सोनापुरको आइपीओ भर्नु अघि जान्नै पर्ने तथ्य, अधिकांश रकम ऋण तिर्न खर्चिने


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको ४० प्रतिशत अर्थात् कुल१ करोड २३ लाख २ सय कित्तासेयर मध्ये १५ लाख ३७ हजार ५२५ कित्ता उद्योग प्रभावित क्षेत्र र १० लाख७६ हजार २६८ कित्ता वैदेशिक रोजगारीमा रहेका मानिसहरुका लागि निष्काशन गरेको हो। कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधरणलाई जारी गर्नेछ ।

कम्पनीले स्थानीयलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम बापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले सेयर निष्काशन गर्न लागेको हो । प्रिमियम मूल्यमा सेयर बिक्री गर्दा कम्पनीले स्थानीयबासीबाट प्रिमयिम सहित ३४ करोड ५९ लाख, कर्मचारीबाट १२ करोड १० लाख, वैदेशिक रोजगारीमा गएका नागरिक तथा सर्वसाधारणलाई बिक्री गरेको आइपीओ मार्फत २ अर्ब ४२ लाख ३२ करोड गरेर कुल २ अर्ब ८९ करोड २ लाख रुपैयाँ निष्काशन मार्फत संकलन गर्नेछ । कम्पनीले दुई चरणको आईपीओ बिक्री गरेर १ अर्ब ६६ करोड २ लाख प्रिमियम संकलन गर्नेछ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सेयर मध्ये ५ लाख ३८ हजार १३३ कित्ता कर्मचारीका लागि छुट्याएको छ । कम्पनीले सर्वसाधरणका लागि ८६ लाख १० हजार १४० कित्ता आईपीओ बिक्री गर्नेछ ।

उद्योग प्रभावित क्षेत्रको आइपीओमा दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा आयोजना प्रभावित स्थानिय बासिन्दाले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वेदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० तथा अधिकतममा १० लाख ७६ हजार २६८ कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आइपीओमा साउन २९ गतेदेखि भदौ ११ गतेसम्म आवेदन दिन पाउनेछन् । स्थानीय बासिन्दाको हकमा भने  भदौ ११ गतेसम्म सबै सेयर बिक्री नभए निष्काशन अवधि भदौ २६ गतेसम्म लम्बिनेछ ।

स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयरकाे माेबाइल एप तथा वेवसाइटबाट अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् । कम्पनीले सार्वजनिक सेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यस्तो छ कम्पनीको अवस्था

आइपीओ भर्नुअघि लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था र कम्पनीको समग्र अवस्थाको बारेमा थाहा पाउन आवश्यक छ । वि.सं २०६९ को जेठ महिनादेखि सिमेन्ट तथा क्लिंकर उत्पादनमा आवद्ध भएको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । उद्योग तयाल परिवारले स्थापना गरेको हो । उद्योगको अध्यक्षमा रतनलाल तयाल रहेका छन् भने प्रबन्ध सञ्चालकमा निपेश तयाल रहेका छन् ।

कुल ८ अर्ब ७१ करोड लागतमा निर्माण भएको कम्पनीले हाल आधा दर्जन भन्दा धेरै ब्रान्ड नामबाट सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोनाश्री सिमेन्ट ब्राण्ड नामबाट ओपिसी तथा पिपिसी सिमेन्टको बिक्री वितरण गर्दै आएको छ ।

उद्योगको क्लिंकर उत्पादनगर्न सक्ने क्षमता प्रतिवर्ष २ लाख १३ हजार ३५७ मेट्रिकटन रहेको छ । यस्तै ओ.पि.सि सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता प्रतिवर्ष १ लाख ७२ हजार ०७२ मेट्रिकटन र पि.पि.सिमेन्ट उत्पादन क्षमता ५ लाख ४९ हजार ४८० मेट्रिकटन र पि.एस.सि सिमेन्ट उत्पादन क्षमता ४९ हजार ९२४ मेट्रिकटन रहेको छ ।

