बैंकहरुको उठ्न बाँकी ब्याज साढे ९ अर्ब, ग्लोबल आइएमईको मात्रै १ अर्ब ३६ करोड

0
Shares

वाणिज्य बैंकहरुले आम्दानीमा देखाएको तर उठिनसकेको ब्याजको आकार झनै बढ्दै गएको छ । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण ऋणीले समयमा व्याज भुक्तानी नगरे पनि बैंकहरुको उठ्न बाँकी रहेको ब्याज भने बढेर साढे ९ अर्ब पुगेको हो ।

कोरोना माहामारी तथा आर्थिक मन्दीका कारण बैंकहरुका ऋणीको नगद प्रवाह प्रभावित भयो । ऋणीको नगद प्रवाह प्रभावित भएपछि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उठ्न बाँकी ब्याज रकम शतप्रतिशतभन्दा धेरैले बढेको हो ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १९ वाणिज्य बैंकहरुको उठ्न बाँकी ब्याज ९ अर्ब ४६ करोड ५० लाख रुपैयाँ बराबर छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ११५.९७ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकहरुको उठ्न बाँकी ब्याज ४ अर्ब ३८ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) मा बैंकहरुले उठिनसकेको ब्याजदलाई पनि आम्दानीमा देखाउन पाउने व्यवस्था छ । सोही अनुसार वित्तीय विवरण तयार गरेको हुनाले बैंकहरुले उठिनसकेको ब्याजलाई पनि आम्दानीमा देखाएका हुन् । यसरी उठ्न बाँकी रहेको ब्याजलाई आम्दानीमा देखाउँदा नाफा बढेको देखिने भएपनि वितरणयोग्य नाफा भने घट्न जान्छ ।

गत आर्थिक वर्षमा बैंकहरुले उठ्न बाँकी रहेको ब्याजलाई आम्दानी देखाउँदा खुद नाफा ६५ अर्ब २५ करोड रुपैयाँ (राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ९१ करोड ७२ लाख रुपैयाँ बाहेक) रुपैयाँ रहेको छ । राष्ट्रिय वणिज्य बैंकले गत आवको वित्तीय विवरणमा उठ्न बाँकी ब्याज उल्लेख गरेको छैन । तर, बैंकहरुले रियलाइज्ड गरेको आम्दानीका आधारमा बैंकहरुको खुद नाफा ५५ अर्ब ७९ लाख रुपैयाँ मात्र हुन आउँछ । बैंकहरुले उठ्न बाँकी रहेको ब्याजलाई आम्दानीमा देखाएको भएपनि वितरणयोग्य नाफामा त्यसलाई घटाउने गरेका छन् । यसले गर्दा नाफा धेरै देखिए पनि लाभांश वितरणको क्षमतामा भने कमी आउँछ ।

कोरोना तथा आर्थिक मन्त्रीका कारण बैंकहरुको कर्जा डिफल्ट रेट बढेको छ । त्यसैगरी खराब कर्जाका अंश, जोखिम व्यवस्था, लोन राइट अफ समेत उल्लेख्य बढेको छ । अघिल्लो आर्थिक वर्षमा अधिक कर्जा लगानी गरेका बैंकहरु त्यसपछि कर्जा लगानी बढाउन सकेका छैनन भने सो समयमा दिएको कर्जा असुलीमा समेत समस्या देखिएपछि बैंकहरुका केही सूचकहरु प्रभावित भएका हुन् ।

Commercial Bank Interest Receivable 2080 Ashad   (Rs 000) Interest Receivable 2079 Ashad  (Rs 000) Net Profit 2080 Ashad  (Rs 000)
GlobalIME Bank Ltd. 1362193.00 142658.00 7253455.00
Nabil Bank Ltd. 999630.00 492390.00 7527149.00
Himalayan Bank Ltd.  976334.00 318543.00 3266167.78
Prime Commercial Bank Ltd. 926701.00 315506.00 2263154.09
NIC Asia Bank Ltd.  844812.00 483599.00 4651338.48
Nepal Bank Ltd. 681559.00 264432.00 3411526.80
NMB Bank Ltd. 509464.00 241195.00 3410499.00
Nepal Investment Mega Bank Ltd.  500211.00 440496.00 4296622.00
Laxmi sunrise Bank Ltd. 451557.00 64205.00 2261889.00
Prabhu Bank Ltd. 408742.00 482916.00 2825249.00
Citizens Bank International Ltd.  338856.00 69537.00 2214425.23
Nepal SBI Bank Ltd.  326730.00 75217.00 2241642.86
Siddharth Bank Ltd. 237889.00 137388.00 3190111.74
Standard Chartered Bank Nepal Ltd. 203058.00 199058.00 3525417.00
Machhapuchhre Bank Ltd. 178236.00 324675.00 1851156.89
Everest Bank Ltd.  162144.00 5141.00 3393154.00
Agriculture Dev. Bank Ltd.  161202.00 114031.00 3099337.08
Sanima Bank Ltd. 135188.00 181463.00 2619216.64
Kumari Bank Ltd. 60506.00 29951.00 1957107.46
Rastriya Banijya Bank Ltd. 
Total 9465012 4382401 65258619.05

 

गत आर्थिक वर्षमा सबैभन्दा धेरै उठ्न बाँकी ब्याज ग्लोबल आइएमई बैंकको रहेको छ । सो अवधिमा बैंकको १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ ब्याज उठेको छैन । बैंकले यसलाई आम्दानीमा देखाउदा नाफा पनि ७ अर्ब २५ करोड रुपैयाँभन्दा माथि देखिएको छ । ग्लोबल आइएमइ बैंकको उठ्न बाँकी ब्याज रकम कुल रकमको १४ प्रतिशत बराबर हो । अघिल्लो आवमा बैंकको उठ्न बाँकी ब्याज १४ करोड २६ लाख रुपैयाँ मात्र थियो ।

त्यसैगरी साढे ७ अर्ब खुद नाफा गरेको नबिल बैंकको ९९ करोड ९६ लाख ३० हजार रुपैयाँ बराबरको ब्याज उठ्न बाँकी रहेको छ । बैंकको गत आवमा यस्तो रकम ४९ करोड २३ लाख रुपैयाँ बराबरको मात्र थियो । गत आवमा हिमालयन बैंकको ९७ करोड, एनआइसी एशिया बैंकको ८४ करोड, प्राइम कमर्सियल बैंकको ९२ करोड रुपैयाँ ब्याज उठ्न बाँकी छ । कुमारी बैंकको गत आवमा उठ्न बाँकी ब्याज सबैभन्दा थोरै ६ करोड ५ लाख मात्र रहेको छ । अघिल्लो आवमा ५१ लाख रुपैयाँ बराबरको ब्याज उठ्न बाँकी रहेको एभेष्ट बैंकको गत आवमा बढेर १६ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।