प्राधिकरण ठूला जलाशययुक्त तथा आकर्षक आयोजनाहरू निर्माणमा केन्द्रित रहनेछ: कुलमान घिसिङ

0
Shares

विगतका वर्षहरूमा जस्तै गत आ.व. २०७९/८० मा पनि विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएका छौं ।

हाम्रो निरन्तर प्रयासबाट विगत सात वर्षदेखि प्राधिकरणले मुनाफा आर्जन गर्दै आइरहेको छ । गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । साथै अघिल्लो आ.व. मा १५.३८% रहेको विद्युत चुहावटलाई घटाइ आ.व. २०७९/८० मा १३.४६% मा सीमित गर्न सफल भएका छौं, जुन प्राधिकरणको इतिहासमा हाल सम्मकै न्यून हो।

प्रधानमन्त्रीबाट भएको हालैको भारत भ्रमणबाट दीर्घकालीन रूपमा भारतसँग विद्युत व्यापार गर्ने मार्ग प्रशस्त भएको छ भने अन्तर्देशीय विद्युत व्यापारको बजार विस्तार भई अतिरिक्त ऊर्जा अन्य छिमेकी देशहरूमा समेत निर्यात गर्ने अवसर सिर्जना भएको छ । आ.व. २०७९/८० मा विभिन्न जलविद्युत आयोजना सम्पन्न भई ४९१ मेगावाट विद्युत प्राधिकरणको प्रणालीमा थप भई कुल जडित उत्पादन क्षमता २६८४ मेगावाट पुगेको छ। गत वर्ष सुख्खा याममा प्राधिकरण तथा स्वतन्त्र विद्युत उत्पादकहरूको विद्युत उत्पादन केन्द्रबाट प्रक्षेपण गरिएभन्दा कम विद्युत उत्पादन हुन गएकोले केही बढी परिमाणमा विद्युत आयात गरी माग पूर्ति गरिएको थियो ।

इन्टरनेशनल क्रेडि रेटिङ एशोसिएसनले प्राधिकरणको आर्थिक अवस्थाको मूल्याङ्कन गरी डबल ए प्लस रेटिङ गरेको छ । प्राधिकरणको तेस्रो आर्थिक पुनर्संरचना स्वीकृति प्राप्त हुने चरणमा रहेको छ। सोको स्वीकृति पश्चात् प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न सक्नेछ ।
सूचना तथा सञ्चार प्रविधिको महत्त्वलाई आत्मसात गरी प्राधिकरणले आ.व. २०७९/८० मा सूचना प्रविधि नीति, २०२३ जारी गरेको छ । उक्त नीतिमा उल्लेख भए बमोजिम प्राधिकरणबाट प्रभावकारी रूपमा कार्य सम्पादन गर्न र गुणस्तरीय सेवा प्रदान गर्न डिजिटल प्रविधिको व्यापक उपयोग गर्ने योजनाहरू कार्यान्वयन गरिनेछ ।

अनलाइन पोर्टल र मोबाइल एप्लिकेसन मार्फत ग्राहकहरूले सहज रूपमा विद्युत महसुल भुक्तानी गर्न र गुनासो दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। ग्राहकहरूको गुनासो समयमै सम्बोधन गर्न र सेवाको स्तर वृद्धि गर्नका साथै अन्य आवश्यक जानकारी उपलब्ध गराउन प्रादेशिक कार्यालयहरूमा कल सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

केन्द्रीकृत पेरोल तथा पेन्सन प्रणालीको कार्यान्वयनबाट कर्मचारीको तलब भत्ता, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, आयकर, अवकाश भुक्तानी जस्ता विविध भुक्तानी प्रक्रियाहरू सहज हुन गएको छ। साथै प्राधिकरणमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको व्यक्तिगत विवरण लगायतका अभिलेखहरू डिजिटल प्रणालीमा राखी निकट भविष्यमा सबै कार्यालय तथा कर्मचारीको पहुँच हुने गरी सञ्चालनमा ल्याइने छ ।

