‘कस्ट अफ लिभिङ’ उच्च हुँदा बेलायती जनता सास्ती खेप्दै


बेलायतका मुख्य सहरहरुमा जीवन यापनका लागि आवश्यक पर्ने खर्च ‘कस्ट अफ लिभिङ’ बढ्दै जाँदा बेलायती नागरिक र बेलायत गएका अन्य देशका मानिसहरु समस्यामा परेका छन् ।

कस्ट अफ लिभिङ मापन गर्ने क्यालकुलेटर एक्सपाटिसनका अनुसार हाल बेलायतमा बसोबास गर्ने एक जना मानिसको कस्ट अफ लिभिङ मासिक रुपमा २ हजार ३२० पाउन्ड स्टर्लिङ अर्थात् ३ लाख ९४ हजार ९०४ नेपाली रुपैयाँ रहेको छ । यस्तै चार जनाको एक परिवारको कस्ट अफ लिभिङ ४ हजार १४० पाउन्ट स्टर्लिङ अर्थात् ७ लाख ४ हजार नेपाली रुपैयाँ रहेको छ । सन् २०२१ को तुलनामा सन् २०२३ मा बेलायतका सहरहरको कस्ट अफ लिभिङ ११.१ प्रतिशतले बढेको हो ।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको आपूर्तिमा कमी आएको छ । यस्तै युरोपको अन्नभण्डार मानिने युक्रेनमा रुसले हमला गरेपछि उत्पादन घट्दै गएको छ भने युक्रेनबाट खाद्य पदार्थको निर्यात हुन सकेको छैन । जसकारण बेलायत र युरोपमा पेट्रोलियम पदार्थ र खाद्य पदार्थको मूल्य बढ्दै गएको छ ।

बेलायतको उद्योग परिसंघ (सीबीआईई) ले सन् २०२३ मा खाद्य पदार्थको मूल्यवृद्धि १५.५ प्रतिशत रहने अनुमान गरेको छ । सन् २०२३ को जुन महिनासम्ममा खाद्य पदार्थको मूल्यवृद्धि दर १७.४ प्रतिशत थियो भने जुलाई महिनामा १५ प्रतिशत कायम भएको छ ।

हालै प्रकाशित तथ्यांकका अनुसार बेलायतको उपभोक्ता मूल्य सूचकांक जुलाई महिनामा ६.८ प्रतिशत रहेको छ । यस अघि जुन महिनामा मूल्यवृद्धि सूचांक ७.९ प्रतिशत थियो ।

आकाशिँदै गएको मूल्यवृद्धि नियन्त्रणका लागि बेलायतको केन्द्रीय बैंकले आक्रामक शैलीमा ब्याजदर बढाइरहेको छ । मुद्रास्फीति दर २ प्रतिशत कायम गर्ने उद्देश्यका साथ केन्द्रीय बैंक – बैंक अफ इङ्गल्यान्डले ब्याजदर वृद्धि गरी ५.२५ प्रतिशत पु¥याएको छ ।

बैंकले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण मानिसहरुले कर्जा लिएर लगानी गर्ने अवस्था सिर्जना हुन सकेको छैन । जसका कारण नयाँ रोजगारी सिर्जना नहुँदा बेरोजगारी दर बढ्दै गएको छ । हाल बेलायतको बेरोजगारी दर ४.२ प्रतिशत रहेको छ । बैंकले ब्याज बढाउँदै जाँदा अधिकांश बेलायती कम्पनीहरुले कर्मचारी कटौती गरिरहेका छन् । बढ्दै गएको खाद्यान्न, हाउजिङ तथा पेट्रोलियम पदार्थको मूल्यले बेलायतमा बसोबास गर्ने मानिसहरुका लागि थप समस्या थपेको छ । जसका कारण बेलायतमा घरबारविहीन मानिसहरुको सङ्ख्या बढ्दै गएको छ ।

सेल्टर संस्थानले गरेको एक अनुसन्धानका अनुसार हाल बेलायतमा ३ लाख मानिसहरु घरबारविहीन छन् । उनीहरु राज्यले फूड बैंक मार्फत उपलब्ध गराउने खाद्यान्नले जीवन गुजारा गरिरहेका छन् ।

आक्रामक शैलीमा केन्द्रीय बैंकले बढाएको ब्याजदर, खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको प्रभाव बेलायती जनतामा मात्रै नभई बेलायतको अर्थतन्त्रमा समेत परेको छ । सन् २०२२ मा ४.१ प्रतिशतको वृद्धि दर हासिल गरेको बेलायतको अर्थतन्त्र सन् २०२३ मा खुम्चिएर ०.४ प्रतिशत रहने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अनुमान गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।