कम्पनीको वित्तीय अवस्था सन्तोषजनक रहेको छ । आर्थिक वर्ष २०७८\७९ मा कम्पनीले प्रतिसेयर आम्दानी (इपिएस) ६ रुपैयाँ ४६ पैसा गरेको छ । आव २०७९\८० को असार मसान्त सम्ममा ७ रुपैयाँ ८० पैसा बराबरको इपिएस कायम भएको छ । चालु आवमा कम्पनीले उत्पादन तथा बिक्री वृद्धि गरी आम्दानी बढाउने र इपिएस १७ रुपैयाँ ५८ पैसा कायम गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१\८२ मा कम्पनीले इपिएस २२ रुपैयाँ ३१ पैसा पुर्याउने लक्ष्य लिएको छ ।

यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ २०७९\८० को असार मसान्त सम्ममा १४९ रुपैयाँ ८१ पैसा रहेको छ । चालु आवमा कम्पनीले प्रति सेयर नेटवर्थ बढाएर २०१ रुपैयाँ ६५ पैसा पु-याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षमा कम्पनीले प्रति सेयर नेटवर्थ २१५ रुपैयाँ ९७ पैसा पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ ।

आर्थिक वर्ष २०७९\८० को असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ७७ करोड ५२ लाख ८३ हजार बराबरको सञ्चालन आम्दानी गरेको छ । सो अवधिमा कम्पनीले १४ करोड ३९ लाख ६५ हजार बराबरको खुद नाफा गरेको छ ।

अधिकांश रकम ऋण तिर्न खर्चिने

कम्पनीले स्थानीयबासी, वैदेशिक रोजगारीमा गएका नागरिक, आफ्ना कर्मचारी तथा सर्वसाधारणलाई आइपीओ बिक्री गरेर प्रिमयम सहित कुल २ अर्ब ८९ करोड २ लाख रुपैयाँ निष्काशन मार्फत संकलन गर्नेछ । सो मध्ये अधिकांश रकम कम्पनीको ऋण तिर्नमा खर्च हुनेछ ।

कम्पनीका अनुसार हाल सञ्चालित उत्पादन क्षमता वृद्धि परियोजनाको दायित्वहरुको भुक्तानी गर्न, चालु दायित्व अन्तर्गतका सप्लायर्सहरुलाई भुक्तानी गर्न लगायत युसान्स तथा साइट प्रतीत पत्रको सम्बन्धित दायित्वहरु भुक्तानी गर्न समेत आइपीओ मार्फत प्राप्त १ अर्ब रकम प्रयोग गर्ने कम्पनीको योजना छ । त्यस्तै कम्पनीले सार्वजनिक निष्काशन मार्फत प्राप्त गर्ने रकम ९ विभिन्न बैंकहरुलाई १ अर्ब रुपैयाँ बराबरको चालु पूँजी कर्जा भुक्तानीका लागि प्रयोग हुने जनाएको छ ।

यसका साथै कम्पनीले निष्काशन मार्फत संकलन भएको ८९ करोड ६१ लाख कम्पनीको चालु पूँजी प्रकृति सम्पत्ति जस्तैः चुनढुङ्गाको उत्खन्न तथा खरिद, अन्य सम्पूर्ण कच्चा पदार्थ, प्याकिङ्ग मेटरियल, कोइला र इन्धनको खरिद\पैठारी गरी मौज्दात कायम गर्न लगानी गर्ने जनाएको छ ।

कम्पनीलाई इन्फोमेरिक्स नेपालले ट्रिपल बी माइन्स रेटिङ दिएका कारण कम्पनीको वित्तीय अवस्था सन्तोषजनक रहेको र लगानी गर्न योग्य भन्ने बुझिन्छ । रेटिङ एजेन्सीले कम्पनीको वित्तीय अवस्था, प्रमोटर, लगानीकर्ता, उत्पादन क्षमता लगायतका विविध सूचकांकहरुलाई आधार मानी कम्पनीहरुलाई ट्रिपल ए देखि डी रेटिङ गर्दै आएकोे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।