प्राधिकरणले गत आ.व. २०७९/८० मा सम्पादन गरेका कार्य र त्यसबाट प्राप्त नतिजा सहितको विवरण देहाय बमोजिम रहेको छ

क) ग्राहक संख्या

आ.व. २०७८/७९ मा ४७ लाख ७० हजार ग्राहक रहेकोमा आ.व. २०७९/८० मा ७.७६% ले वृद्धि भई ५१ लाख ३० हजार पुगेको छ । सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहक सहित राष्ट्रिय ग्रिडबाट विद्युत सेवा उपभोग गर्ने ग्राहकको सङ्ख्या ५६ लाख ४० हजार पुगेको छ ।

हाल राष्ट्रिय ग्रिडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवं सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरिरहेका छन् । आगामी २ वर्षभित्र सम्पूर्ण जनतालाई विद्युतको पहुँच पु–याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको छ ।

ख) विद्युत उत्पादन

गत वर्ष सुख्खा याममा नदीहरूमा जलप्रवाहको स्तर घट्न गई प्राधिकरणको जलविद्युत गृहहरूबाट कुल २ अर्ब ९३ करोड युनिट विद्युत उत्पादन भएको छ। जुन आ.व. २०७८÷७९ को तुलनामा १०.१०% ले कम रहेको छ ।

आ.व. २०७९/८० मा स्वतन्त्र ऊर्जा उत्पादक तथा प्राधिकरणको सहायक कम्पनीहरूबाट क्रमशः ५ अर्ब ११ करोड र २ अर्ब ४८ करोड युनिट विद्युत खरिद गरिएको छ जुन आ.व. २०७८/७९ को तुलनामा क्रमशः १९.४१% र २५.९१% ले बढी रहेको छ ।

ग) विद्युत आयात तथा निर्यात

भारतबाट गत आ.व. मा १ अर्ब ८३ करोड युनिट विद्युत आयात गरिएको छ। जुन आ.व. २०७८/७९ को तुलनामा १८.७९% ले बढी रहेको
छ । प्रणालीमा आ.व. २०७८/७९ को तुलनामा ११.८०% ले बढी अर्थात् १२ अर्ब ३६ करोड युनिट ऊर्जा उपलब्ध भएको छ । कुल उपलब्ध ऊर्जामा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ४३.८०% स्वदेशी स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट उत्पादित ऊर्जाको योगदान ४१.३८% र भारतबाट आयातीत ऊर्जाको योगदान १४.८२% रहेको छ ।

आ.व. २०७८/७९ मा ४९ करोड युनिट मात्र विद्युत भारत निर्यात गरिएकोमा आ.व. २०७९/८० मा १ अर्ब ३४ करोड युनिट विद्युत निर्यात भएको छ।

घ) विद्युत खपत

आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा विद्युत खपत ५.५०% ले वृद्धि भई ९ अर्ब ३५ करोड युनिट पुगेको छ ।

ङ) विद्युत चुहावट

प्रणालीको विद्युत चुहावट आ.व. २०७९/८० मा १३.४६% रहेको छ जुन आ.व. २०७८/७९ को तुलनामा १.९२ अङ्कले कमी हो । प्राधिकरणको इतिहासमा यो नै अहिले सम्मको कम चुहावट हो ।

च) वित्तीय अवस्था

स्वदेशी जलविद्युत गृहहरूबाट विद्युत उत्पादन घट्न गएकोले आयातित विद्युत ऊर्जाको परिमाण बढ्न जाँदा आ.व. २०७९/८० मा प्राधिकरणको खुद नाफा आ.व. २०७८/७९ तुलनामा ७.७६% ले कमी भई रु. १२ अर्ब ३३ करोड हुन गएको छ ।

