अमेरिकी केन्द्रीय बैंक-फेडरल रिजर्भले आक्रामक शैलीमा बढाएको ब्याजदरको प्रभाव दीर्घकालीन अमेरिकी ट्रेजरी बन्डमा परेको छ । फेडले निरन्तर ब्याजदर बढाउँदा लगानीकर्ताले बन्ड सेल-अफको श्रृङ्खला चलाएका छन् । जसकारण १० वर्ष अवधिका ट्रेजरी बन्डको इल्ड १६ वर्ष यताकै उच्च हुन पुगेको छ ।
अमेरिकामा मात्रै नभई बन्ड सेलअफको श्रृङ्खला बेलायत र युरोपेली राष्ट्रहरुमा समेत देखिएको छ । सेलअफका कारण बन्डको मूल्य घटेको छ भने बन्ड इल्ड बढ्दै गएको छ । बेलायतको १० वर्ष अवधिको ट्रेजरी बन्ड इल्ड सन् २००८ यताकै उच्च भएको हो । यस्तै जर्मनीको दीर्घकालीन टे«जरी बन्डको बन्ड इल्ड समेत सन् २०११ यताकै उच्च विन्दुमा पुगेको हो ।
विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीति नियन्त्रण गर्न हाल विश्वका अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् । मुद्रास्फीति नियन्त्रण गरी दुई प्रतिशत विन्दुमा ल्याउने उद्देश्यका साथ केन्द्रीय बैंकहरु ब्याजदर बढाइरहेका छन् । बढ्दो ब्याजदर सँगै केन्द्रीय बैंकले जारी गर्ने नयाँ बन्ड थोरै कुपन रेटमा बिक्री गर्दा बन्डको मूल्य घट्दै गएको छ । अर्कातिर दीर्घकालीन बन्डको कुपनरेट यथावत् रहँदा बन्डको परिपक्क अवधि नजिकिदै गर्दा दीर्घकालीन बन्डको इल्ड बढेको छ । बन्ड इल्ड भन्नाले कुनै बन्ड परिपक्क भएपछि लगानीकर्ताले बन्डबाट पाउने प्रतिफल हो ।
बिहीबार अमेरिकी १० वर्षे ट्रेजरी बन्डको कुपनरेट ४.३२८ प्रतिशत पुगेको छ । जुन २००७ नोभेम्बर यताकै उच्च हो । सन् २००७ को आर्थिक संकटको समयमा अमेरिकी ट्रेजरी बन्डको दर ४ प्रतिशतको आसपासमा पुगेको थियो । सन् २००७ पछि लामो समयसम्म ट्रेजरी बन्डको दर ३ प्रतिशत आसपासमा थियो । सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ पछि पुनः बन्डमा लगानीकर्ताको उत्साह बढ्दै गएको हो ।
बेलायतको १० वर्षे ट्रेजरी बन्डको कुपनरेट बिहीबार ४.७५ प्रतिशत पुगेको छ भने जर्मनको बन्डको कुपनरेट २.७१ प्रतिशत पुगेको छ । यससँगै हाल विश्वबजारमा बैंकहरुले कहिलेसम्म ब्याजदर बढाउने विषयमा विमर्श सुरु भएको छ । मुद्रास्फीति नियन्त्रणमा आएपछि बैंकहरुले ब्याजदर यथावत् राख्छन् या राख्दैनन् भन्ने विषयमा छलफल सुरु भएको छ ।
प्रतिक्रिया