीतिमा पनि असन्तुष्ट हुनेको यूवाहरुको संख्या उस्तै छ । नेपालका अधिकांश विश्वविद्यालय समयमा नै शैक्षिक क्यालेन्डर कार्यान्वयनमा चुक्ने गरेको छन् । तीन वर्षे शैक्षिक कार्यक्रम सकिन पाच वर्षभन्दा बढी लाग्ने गरेको छ । यस्तो अवस्थामा विदेश गए आफ्नो पढाइ र मिहेनतको उच्च मूल्यांकन हुने आशा स्नातक अन्तिम वर्षमा अध्ययनरत प्रतिभा थापाको छ । स्नातक गरेपछि विदेश जाने सोच बनाएकी उनले नेपालले आफ्नो मिहेनतको कदर गर्न नसकेको गुनासो गरिन् । ‘न एउटा शिक्षा प्रणाली छ न रोजगारीको व्यवस्था छ, अनि नेपाल भनेर मात्र कसरी बस्ने ? उनले प्रश्न गरिन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विदेशमा रोजगारीको व्यवस्था राम्रो भएकोले युवा युवतीहरु विदेश पलायन हुने गरेको बताउँछन् । शिक्षा र रोजगारीमा नेपालले राम्रो गर्न सके नयाँ पुस्तामा विदेश जाने सोच नआउने उनको बुझाई छ ।
स्वदेशमा रोजगारी नहुँदा बाध्यताकारी बन्दै वैदेशिक रोजगारी
सरकारले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा दैनिक औसत २ हजारभन्दा बढी नेपाली युवाशक्ति विदेश जाने बाध्य हुने गरेको छन् । देशभित्र औद्योगिक वातावरण सिर्जना नगर्न नसक्दा देशले ठूलो मात्रमा रोजगारी सिर्जना गर्न सकेको छैन । स्वदेशको रोजगारीबाट वञ्चित हुँदा धेरै युवा रोजगारीका खोजीमा विदेशिने गरेका हुन् ।
वैदेशिक रोजगार विज्ञहरु सरकार रोजगारीका अवसर निर्माण गर्ने भन्दा राजनीतिक चलखेलमा अल्मलिएको कारण बाध्यताकारी वैदेशिक रोजगारी जाने प्रवृत्ति बढेको बताउँछन् । रोजगारको खोजीमा विदेशिने युवालाई रोक्ने सरकारले अहिलेसम्म नयाँ योजना बनाउन सफल भएको छैन ।
सरकारले बेरोजगार यूवाहरुलाई लक्षित गर्दै प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालनमा ल्याएपनि त्यसले यूवाहरुलाई आकर्षिकत गर्न सकेको छैन । सीमित संख्यामा अल्पकालीन रोजगारी दिने उक्त कार्यक्रमले यूवालाई स्वदेशमा नै रोक्ने अवस्था नरहेको हो ।
जुनसुकै सरकार निर्माण भएपनि श्रम बजारमा युवालाई रोजगारीका अवसर निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेट मार्फत घोषणा गर्न चुक्दैनन् । तर सरकारले घोषणा गरेजस्तो तत्काल वैदेशिक रोजगारीमा जाने क्रमलाई रोकिहाल्ने अवस्था अहिले नरहेको श्रम विज्ञहरूको बताउँछन् ।
आर्थिक वृद्धि हुने उत्पादनशील क्षेत्रमा युवा परिचालन गर्न नसक्दा सरकार मुलुकभित्रै रोजगारी सिर्जनामा चुकेको छ । वैदेशिक रोजगारमा कार्यरत कामदारबाट दश खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिँदै आएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा कार्यरत कामदारबाट गत आर्थिक वर्षको ११ महीनामा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यहि रेमिट्यान्सबाटै नेपालका करिब ५० लाख घरपरिवार लाभान्वित हुने गरेका छन् । यसरी भित्रने रेमिट्यान्स आयतमुखी देशमा बस्तु तथा समान आयतमा नै ठिक्क हुने गरेको छ । यो रकमलाई रोजगारी सिर्जना गर्न सकिने क्षेत्रमा लगानी गर्न सकिएको छैन । सरकारले रेमिट्यान्सलाई बढी महत्व दिने गरेको यस क्षेत्रका सरोकारवालाको आरोप छ । साथै सरकारले रोजगारी र विकास लगायतका विषयमा अग्रिम योजना र ढाँचा निर्माण गरेर रेमिट्यान्सलाई सदुपयोग पनि गर्न सकेको छैन ।
श्रम बजारको आवश्यकता अनुकूल आवश्यक सीप विकास तालिम कार्यक्रम सञ्चालन गर्ने, निर्यातजन्य उद्योगको स्थापनालाई उत्प्रेरित गर्ने, सूचना प्रणालीको माध्यमबाट रोजगारीमा पहुँच सुदृढ गरिने, स्वरोजगार तथा आय–आर्जनका कार्य गर्न स्रोत उपलब्ध गराइने र रोजगारीबाट फर्किएकाका लागि राष्ट्र पुरस्कार र समान दिएर स्वदेशमै उद्यमी बनाउने सरकारी योजना घोषणा भएपनि सो अनुसार कार्यान्वयन हुन नसक्दा सरकारको भनाईमा यूवा विश्वस्त हुन सकेको देखिँदैन ।
देशप्रति वितृष्ण हुँदै हरेक वर्ष वैदेशिक रोजगारीमा जाने यूवाहरुको जमात बढ्दो छ । देशलाई उर्जाशील बनाइराख्ने यूवाहरुको यो किसिमको देश छाडेर पलायन हुनबाट रोक्न देशले समयमा नै योजना, नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न ढिला भैसकेको छ ।
प्रतिक्रिया