छ) आयोजनाहरू

इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत जया तिला, भारभुङ, बेगनास रूपा पम्प स्टोरेज र माथिल्लो मुस्ताङ जलाशययुक्त जलविद्युत आयोजनाहरूको अध्ययन कार्य अगाडि बढाइएको छ । साथै ४९०.२ मेगावाटको अरुण ४ जलविद्युत आयोजना निर्माणका लागि सतलज जलविद्युत निगम भारतसँग संयुक्त उपक्रमको कम्पनी स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

आ.व. २०७९/८० मा ६६ के.भी. तथा सोभन्दा माथिका प्रसारण लाइन ४१३ सर्किट कि.मि. थप भई कुल सञ्चालन रहेको ६६ के.भी.. र सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ ५७४२ सर्किट कि.मि. पुगेको छ। गत आ.व. मा १७१८ एम.भी.ए. क्षमता बराबरको ग्रिड सबस्टेसन थप भएको छ। योसँगै कुल सबस्टेसनको जडित क्षमता ८८६७ एम.भी.ए. पुगेको छ । १३२ के.भी., २२० के.भी. र ४०० के.भी. का क्रमशः १४३४ सर्किट कि.मि., ९८८ सर्किट कि.मि. र ८७७५ सर्किट कि.मि. गरी ३१७५ सर्किट कि.मि. प्रसारण लाइन र १०२९० एम.भी. ए. क्षमताको ग्रिड सबस्टेसनहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।

ज) वितरण प्रणाली

प्रत्येक नेपालीको घरदैलोमा नियमित र भरपर्दो विद्युत सेवा पुन्याउन वितरण प्रणाली विस्तारको कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ । वितरण प्रणालीको स्तरोन्नति एवं शहरको सुन्दरता अभिवृद्धि हुनेगरी काठमाडौँ उपत्यका लगायत पोखरा र भरतपुरमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यहरू भइरहेका छन् । प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रको ९७ हजार घरधुरीमा स्मार्ट मिटर जडान गर्ने कार्य सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । दोस्रो चरणमा काठमाडौँ उपत्यकाका ६ लाख ग्राहकको घरमा पूर्वजडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ पूर्वाधार प्रणालीमा एकीकृत या आबद्ध गर्ने कार्य छिट्टै सुरु गरिनेछ । साथै मुलुकभर स्मार्ट मिटर जडान गर्ने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइनेछ ।

वितरण केन्द्रहरूमा आय व्यवस्थापन प्रणाली जडान गर्ने कार्य अगाडि बढाइएको छ। प्रणाली सञ्चालन विभाग, स्युचाटारको परिसरमा वितरण प्रणाली नियन्त्रण तथा डाटा केन्द्र निर्माण सम्पन्न हुने चरणमा रहेको छ ।

झ) अन्य गतिविधि

विद्युतीय सवारी साधन र विद्युतीय चुल्होका साथै अन्य घरायसी उपकरणहरूको प्रवर्द्धन विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ प्राधिकरणले डिसी फास्ट चार्जिङ प्रविधिमामा आधारित ५१ वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन मुलुकका प्रमुख स्थानहरूमा जडान गरी सञ्चालनमा ल्याइसकेको छ भने थप १३ वटा चार्जिङ स्टेसन विभिन्न स्थानमा जडान गर्ने कार्य भइरहेको छ ।

ञ) सहायक कम्पनीहरू

प्राधिकरणको सहायक कम्पनीको रूपमा स्थापित विभिन्न कम्पनी तथा सो मार्फत सञ्चालित आयोजनाहरूको कार्य प्रगति निम्नानुसार रहेका छन्
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धिधत क्रमशः २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र सञ्चालनमा रहेका छन् । साथै माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले ईपीसी मोडलमा २०.६६ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माण प्रारम्भ गरेको छ ।

चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनीहरू मार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न हुने अवस्थामा रहेका छन् भने ८७ मेगावाटको सेती नदी– ३ जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अधि बढाएको छ ।

