साउन महिनामा हालसम्मकै धेरै निक्षेप झिकियो, कर्जा १५ अर्बले घट्यो

0
Shares

चालु आर्थिक वर्षको महिनामा वाणिज्य बैंकहरुबाट करिब डेढ खर्ब निक्षेप बाहिरीएको छ । यो रकम विगतका साउन महिनाको तुलनामा हालसम्मकै धेरै हो ।
सरकारले बैंकहरुलाई स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिएको ठुलो मात्रामा निक्षेप घटेको हो ।

सरकारले गत आर्थिक वर्षमा वित्तीय प्रणालीमा देखिएको तरलता तथा कर्जा लगानी योग्य रकम अभावाको समस्यालाई सहजीकरण गर्नका लागि बैंकहरुमा भएको स्थानिय तहको पैसालाइ ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । सो व्यवस्था हटेसंगै बैंकहरुबाट करिब ८० अर्ब रुपैयाँ निक्षेप बाहिरीएको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा बाणिज्य बैंकहरुबाट मात्र एक खर्ब ४६ अर्ब निक्षेप घटेको छ । त्यसैगरी गत आर्थिक वर्षको साउन महिनामा १०८ अर्बले निक्षेप घटेको थियो । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्षको पहिलो महिना साउनमा निरन्तर निक्षेप घटेको अवस्था छ । आर्थिक वर्ष २०७५/०७६ मा १५ अर्ब, २०७६/०७७ मा २३, २०७७/०७८ मा ८ र २०७८/०७९ मा ७८ अर्ब निक्षेप झिकिएको हो ।

नयाँ आर्थिक वर्षको सुरुवात मात्र नभई हरेक त्रैमास अन्त्य भएपछि बैंकहरुबाट निक्षेप तथा कर्जा घट्ने गरेको पुर्व बैंकर परशुराम क्षेत्रीले बताए । “निक्षेपको ब्याज झिकिने र कर्जा भुक्तानका लागि निक्षेप भिकिने हुनाले पनि निक्षेप घट्छ ।” तर केहीले भने कर्जा निक्षेप धेरै देखाउनका लागि असार अन्तिममा ग्राहकलाई कर्जा लिन लगाउने र साउनमा चुक्ता गर्ने तथा कर्जा भुक्तानीका लागि पनि ऋण लिने अभ्यासले केही फेरबदल भएको हुन सक्ने उनको भनाई छ । पछिल्लो समयमा कडा नियामकीय व्यवस्थाले यस्तो अभ्यास पनि नभएको र भएपनि निकै न्यून रहेको उनको भनाई छ ।

चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुबाट निक्षेप मात्र नभई कर्जा पनि घटेको छ । साउन महिनामा १५ अर्ब कर्जा घटेको छ । गत आवको सोही अवधिमा बैंकहरुबाट डेढ अर्ब कर्जा बढेको थियो भने अघिल्लो आवमा ४३ अर्ब कर्जा बढेको थियो । बैंकहरुले कर्जाको सावा ब्याज साउन १५ गतेसम्म उठेको ब्याजलाई नाफामा गणना गर्न पाउने भएकाले असारको तुलनामा साउनमा कर्जा घटेको हो । साउन महिनाको पहिलो सातापछि बैंकिङ प्रणालीबाट करिब ४० अर्ब बरावरको कर्जा घटेको थियो ।

गत आर्थिक वर्षको अन्तिममा वाणिज्य बैंकहरुको कुल निक्षेप ५० खर्ब ८४ अर्ब रुपैयाँ रहेका थियो । चालु आर्थिक वर्षको पहिलो महिना सकिदा वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ३८ अर्ब झरेको छ । त्यसैगरी गत असार अन्तिममा बैंकहरुको कुल कर्जा ४३ खर्ब १४ अर्ब रुपैयाँ रहेकोमा साउन अन्तिममा ४२ खर्ब ९९ अर्बमा झरेको छ ।

चालु आर्थिक वर्षको साउन महिनाको अन्तिमसम्ममा वित्तीय प्रणालीमा ५६ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कुल कर्जा ४८ अर्ब ५९ अर्ब रहेको छ । गत असार अन्तिममा बैंक वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रहेको थियो भने कर्जा लगानी ४८ खर्ब ७९ रुपैयाँ थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।