व्यवसाय जीवन रक्षा कर्जा ९५% सदुपयोग, अधिकांस ऋणी वास्तविक पीडित

0
Shares

कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको व्यवसाय जीवन रक्षा कर्जा ९५ प्रतिशत सदुपयोग भएको पाइएको छ । नेपाल राष्ट्र बैंक पोखराले गरेको अध्ययन अनुसार ५ प्रतिशत व्यवसाय जीवन रक्षा कर्जा मात्र सदुपयोग नभएको भेटिएको हो ।

कोरोना महामारीबाट प्रभावित साना तथा मझौला व्यवसायीलाई व्यवसाय जीवन रक्षा कर्जा प्रवाह भएको थियो । र्बैक तथा वित्तीय संस्थाबाट प्राप्त तथ्याङ्क अनुसार ९५ प्रतिशत ऋणीहरुले यस्तो कर्जाको सदुपयोग गरेका राष्ट्र बैंकले जनाएको छ । तर, ५ प्रतिशत ऋणीले कर्जा सदुपयोग नगरेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । कर्जा सदुपयोग नगर्ने ऋणीहरुले तयारी पोशाक, गाडीका पार्ट पुर्जा तथा कस्मेटिक्स सामान आयात गरी बिक्री वितरण गर्ने कार्यमा कर्जा रकम प्रयोग गरेको देखिएको छ ।

व्यवसाय जीवन रक्षा कर्जा प्रवाह उपभोग गर्ने ऋणीहरुका अनुसार ९९ प्रतिशत ऋणीहरुको कर्जा उपयोगिताको निरीक्षण भएको छ । व्यवसाय जीवन रक्षा कर्जा प्रवाह गर्ने ९५ प्रतिशत बैंक वित्तीय संस्थाले कर्जाको सदुपयोगको निरीक्षण गर्ने गरेको अध्ययनले देखाएको हो ।

कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम, २०७७ कार्यान्वयनमा ल्यायो । यसका लागि कार्यविधि समेत बनाइयो । यस कार्यक्रम अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुमार्फत व्यवसायीहरुलाई निब्र्याजी ५० हजारदेखि १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने व्यवस्था गर्यो । ब्याजदर निर्धारण गर्दा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित कर्जाहरुमा अघिल्लो त्रयमासको औसत आधार दरमा अधिकतम ३ प्रतिशत प्रिमियम थप गरी व्याजदर कायम हुने व्यवस्था छ । उक्त व्याजको शोधभर्ना प्रदेश सरकारले त्रैमासिक रुपमा नेपाल राष्ट्र बैंक मार्फत् उपलब्ध गराउने व्यवस्था कार्यविधिमा छ ।

२०७९ चैत मसान्तसम्ममा कुल एक अर्ब ८१ करोड व्यवसाय जीवन रक्षा कर्जा प्रवाह भएको छ । हाल ९० करोड ६६ लाख रुपैयाँ बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ । कर्जाको सबैभन्दा बढी अंश ४५.२८ प्रतिशत साना पर्यटन व्यवसायतर्फ गएको देखिन्छ भने सबैभन्दा कम कर्जा ५.१२ प्रतिशत साना यातायात व्यवसायमा प्रबाह भएको केन्द्रीय बैंक पोखराको अध्ययनमा उल्लेख छ। कुल कर्जा लगानी रकमका आधारमा हेर्दा कास्की जिल्लामा सबैभन्दा बढी अर्थात ४४.५० प्रतिशत र तनहुँमा १०.७८ प्रतिशत लगानी रहेको छ भने अन्य जिल्लाहरुमा १० प्रतिशत भन्दा कम लगानी रहेको देखिन्छ ।

व्यवसाय जीवन रक्षा कर्जा उपभोग गर्ने व्यवसायीमध्ये ३१.२५ प्रतिशत ऋणीहरुले वर्कसप, ब्युटीपार्लर÷हेयर कटिङ्ग, छापाखाना, सिलाई बुनाई लगायतका सेवामुलक व्यवसाय सञ्चालन गरेको अध्ययनमा उल्लेख छ । अध्ययन प्रतिवेदन अनुसार २६.२५ प्रतिशतले होटल व्यवसाय, १८.१३ प्रतिशत व्यवसायीले पर्यटक सम्बद्ध अन्य व्यवसाय, १५.६३ प्रतिशतले कृषि तथा पशुपालन व्यवसाय, ६.८८ प्रतिशतले यातायात व्यवसाय र १.८८ प्रतिशतले किराना वस्तु खरिद÷बिक्री व्यवसाय गरिरहेका छन् ।

सर्वेक्षणमा संलग्न ऋणी व्यवसायीमध्ये करिब ९२ प्रतिशतले जीवन रक्षा कर्जा निकै उपयोगी भएको बताएका छन भने ७.५ प्रतिशत ऋणीले सामान्य उपयोगी भएको बताएको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा संलग्न व्यवसाय जीवन रक्षा कर्जा लिने उद्यमीमध्ये जम्मा ५ प्रतिशतले यो कर्जा आवश्यक नभएको बताएका छन्भने बाँकी ९५ प्रतिशतले आवश्यक रहेको बताएका छन ।

सर्वेक्षणमा संलग्न उद्यमी÷व्यवसायी मध्ये २३.२८ प्रतिशत व्यवसायीले नयाँ स्टक थप्ने कार्यमा कर्जाको उपभोग गरेका छन् । त्यसैगरी १८.८७ प्रतिशतले मर्मत सम्भार खर्च व्यहोर्न, १४.२२ प्रतिशतले कर्मचारीको तलब भुक्तानी गर्न प्रयोग गरेको अध्ययनमा उल्लेख छ । साथै १३.९७ प्रतिशतले घर भाडा तिर्न र ११.२७ प्रतिशत नयाँ पूँजीगत संरचना निर्माण गर्न खर्च गरेको अध्ययनबाट देखिएको छ । ९० प्रतिशत कर्जा वास्तविक कोभिड प्रभावित उद्यमी÷व्यवसायीहरुलाई प्रवाह भएको छ भने १० प्रतिशत ऋण अन्य व्यवसायीहरुलाई प्रवाह भएको देखिन्छ ।

व्यवसाय जीवन रक्षा कर्जा लिने व्यवसायीहरुको बन्दाबन्दीको समयमा १५ प्रतिशत मात्र कारोबार भएको देखिन्छ । सामान्य अवस्था भएपछि बन्दाबन्दी अगाडिको तुलनामा ८३ प्रतिशत कारोबार भएको अध्ययनले देखाएको छ । कर्जा नलिने व्यवसायीको हकमा बन्दाबन्दीको समयमा ४ प्रतिशत मात्र कारोबार भएको देखिन्छ भने सामान्य अवस्था भएपछि बन्दाबन्दी अगाडिको तुलनामा ५५ प्रतिशत कारोबार भएको देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।