१४० मेगावाटको तनहुँ, ३७ मेगावाटको त्रिशूली– ३बी, ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । तनहुँ जलविद्युत कम्पनी मार्फत १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको अध्ययन पूरा भई कार्यान्वयनको चरणमा रहेको छ ।

यसैगरी १०६१ मेगावाटको माथिल्लो अरुण ४० मेगावाटको इखुवा खोला, ९९.८ मेगावाटको तामाकोशी पाँचौँ, ६० मेगावाटको मोदी, २१० मेगावाटको चैनपुर सेती र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरू निर्माण सुरु हुने चरणमा रहेका छन्। ८२८ मेगावाटको उत्तरगंगा र १८० मेगावाटको आँधीखोला जलाशययुक्त जलविद्युत आयोजनाहरू अध्ययनका विभिन्न चरणमा रहेका छन्।

एनईए इन्जिनियरिङ कम्पनीले विभिन्न आयोजनाको सम्भाव्यता अध्ययन, इन्जिनियरिङ डिजाइन, विस्तृत इन्जिनियरिङ डिजाइन तथा अध्ययनको पुनरावलोकन, सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, आयोजना व्यवस्थापन, ट्रान्समिसन लाइन तथा वितरण प्रणाली सञ्चालन, मर्मत सम्भार तथा पुनः स्थापना लगायतका विभिन्न पूर्वाधार निर्माणको क्षेत्रमा परामर्श दाताका रूपमा सेवा प्रदान गरिरहेको छ।

नेपाल पावर ट्रेडिङ कम्पनीले विद्युत व्यापार गर्ने अनुमति प्राप्त गरिसकेकाले निकट समयमा कारोबार सञ्चालन गर्ने अवस्था रहेको छ । पावर ट्रान्समिसन कम्पनी नेपालले इल्वोवर र मुजफ्फरपुर बीचको ४०० के.भी. डबल सर्किट लाइनको नेपाल अंश निर्माण गरी सञ्चालन गरिरहेको छ ।

ट) निजी क्षेत्रको सहभागिता

गत वर्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट ४९१ मेगावाट क्षमता बराबरको कुल २७ वटा जलविद्युत आयोजनाहरू सम्पन्न गरी प्राधिकरणको प्रणालीमा जोडिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट हालसम्म २०२३ मेगावाट क्षमता बराबरको १५९ जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । जलमा प्राधिकरणको सहायक कम्पनीको हिस्सा ४७८ मेगावाट रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट प्रवर्द्धिधत ३१०३ मेगावाट क्षमता बराबर १२६ वटा विभिन्न जलविद्युत आयोजनाको लगानी सुनिश्चित भई निर्माण कार्य अगाडि बढेको छ ।

गत वर्ष ५ मेगावाट क्षमताको सौर्य प्लान्ट सहित कुल १३५० मेगावाट क्षमताको विभिन्न ३५ प्रवर्द्धकहरूसँग विद्युत खरिद सम्झौता भएको छ । हालसम्म स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग ७७५८ मेगावाट क्षमता बराबरको कुल ३९२ वटा विद्युत खरिद सम्झौता भएको छ।

ठ) अन्तर्देशीय विद्युत व्यापार

नेपालको नदीहरूमा जलप्रवाह घटी विद्युत गृहहरुबाट निर्धारित परिमाणमा विद्युत उत्पादन हुन नसकेकोले उपभोक्ताहरूको विद्युतको माग पूर्ति गर्न थप विद्युत आयात गरिएको थियो।

प्राधिकरण र भारतको राष्ट्रिय विद्युत व्यापार निगम एवं प्राधिकरण र पीटीसी इन्डिया लिमिटेडबीच क्रमशः २०० मेगावाट ३०० मेगावाटसम्म विद्युत खरिद बिक्री गर्न सकिने गरी भएको सम्झौतालाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

