झनै सबल र सक्षम बन्दै नेपाल बैंक, साढे ३ अर्ब नाफामा बाँढ्न मिल्ने कति ?

0
Shares

बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको नेपाल बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।

नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६।७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत तथा सञ्चालन मुनाफा २१.१९ प्रतिशत बढेको छ।

यस अविधमा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिसेयर ६ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ।

बैंकले गत असार मसान्तसम्म २ खर्ब ४४ अर्ब ५४ लाख बराबर निक्षेप संकलन गरेको छ । त्यस्तै १ खर्ब ७८ अर्ब ८८ करोड बराबरको कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेको छ भने कर्जा लगानी ४.३२ प्रतिशत बढेको छ। बैंकको कर्जा निक्षेप अनुपात ७४.८४ प्रतिशत छ ।

बैंकको चुक्ता पूँजी हाल १४ अर्ब ६९ करोड ४० लाख बराबर छ । हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ बराबरको रकम छ । कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ ।

बैंकले कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ । युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्वपूर्ण योगदान दिएको छ ।

बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ। बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा बढ्दा जोखिम व्यवस्थापनको रकम बढेको छ । बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट २.८५ प्रतिशत पुगेको छ । बैंकको आधारदर केहि बढेको छ भने स्प्रेडदर घटेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।