प्राधिकरण र पावर ग्रिड कर्पोरेसन इन्डिया लिमिटेडबीच समान स्वःपुंजी सामोदारीको अवधारणामा संयुक्त उपक्रम तथा सामोदारी सम्झौता र कार्यान्वयन तथा प्रसारण सेवा सम्झौतामा हस्ताक्षर भएसँगै अन्तर्देशीय प्रसारण पूर्वाधारतर्फ भ्यू बुटवल गोरखपुर ४०० के.भी. लाइन अन्तर्गत भारत तर्फको प्रसारण लाइन निर्माण कार्य कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

हालसम्म नेपालले भारत सरकारबाट इन्डियन इनर्जी एक्स्चेन्ज लिमिटेडको डे–अहेड बजारमा ४५२ मेगावाट विद्युत बिक्री गर्न सक्ने अनुमति प्राप्त गरेको छ भने थप परिमाण विद्युत बिक्रीका लागि सहमतिको चरणमा रहेको छ ।

बङ्गलादेशमा ४० मेगावाट विद्युत मध्यकालीन रूपमा निर्यात गर्न प्राधिकरण, राष्ट्रिय विद्युत व्यापार निगम भारत र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड बङ्गलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यससँगै नेपाल उप क्षेत्रीय अन्तर्देशीय विद्युत व्यापारमा प्रवेश गर्नेछ ।

(ड) भावी कार्यदिशा

मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउदै आम उपभोक्ताहरुलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत निर्यात गर्ने दिशातर्फ प्राधिकरण अघि बढिरहेको छ ।

प्राधिकरणले आफ्नै तथा सहायक कम्पनी एवं संयुक्त उपक्रम मार्फत ठूला जलाशययुक्त तथा आकर्षक जलविद्युत आयोजनाहरू निर्माणमा केन्द्रित रहनेछ । ६३५ मेगावटको दूधकोशी जलाशयुक्त आयोजना, १०६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी ५ र ६० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको निर्माण कार्य प्राथमिकताको साथ अगाडि बढाइने छ । त्यस्तै ४९०.२ मेगावाटको अरुण ४ जलविद्युत आयोजना सतलज जलविद्युत निगम लिमिटेडसँग संयुक्त रूपमा निर्माण गर्ने कार्य अघि बढाइनेछ। नेपाल र बङ्गलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भए अनुरूप निकट भविष्यमा ६३८ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना साझेदारीमा निर्माण गर्ने प्रक्रिया अघि बढाइने छ ।

उपलब्ध जलस्रोतको अधिकतम उपयोग गरी वर्षा याममा बढी विद्युत उत्पादन हुने गरी प्रवर्द्धकहरूले जलविद्युत आयोजनाहरूको डिजाइन गर्न सक्ने प्रावधान राखी नयाँ विद्युत खरिद सम्झौता नीति लागू गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी उपयुक्त व्यवस्था अवलम्बन गरिनेछ ।
न्यू बुटवल गोरखपुर ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिइनेछ। ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइन आयोजनाहरूः इनला पूर्णिमा ए दोदोधरा–बरेली सन २०२८/२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी कार्यान्वयनमा लगिनेछ । नेपालको रातमाटेदेखि चीनको केरुङ जोड़ने उच्च भोल्टेजको प्रसारण लाइन निर्माण गर्न विशेष पहल गरिनेछ ।

काठमाडौँ उपत्यकाको ६ लाख ग्राहकको घरमा पूर्व जडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ पूर्वाधार प्रणालीमा आवद्ध गर्ने कार्य छिट्टै सुरु गरिनेछ। साथै मुलुकभरका ग्राहकको घरमा जडान भएका मिटरलाई क्रमशः स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य अगाडि बढाइनेछ ।
नेपाल सरकारको लक्ष्य अनुसार आगामी २ वर्षभित्र मुलुकभर प्रत्येक नेपालीको घरदैलोमा विद्युतको पहुँच पुग्याउन वितरण प्रणाली विस्तार गर्ने कार्य उच्च प्राथमिकतामा राखी सम्पन्न गरिनेछ ।

काठमाडौँ लगायत मुख्य शहरहरूमा आगामी ३० वर्षको बढ्दो विद्युत मागलाई लक्षित गरी पर्याप्त प्रसारण तथा वितरण संरचनाहरू निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ। उक्त कार्यबाट सन् २०५० सम्मको विद्युत माग धान्ने मात्र नभई विद्युतको गुणस्तर वृद्धि तथा नियमित विद्युत आपूर्तिमा सहयोग पुग्नेछ ।

हुलाकी राजमार्ग हुँदै ४०० के.भी. तथा २२० के.भी. बहुसर्किट प्रसारण लाइन आयोजनाको निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । यसबाट मुलुकको विभिन्न औद्योगिक कोरिडोरहरू जोड़न, औद्योगिक क्षेत्रको विद्युत माग व्यवस्थापन गर्न र भविष्यमा नेपाल–भारत सीमा क्षेत्रमा स्थापना हुने उद्योगहरूलाई पर्याप्त विद्युत उपलब्ध गराउन एवं छिमेकी राष्ट्रहरूसँग अन्तर्देशीय विद्युत व्यापार गर्नसमेत सहज हुनेछ ।

परम्परागत तथा खनिज ऊर्जालाई प्रतिस्थापन हुने गरी ग्राहस्थ कृषि, उद्योग र पर्यटन क्षेत्रमा जलविद्युतको खपतमा व्यापक वृद्धि हुनेगरी आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

प्रधानमन्त्रीको हालैको भारत भ्रमणबाट आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने मार्ग तयार भएको छ । मौजुदा प्रसारण संरचनाहरू प्रयोग गरी नेपालबाट बङ्गलादेश विद्युत निर्यात गर्न सम्बद्ध निकायहरू प्राधिकरण, बङ्गलादेश विद्युत विकास बोर्ड र राष्ट्रिय विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता छिट्टै सम्पन्न गरिनेछ ।

प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापना भएको नेपाल विद्युत व्यापार कम्पनी मार्फत निकट भविष्यमा स्वदेशी र अन्तर्देशीय विद्युत व्यापार प्रारम्भ गरिनेछ ।

हरित हाइड्रोजन कार्यक्रम सम्बन्धी ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट, कोरिया र काठमाडौँ विश्व विद्यालयसँगको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र परिप्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको चरणमा रहेको छ । हरित हाइड्रोजन उत्पादन एवं प्रवर्द्धनका लागि प्राधिकरणले विशेष पहलकदमी लिनेछ ।

नेपाल सरकारको डिजिटल नेपालको परिकल्पना अनुरूप प्राधिकरणका समग्र काम कारबाहीहरूलाई आधुनिकीकरण गर्न, सुरक्षित, सन्तुलित र स्तरीय सूचना प्रविधि पूर्वाधारको सुनिश्चित गर्न ने.वि.प्रा. सूचना प्रविधि नीति, २०२३ कार्यान्वयन गरी डिजिटल प्राधिकरण निर्माणतर्फ केन्द्रित हुनेछ । प्राधिकरणको तेस्रो आर्थिक पुनःसंरचना स्वीकृतिको चरणमा रहेकोले सोको स्वीकृति पश्चात् प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गरी थप पूर्वाधार निर्माणका लागि आवश्यक पूंजी व्यवस्थापन गर्न सक्नेछ ।

गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत आपूर्ति गरी उत्कृष्ट सेवा प्रवाह गर्न सके मात्र प्राधिकरण प्रतिको विश्वसनियता बढ्ने र आर्थिक अवस्थामा समेत सुधार आउने भएकोले हाम्रा सम्पूर्ण प्रयासहरू यसतर्फ केन्द्रित हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।